परस्परको दम्भ र अहंकार घातक

१३ फाल्गुन २०७७, बिहीबार मा प्रकाशित

सचिता किरात । 

वि.सं.२०४६ सालको परिवर्तनले नपुगेर २०५२ देखि जनयुद्ध हुँदै मधेश आन्दोलन, विभिन्न जनजातिका आन्दोलन, थरि–थरि सामाजिक आन्दोलन र समाज परिवर्तन व्यवस्था परिवर्तनका अनेकन आयाम र घुम्ती पार गरेर २०६२/०६३ को जनान्दोलन पछि देशको सर्वोच्च पदमा पुग्ने व्यक्ति जनताकै छोराछोरी हुने व्यवस्था लागू भयो । २०७२ सालको संविधानपछि मुलुकले स्थायी शान्ति र समृद्धि पाउने आशा नेपाली जनतामा थियो । तर, नेताहरुको स्वार्थ केन्द्रित राजनीतिका कारण मुलुकमा अस्थिर राजनीति र अन्यौलको अवस्था अझै पनि कायम रहनु नेपाल र नेपालीका लागि र्दुभाग्य हो ।

जनताले संर्घष गरेर प्राप्त उपलब्धी पछि हरेक व्यवस्थामा परिवर्तन, परिवर्तनपछि प्राप्त हुने उपलब्धी, फल र परिणामको सपना असिमित र राष्ट्रको क्षमताभन्दा पर गएर देखाएको हुन्छ । आन्दोलन सफल पार्न र चुनाव जित्न पार्टीहरुले तय गर्ने नाराको सानो अंश मात्र पनि पूरा हुने र भएको भए आज हामी विकासोन्मुख राष्ट्रबाट विकासशील राष्ट्रको दर्जामा रुपान्तरित हुन्थ्यौं । हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अनि सांस्कृतिक र वैचारिक अवस्था फरक हुन्थ्यो ।

जनताको जीवनस्तरले कम गुनासो गर्ने स्थिति बन्थ्यो । स्थिति बस्थ्यो, पद्धति र प्रणाली मजबुत हुन्थ्यो । नैतिकता र अनुशासन एकादेशको कथा बन्दैनथ्यो । सुशासन र भ्रष्टाचार किताबमा मात्रै खोज्नु पर्दैनथ्यो । तर, आज हामीलाई जे चाहिँदैन त्यो सबै छ । जे चाहिन्छ त्यो किताब गोष्टी र नेताको भाषणमा मात्रै भेटिन्छ । मुलुकले चाहेको स्थायी शान्ति र समृद्धिको सपना साकारा पार्न नेताहरुले गर्नुपर्ने त्याग र तपस्या स्वार्थमा रुमलिँदा मुलुक नराम्रोसँग प्रभावित भएको छ ।

कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र तहसनहस भएको अवस्थामा नेपाल पनि अछुतो रहेन् । नेपालको आर्थिक अवस्था दयनीय बन्दै गइरहेको अवस्थामा बहुमत प्राप्त सरकारले आफ्नो आन्तरिक कलह मिलाउन नसक्दा त्यसको परिणाम मुलुकले व्यर्होनु प¥यो । आज आम जनतामा अब के हुन्छ ? अब मुलुकको राजनीतिक कता जान्छ भन्दै निराशा भाव सिर्जना भएको छ । राजनीतिक प्रणाली साधन हो, साध्य होइन । यदि साध्य नै राजनीतिक प्रणाली हुन्थ्यो भने सफल बिकसित र सम्पन्न राष्ट्रको राजनीतिक प्रणाली एकै हुन्थ्यो ।

विविध स्वरुपको राजनीतिक प्रणाली भएका मुलुक भएकोले यो प्रणाली र यो वाद मात्र निर्विकल्प वाद र प्रणाली भन्न सकिन्न । त्याग अनि निष्ठा संघर्षको पर्याय बन्न गणेशमान सिंहले मार्ग प्रशस्त गरेका थिए । तर, गणेशमानको यो महानता आजसम्म कसैले अनुकरण गरेनन बरु आफ्नो सहयात्री समकक्षी आफ्नै पार्टीका नेतालाई खुट्टा तान्ने, लडाउने, असफल बनाउने, गलत हर्कत र निर्मम प्रहार गर्ने उल्टो बाटो तय गरे । जुन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालमा देखियो । प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको के कुरा गर्नु ।

असल स्थिति प्रचलन र विधि अनुसार नचल्दा राजनीतिक अस्थिरता कायम गरेर रहेको छ । यो देशका लागि निर्लज्ज अवस्था हो । विश्वले नेपालको राजनीति अवस्थालाई नजिकबाट हेरिरहेको छ । भाइफुटे गवार लुटे भने झैं आपसी विवादले विदेशी हस्तक्षेप त बढ्ने होइन भन्ने आशंका पनि उब्जिएको छ । व्यक्तिगत मान, सम्मान, अपमान र अपहेलना बेवास्ता र उपेक्षा दलभित्रको अस्थिरताको कारक बनेको छ । कमरेडहरूको सिद्धान्तहीन आलोचना तुच्छ गालीगलौज, आरोप÷प्रत्यारोप लान्छना र अशिस्ट व्यंग्यवाण निन्दा र बदख्वाइले यतिबेला राजनीतिको आकाश धमिलो र विषाक्त देखिएको छ । सुन्न नसक्ने अभिव्यक्ति अश्लिल नाराबाजी र प्रदर्शनले सडक घीनलाग्दो भएर रंगिएको छ । यो सब करामत दुई तिहाइ बहुमतको सन्निकट दलको अक्षमताको कारण भएको कुरामा दुईमत छैन यद्यपि यो स्वीकार गर्न दुबै खेमा तयार छैन ।

किनकि उनीहरु दोष आफू होइन एकअर्कोलाई मात्रै देखिरहेछन् । समस्याको जड यही हो, कुरो बिग्रने परिस्थिति यही हो । कमजोरीमा क्षमा माग्ने, क्षमा दिनेले मात्रै पनि धेरै हदसम्म समस्या निराकरण गर्न र सहज अनुभूति सिर्जना गर्न सकिन्थ्यो । तर, नेकपाभित्रको परस्परको दम्भ अविश्वास र अहंकार अनि आफू र आफ्नो समूह मात्रै महान सम्झने मनोवृतिको शिकार नेकपा नेताकार्यकर्ता बनेकोले यो विषम परिस्थिति खडा भयो । अब नेताहरुलाई कार्यकर्ताले सबक सिकाउन जरुरी छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न राजनीतिक अन्यौललाई सर्वोच्च अदालतले फागुन ११ गते अन्त्य गरिदिएको छ । संसद पुनस्र्थापनापछि अब राजनीति कता मोडिने हो भन्ने कौतुहल्ता शुरु भएको छ । दलहरु एकजुट भएर संविधानको रक्षा गर्दै समृद्ध राष्ट्र निर्माणमा एक हुनुपर्छ र संस्कारयुक्त राजनीति गर्ने प्रण गर्दै अघि बढ्नु नै मुलुक र नागरिकको हित हुनु हो ।

पाँच वर्षे अवधिका साथ गठन भएको वर्तमान सरकारका धेरै कमी–कमजोरी हुन सक्छ । तर, त्यसलाई सुधार गर्दै अघि बढ्ने अठोट राख्न सक्नुपर्छ । दम्भको राजनीति त्यागेर सहमति सहकार्य र एकतालाई जोड दिदैं देशको हितमा एकजुट हुनुपर्छ । राजनीतिक अस्थिरताले मुलुकको विकास हँुदैन । देशको उन्नती र भलो चाहने हो भने नागरिकको अवश्यकता र चाहनामा केन्द्रित हुन जरुरी छ । अबको १३ दिनभित्र संसद बैठक त पक्कै बस्छ, तर त्यो समस्याको समाधान होइन । राजनीतिक दलहरु बीचको अपरिपक्क, दम्भ र अंहकारले मुलुकलाई फाइदा नगर्ने निष्कर्षमा पुगेर सहमतिका साथ अघि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।

परस्परको दम्भ, अविश्वास र अहंकार घातक हुने बुझेर पनि दलभित्रको गुटगत राजनीति गर्ने नेताका कारण जनताले दुःख पाएका छन् । राजनीतिक दलका नेताका कारण दुःख पाएको अनुभूति गरेका जनता पनि सच्चिन जररी छ । जबसम्म राजनीति नेतृत्वविरुद्ध जनताले खबरदारी गर्दैनन् तबसम्म नेतामा आफू अनुकूल निर्णण गर्ने मनोवृद्धिको विकास हुन्छ र उनीहरुले सोच्ने गर्छन् मैले जे गरे पनि हुन्छ । प्राप्त उपलब्धीको रक्षा गर्दै देशको विकासका लागि सबै दल मिल्नुको विकल्प छैन । नत्र जनताले वर्तमान राजनीतिक दलको विकल्प अवश्य खोज्ने छन् । त्यो देश र नेताहरुका लागि घातक हुन सक्छ ।

जनताको आवाज बोकेर राजनीतिक नारा लगाएर सत्तामा पुगेपछि ठेकेदारको मात्रै कुरा सुनेर निर्णय गर्ने प्रवृत्ति जबसम्म प्रमुख नेतृत्वमा हुन्छ तबसम्म असल राजनीतिले स्थान पाउँदैन । त्यो मुलुकको लागि नै दुर्भाग्य हो । प्रतिबन्धको सामना गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उठाएका कतिपय मुद्दाहरु जायज छन् । राजनीतिक मुद्दाहरुलाई समेटेर देशको अग्रगतिमा सबैलाई सामेल गराउन सक्नु सरकारको जिम्मेवारी र कर्तव्य हो । राजावादी दलका केही विषय पनि मनन् गर्न योग्य छन् । ती विषयलाई पनि संविधानमा समेटेर सबैले अपनत्व हुने खालको संविधान बनाएर दलहरुको एकतालाई अझ सदृढ बनाउँदै देशको विकासमा लाग्नु अहिलेको आवश्यकता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here