अराजक हुँदै सत्ता

१२ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

अचम्भ :

 


सत्ता अराजक त्यसबेला हुन्छ जुन बेला ऊ निरंकुश हुन्छ । विश्वमा त्यस्ता निरंकुश सत्ता पनि अराजक भएको इतिहास भेट्टाउन मुश्किल हुन्छ । तर, नेपालमा सत्ता निरंकुश नभए पनि अराजक हुँदै जानुलाई अचम्भको घटना मान्दा अन्यथा हुँदैन । यसको अर्थ ओली सत्ता निरंकुश हुने ध्याउन्नमा छ । ऊ विधान र संविधानभन्दा आफूलाई माथि ठान्छ र नलेखिएको अधिकार छ भनेर हुँकार गर्दै हिँडेको छ । यसलाई आठौं आश्चर्य मान्दा पनि फरक नपर्ला । …देख्नेलाई लाज भने जस्तो भएको छ, अहिलेको सत्ताका गतिविधि हेर्दा ।

हालैको घटना हो प्रधानमन्त्री ओलीले विराटनगरको आम सभामा भने प्रतिनिधि विघटन सदर भएन भने हाम्रो आन्दोलन सशक्त भएर जानेछ । आन्दोलनका लागि तयार हुनुहोस् भनेर कार्यकर्तालाई नेकपाको अध्यक्षका नाताले ओलीले निर्देशन दिए । उनले बिर्सिए अथवा जानी जानी सर्वोच्च अदालतलाई धम्क्याए ।

अहिले सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिटको बहस सकिएर मुद्दाको छिनोफानो हुन बाँकी छ । फैसला आउन बाँकी छ । फैसला आफ्नो पक्षमा आउनुपर्छ भन्नु अराजक होइन । तर, आफ्नो पक्षमा आएन भने प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्नु अराजक हो । उनले अर्को अचम्भ लाग्दो कुरा पनि गरे । उनले भने सेटिङ फेटिङ गरेर प्रतिनिधि पुनस्र्थापना हुने आशंका छ । उनी आफूलाई शक्तिशाली प्रधानमन्त्री मान्छन् र भन्छन् अवशिष्ट अधिकार प्रधानमन्त्रीलाई यस संविधानले दिएको छ । जो सत्तामा छ ऊ नै अरुले सेटिङ फेटिङ गरेको कुरा गर्छ । उनलाई सेटिङ गरेको आरोप अरुले लगाएका छन् । त्यसको जवाफ दिँदा उनले अत्तालिएर आफू प्रधानमन्त्री हो भन्ने बिर्सिए जस्तो छ ।

त्यसैगरी अहिले अराजकता देखाउने अर्को प्रदेश १ सरकार भएको छ । मुख्यमन्त्री राईले सभामुखलाई आफ्नो अनुकूल काम गराउन दबाब दिँदैछन् । उनले धेर फुर्ति लायौ भने संसद भंग गरिदिन्छु । संघीय सरकारका प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने जस्तो अधिकार छ, त्यही र त्यस्तै अधिकार मूख्यमन्त्रीहरुलाई छ । अब सर्वोच्चले प्रतिनिधि सभा विघटनको फैसला जसरी गर्छ त्यही आधारमा प्रदेश संसद भंग गर्न पाउने वा नपाउने अधिकार मुख्यमन्त्रीलाई हुन्छ ।

त्यस्तै प्रदेश १ का मूख्यमन्त्री अरुभन्दा पृथक मूख्यमन्त्री देखा पर्दैछन् । ओलीकै कपि–पेष्ट जस्तो । उनले आफ्नोविरुद्ध लाग्नेलाई बिना प्रक्रिया आफूसँगको अधिकारको अनधिकृत ढंगले प्रयोग गर्दै सांसदहरुलाई निलम्बनको काम गरेर अराजकको नमूना देखाएका छन् । त्यसैगरी आफ्नो अनुकूल निर्णय गराउन नसकेपछि सत्ताधारी सांसदहरु संसद बैठक चल्न नदिने र बहिष्कार गर्ने कार्यमा समेत उत्रिएर अराजकताको पराकाष्ठा नाघ्न पुगेका छन् । कहीं नभएको जात्रा हाँडी गाउँमा भने जस्तो भएको छ अहिले ।

किन हुन्छ सत्ता अराजक :

माथि उल्लेख गरियो । लोकतान्त्रिक गणतन्त्रको सत्ता अराजक हुनु आठौं आश्चर्य हो । कहीं नभएको जात्रा हाँडी गाउँमा जस्तो पनि भनियो भने… देख्नेलाई लाज पनि भनियो । अब सत्ता किन अराजक हुन्छ भन्ने छोटो चर्चा गरौं ।

सत्ता कस्तो व्यक्तिको हातमा जान्छ भन्ने कुराले सत्ता अराजक हुने वा नहुने निर्भर हुँदो रहेछ । भर्खरै निवर्तमान भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसको ज्वलन्त प्रमाण हुन् । अमेरिका जस्तो प्रजातन्त्र परिपक्व र सिष्टमले चलेको देशमा त एउटा राष्ट्रपति ब्लन्ट प¥यो भने सिष्टमलाई नै खत्तम पार्ने प्रयास हुँदो रहेछ भन्ने उदाहरण हो ट्रम्पको कार्यकाल । उनी अन्तिम समयसम्म पनि अराजक भइरहे । चुनाव हारेर पनि हारेको स्वीकारेका छैनन् ।

त्यसैगरी सत्तामा बस्ने व्यक्तिको प्रवृत्ति उदारवादी छ भने उ निरंकुश शासन प्रणालीकै शासक भए पनि उसले काम गर्ने प्रणाली स्थापना गर्न पहल र प्रयत्न गर्छ । जस्तो नेपालमा राणा शासनमा देव शम्शेर प्रधानमन्त्री र श्री ३ भएका बखत उनले देखाएको उदारता एउटा उदाहरण हो । लोकतन्त्रमा एउटा व्यक्ति जो सत्ताको शीर्ष स्थानमा छ त्यो नै अराजक भयो भने पनि उसलाई ठेगान लगाउन बढीमा पाँच बर्ष लाग्छ । तर, निरंकुश शासन प्रणालीमा सत्ता अराजक भयो भने उसलाई ठेगान लगाउन क्रान्ति नै आवश्यक पर्छ ।

सत्तामा लोकतान्त्रिक प्रणालीबाट निर्वाचित भएर पुगे पनि उसको प्रवृत्ति निरंकुश छ भने र उसले सुरक्षाका अंगहरुलाई फकाउन सक्यो भने त्यो तानाशाह भएर लामो समयसम्म शासन गर्छ । त्यस्तो उदाहरण खाडी राष्ट्रहरुमा र अफ्रिकी राष्ट्रहरुमा पाइन्छ । पछिल्ला तानाशाह हुन सिरियाका राष्ट्रपति अर्सद । भेनेजुयलाका राष्ट्रपति र अहिले रुसका राष्ट्रपति पुटिन पनि तानाशाहका प्रतिक बन्दैछन् । त्यस्ता तानाशाह जो जनता हुन् उनीहरु निर्वाचन पनि गराउँछन् र उनीहरु नै जित्छन् पनि । उनीहरु हार्दै हार्दैनन् ।

अहिले नेपालमा ओली सत्ता त्यतैतिर मोडिन लागेको हो । दुई तिहाईको नजिक बहुमत भएको प्रधानमन्त्री प्रतिनिधि सभा भंग गरेर फेरि दुई तिहाई मत लिन निर्वाचन गर्छु भन्दैछन् । यसैले ओली डरलाग्दा भएका छन् । उनको राजनीतिक स्कूल अधिनायकबाद नै भएकोले उनले त्यस्तो सोचलाई स्वभाविक ठान्छन् । राम्रो काम गर्ने हो भने किन कानून पढी रहनुपर्ने हो भन्ने सत्तालाई अराजक भन्नुपर्छ । कानून बनाई सकेपछि त्यसकै आधारमा सत्ता चलाउनुपर्छ । तर, ओली र उनका मतियारहरु त्यसो भन्दैनन् । उनका अनन्य सहयोगी अहिले गृहमन्त्री थापाले आमसभामा भने अब तेस्रो जनआन्दोलन हुन्छ । आफैं गृहमन्त्री भएर उनले कसविरुद्धको आन्दोलन खोजेको हो ? यो अर्को अराजक सोच नभए के हो ।

त्यसैले अहिलेको लडाईं त्यस ओली प्रवृत्ति र उनका मतियारहरुको सोचविरुद्ध हो । व्यक्ति ओलीको विरोध होइन । ओलीका समर्थक व्यक्तिहरु विरुद्ध होइन । उनीहरुको प्रवृत्तिविरुद्ध अहिलेको आन्दोलन आवश्यक भएको हो । सर्वोच्चले के फैसला गर्छ उसको कुरा हो । तर, उसले हेर्ने र पढ्ने अक्षर त त्यही संविधानमा लेखिएका कुरा नै होलान् । पहिलाको संविधानमा लेखिएको वा अरु देशका संविधानमा लेखिएको कुरा पढेर नेपालमा ब्याख्या गर्ने त पक्कै होइन होला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here