अब के हुन्छ ?

१४ फाल्गुन २०७७, शुक्रबार मा प्रकाशित

‘क्रोधको बेगमा देशको चिन्तन सम्भव छैन’– यो वीपी कोइरालाको भनाई हो । नेपालको राजनीति अहिले यही ठाउँमा अडिएको छ । जताततै क्रोध मात्र देखिन थालेको छ । वर्तमान राजनीतिक प्रणालीका स्थायी विरोधीहरुको क्रोध त छँदै थियो, अहिले नयाँ ‘क्रोधशक्तिहरु’ थपिएका छन् । लाग्दछ जताततै क्रोध मात्र छ । त्यो क्रोध पनि राष्ट्रियता, आर्थिक विकास, समाजवादी चिन्तन र समाजवादको अवलम्बन, लोकतन्त्रको रक्षा, व्यक्तिको आत्मसम्मान र मर्यादाको रक्षाका लागि होइन, आफनो अत्मसम्मान, व्यक्तिगत महत्वकांक्षाको पूर्ति, शक्तिको आर्जन र राजनीतिमा गुटगत रक्षाका लागि मात्र केन्द्रित छ । मानिसहरु भन्न थालेका छन्– नेपालमा असल नेतृत्वको अभाव देखियो । नेता त धेरै भए, नेतृत्व दिन सक्ने नेता देखिएनन् ।

लोकतन्त्रको सबैभन्दा क्रुर विरोधी राजा महेन्द्र नै हुन् । इतिहासले यसलाई प्रमाणित गरेको छ । लोकतन्त्रको चिरहरण गर्नमा राजा महेन्द्रको जस्तो कठोर व्यवहार कुनै पनि शासकले देखाएनन् । हुन त राणा शासनका नाइकेहरु कहिल्यै प्रजातन्त्रको पक्षमा देखिएनन् । सदैव जहानियाँ शासनको चिन्तनबाट ग्रसित देखिए । उनीहरु जुन पृष्ठभूमिबाट शासक बने त्यसभित्रको प्रजातन्त्र विरोधी अवशेष स्वभाविक नै हो । तर, राजा महेन्द्रलाई त प्रजातान्त्रिक आन्दोलनले शासक बनाएको थियो । उनीबाट प्रजातन्त्रको खिलाफ हुने आचरण र व्यवहार स्वभाविक थिएन । यद्यपि वीपीको स्वीकार्यतालाई उनले पनि नकार्न सकेनन् । त्यसैले राजा महेन्द्रले भनेका थिए– ‘तपाई जस्तो प्रधानमन्त्रीसँग काम गर्न पाउनु म आफ्नो अहोभाग्य ठान्दछु ।’ यहाँ वीपी व्यक्ति होइन, एउटा प्रजातान्त्रिक चरित्र हो । प्रजातन्त्रसँग गाँसिएर काम गर्न पाउनु अहोभाग्यको विषय हो ।

अहिले हाम्रो मुलुकमा संविधान सभामार्फत जनताले बनाएको संविधान छ । त्यही संविधानले निर्धारित गरेको शासन प्रणाली छ । यस्तो शासन प्रणालीमा रहेर राजनीति गर्न पाउनु, निर्वाचित हुन पाउनु र देशको चिन्तन गर्न पाउनु अहोभाग्यको विषय हो । तर, यो सत्यलाई स्वीकार गरेर देशको चिन्तन गर्न सक्षम नेता पाउन सकिएन । वीपीले भने जस्तै जताततै क्रोधको राजनीति छ । सबैले–सबैलाई सिध्याउने धाउन्न मात्र देखिन्छ । संवाद र सहकार्य पनि क्रोधको संरक्षणका लागि स्वार्थ केन्द्रित बनेको छ । एकले अर्कालाई सिध्याउने लालसा राजनीतिमा स्थापित भइरहेको छ । सबैको धाउन्न आफू बलियो हुनेमा छ । देश कसरी बलियो बनाउने भन्ने चिन्तन र चिन्ता कमजोर बनेको छ । अहिलेको नेपालको राजनीतिमा रहेका शक्ति र व्यक्तिका बीचमा यही प्रकारको ‘शितयुद्ध’ चलिरहेको छ ।

खेलको मैदानमा उत्रेपछि जित्ने चाहना स्वभाविक हुन्छ । जित्ने प्रयास स्वभाविक चाहना र चरित्र हो । नियमसंगत खेलको नतिजा सबैका लागि स्वीकार्य बन्दछ । जब खेलमा जालझेल शुरु हुन्छ, त्यस्तो खेलको नतिजा स्वीकार्य हुँदैन । जालझेलको जीत स्थायी पनि हँुदैन । नेपालको राजनीतिमा त्यस्तै अभ्यास देखिन थालेका छन् । एउटा टिमलाई हराउने क्रोधले दुईवटा टिम मिलेर खेल्ने भद्दा चरित्रको राजनीति देखिन थालेको छ । जतिखेर एमाले र माओवादीको मोर्चा बन्यो, त्यो मोर्चा पनि नेपाली कांगे्रसप्रति क्रोधित बनेर तयार भएको थियो । जसरी पनि सत्तामा पुग्ने वर्तमान प्रधानमन्त्री केपी ओलीको चाहनाबाट ग्रसित भएर दुई ध्रुवमा रहेका कम्युनिष्ट खेलाडीहरुले एउटा टिम तयार गरे । नेपाली कांग्रेसलाई हराए पनि । उनीहरुको यो कृतिम एकता स्वार्थमा केन्द्रित थियो । स्वार्थ बाँझिन थालेपछि भताभुंङ्ग भयो । अब अहिलेको क्रोध केपी ओलीतर्फ लक्षित छ । जसरी पनि ओलीलाई हराउनु छ । ओलीलाई हराउन अर्को सिद्धान्तहीन टिम तयार गर्ने प्रयास गरिँदैछ । रोचक त के छ भने हिजो कांग्रेसलाई हराउन टिम तयार गर्ने नाइकेहरु नै अहिले अर्को हराउने खेलको नेतृत्व लिदैछन् । नेपालको राजनीतिमा सदैव हराउने खेल मात्र खेल्ने चरित्रको नेतृत्वकर्ताका रुपमा प्रचण्डले प्रवेश गरेका छन् ।

प्रचण्ड त्यस्ता नायक हुन जसले हराउन मात्र सिकेका छन् । आफू नजिते पनि अर्कालाई हराउने मनोग्रन्थी बोकेका प्रचण्डले कहिल्यै शान्ति र समृद्धिलाई स्वीकार गरेनन् । प्रचण्डको दिमागमा जहिले पनि एउटा कुरा मात्र घुमिरहेको छ– अर्काको ढाडमा टेकेर टाउकोमा हिर्काउने । उनले यो सोचलाई पटक–पटक बोलेका छन् । कार्यकर्ताहरुलाई त्यही अनुरुपको शिक्षा दिएका छन् र आफू पनि त्यही गरिरहेका छन् । प्रचण्डको राजनीतिक अवतरणको मुख्य साधन नै हिंसा थियो । राजा र भारतको ढाडमा टेकेर हिंसा शुरु गरे । नेपालको जातीय सद्भावलाई थङ्गथिलो पारे । शान्तिप्रिय नेपालीको मानसपटलमा हिंसाको कोरामिन थपे । आशंका, अविश्वास, घात र प्रतिघातको संस्कार बिजारोपण गरे । राजनीतिमा घाँटी जोड्ने र घाँटी काट्ने दुबै कलामा चातुर्यता देखाए । कतिपय परीक्षण पनि गरे र क्षणिक सफल पनि देखिए । अहिले उनी नेपाली कांगे्रसको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने धाउन्नमा छन् । देखिँदैछ के भने केपी ओलीले भने झैं अब देश राजनीतिक अस्थिरताको दलदलमा फस्दैछ ।

लागिरहेको छ एकदिन प्रचण्डले भन्ने छन्– ‘हामीले चाहेकै यही हो ।’ र, उनले आफ्ना कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै भन्ने छन्– हामी ‘प्रतिक्रियावादीहरुको’ शिविरमा घुसेर उनीहरुलाई विभाजित गर्न सफल भएका छौं । अहिले नेपालको राजनीतिमा हामी निर्णायक भएका छौं । हामीले एमालेलाई तहस–नहस बनायौं, नेपाली कांगेसलाई उपयोग मात्र गरेनौं उसको छवि नै समाप्त पारिदियौं र नेपालको राजनीतिमा हामी निर्णायक ठाउँमा आइपुग्यौं । अब हामी नयाँ शिराबाट क्रान्तिको थालनी गर्नेछौं ।’ प्रचण्डका यी भनाई हामीले सुन्ने दिन आउँदैछन् । यस्तै आभाष भइरहेको छ । कम्युनिष्टहरुले अङ्गिकार गर्ने केही रणनीतिक चालहरु छन् । जस्तो कि ‘फुटाउ र शासन गर’, ‘एक कदम अगाडि र दुई कदम पछाडि’, ‘ढाडमा टेकेर टाउकोमा हान्ने’, ‘उपर्युक्त अवस्थामा छलाङ्ग लगाउने’, ‘आफू बलियो हुन विपक्षीबीचमा फाटो र वैमन्यस्यता बढाउने’ । यस्ता कुरामा प्रचण्डले विद्यावारिधी ग्रहण गरेका छन् । उनको यो चातुर्य रणनीतिमा अहिले धेरै नेताहरु फँसेका छन् । विगतमा गिरीजाबाबुलाई राष्ट्रपतिको आशा देखाएर प्रचण्डले के गरे ? अहिले पनि सम्झन योग्य घटना ताजै छ ।

गजब त के छ भने एमालेभित्रको यति लामो सहयात्रामा जोडिएका नेपाल, खनाल, गौतम र ओली अहिले एकअर्कालाई धारेहात लगाएर सत्तोसराप गरिरहेका छन् । एकले अर्काको योग्यता र इमान्दारिता माथि सार्वजनिक रुपमा छुद्र शब्दवाण प्रहार गरिरहेका छन् । अब कहिल्यै मिल्न सकिन्न भनेर सानो बालकले ‘कट्टि’, ‘अड्डि’ भने जस्तो गरिरहेका छन् । विगत एमालेको हालत अहिले ‘… लाईभन्दा देख्नेलाई लाज’ भने जस्तो भएको छ । यता नेपाली कांग्रेसभित्र पनि शेरबहादुर र रामचन्द्रको हालत त्यस्तै हुन थालेको छ । एकले अर्कालाई कटाक्ष गर्न शुरु भएको छ । यता पनि प्रचण्ड नै पुगेका छन् उता पनि प्रचण्ड नै पुगेका छन् । हिजो निर्मम र निरंकुश देखिएका प्रचण्ड, हिजो अकुत सम्पत्ति जोडेको आरोप लागेका प्रचण्ड, हिजो लडाकु युवाहरुको अरबौं रकम अपचलन गरेको आरोप लागेका प्रचण्ड, हिजो यो मुलुकको प्रजातन्त्र समाप्त पार्न व्यक्ति हत्याको राजनीतिलाई अख्तियार गरेका प्रचण्ड अहिले सबैभन्दा ‘मुलायम’ र लोकतन्त्रवादी देखिन थालेका छन् । अहिले प्रचण्डले सबैभन्दा बढी बोल्ने शब्द र वाक्य नै मुलुकको संविधान, कानूनको पालना, लोकतन्त्रको रक्षा, मुलुकको समृद्धि, शान्ति र सुरक्षा भएको छ । एकाएक प्रचण्डको चरित्र फेरिएको छ । प्रचण्डको परिवर्तित चरित्रले मुलुकमा अर्को राजनीतिक अनिष्ठ नआउला भन्न सकिन्न ।

अहिले सबैतिर एउटा प्रश्न उठेको छ– अब के हुन्छ ? यसको उत्तर सहज छैन । वीपी कोइरालाले भने झैं ‘क्रोधको बेगमा देशको चिन्तन सम्भव छैन’ । तसर्थ, कसैको उक्साहटमा नपरी व्यक्तिगत महत्वकांक्षा र स्वार्थभन्दा माथि उठेर नेताहरुले सोच्ने बला आएको छ । यो देशको शान्ति, समृद्धि र विकासका लागि २०४६ सालका राजनीतिक शक्तिहरु फेरि एकजुट हुने बेला आएको छ । २०६२/०६३ पछि विकास भएको राजनीकि चरित्रले यो देशलाई वर्वादउन्मुख मात्र बनाउने संकेत देखिन थालेका छन् । अबको राजनीतिक लडाई २०४६ सालको राजनीतिक शक्ति भर्सेस २०६२/०६३ पछि देखापरेका अवसरवादी राजनीतिक शक्तिका बीचमा केन्द्रित गर्दै २०४६ सालको राजनीतिक शक्तिलाई एक ठाउँमा उभ्याउनमा केन्द्रित गर्न आवश्यक छ । यो शक्तिले मात्र यो देशको समृद्धिको ग्यारेन्टी गर्न सक्दछ । नेपाली कांग्रेस र पूर्व एमालेको बलियो एकताले मात्र यो सम्भव छ । नेताहरुको बुद्धि पलाओस् !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here