हाउस हसबेण्ड

१५ फाल्गुन २०७७, शनिबार मा प्रकाशित
  • 397
  •  
  •  
  •  
  •  
  •  
    397
    Shares

कथा

‘ए बाबा । म अफिस गए है ।’
‘हुन्छ नानी । बिस्तारै जाउ है ।’
‘सुन्नुहोस् न हिजो स्कुटीको चाबी कता राखे ?’ जुत्ता ¥याकमा किरिङ्ग होल्डरमा चाबी नभेटेर सोध खोज गर्छिन् नैना ।

‘ए पर्ख है । बिर्सेर हिजो भान्सामा लगेको थिए सायद । म ल्याइदिहाल्छु एकछिन बस है’ प्रेम हतार हतारमा सिढी चढदै चाबी लिएर ओर्लिन्छन् । फिस्स हाँस्दै नैना मायाले भरिएको आँखाले बिदा माग्दै मास्क र हेल्मेट लगाई स्कुटर सफा गर्न थाल्छिन् ।

मोबाइल हातमा दिँदै– ‘यहाँभित्र तिम्रो मोबाइल छुटेछ नानी । एकैछिन है गेट खोल्दिन्छु म ।’ प्रेम हँसिलो मुहारले नैनालाई बिदा गर्छन् । च्वाइँ… खिया लागेकाले आवाज निकाल्दै गेट खुल्छ । नैना पुनः प्रेमलाई हेर्दै ‘मेरो हाउस हसबेण्ड’ भन्दै भुटुटु आवाज निकाल्दै स्कुटर अगाडि बढाउँछिन् । प्रेम गेट लगाएर ढोका बन्द गर्दै भित्र कोठामा प्रवेश गर्छन् ।

‘अहो ! मेरो त क्लास छ । अनलाईनमा जान भुसुक्क बिर्सेछु ।’ १०ः१५ देखाइसकेको घडी हेर्दै आफै फत्फताउन थाल्छन् । कोठामा एक कुनामा सेतो बोर्ड राखिएको छ । छेउमा एउटा मार्कर, डस्टर अनि अगाडि क्यामेरा स्टेण्ड बनाउन एउटा कुर्सी माथि सिरानी राखिएको छ । मोबाइल अडाएर र ल्यापटपबाट पढाउन मिल्ने गरी टेबल तयार पारिएको छ । खुल्ला कोठामा प्रशस्त हावा र सूर्यको प्रकाश छिर्ने झ्याल छ । प्रेम आफ्नो फर्मल शर्ट पेन्टमा टक्क सजिएर बस्छन् ।

‘गुड मर्निङ्ग माई डियर स्टुडेन्ट… सरी आई गट लेट टुडे ड्यु टु सम टेक्निकल डिफ्फिकल्टिज ।’ उनको क्लास शुरु हुन्छ । करिब १२ बजे उनको दुई पिरियड लिएर मुस्कानका साथ बाहिर निस्कन्छन् । ‘अहो ! मेरो त कपडा सुकाउनु छ । मेशिनमा हालेको थियो । यस्तो चर्को घाम लागेको छ फेरि अहिले सुकाइएन भने यो जाडोमा सुक्न टाइम लाग्छ ।

प्रेम हतारले वासिङ्ग मेशिन भएको स्थानमा पुग्छन् अनि एउटा बास्केटमा चिसा कपडा निकाली छतमा लिएर जान्छन् । काठमाडौंको व्यस्त शहरमा घर भए पनि प्रेमको घरबाट पारीको दृश्य लोभलाग्दो देखिन्छ । उपत्यका वरिपरि पहाड उत्तरमा हिमाल, पश्चिममा स्वयम्भू, दक्षिणमा चन्द्रागिरी र दक्षिणकाली अनि पूर्वमा कंक्रिटका घरहरु । उनलाई नियमित यी कार्य गर्दा समय लाग्दैन, कपडा सुकाउँछन् र क्लिपले च्याप्दै हावालाई कपडा उडाएर देखाउन चुनौति दिन्छन् ।

तल ओर्लिएर उनी तातो पानी खान थर्मस खनाउँदा पानी सकिएकाले खानेपानी इलेक्ट्रिक किट्लीमा बसाउँछन् । भान्सामा अलिक व्यवस्थापन गरी उनी अघि नैनाले मोलेर राखेको भाडाकुडा मिलाएर राख्छन् । पानी उम्लिएपछि बन्द गर्दै बैठकमा बसी टिभीमा ताजा वर्तमान घटनाक्रम नियाल्छन् । दिउँसो खाजा बनाई खाएपछि घर चिटिक्क सफा पार्दै उनी दिनभरिको कामको बिट मार्छन् ।

नैनालाई बेला–बेला फोन गर्दै खाजा पानी राम्ररी गर्न मायालु भावमा सम्झाउँछन् । नैना अफिसमा व्यस्त भएकीले उनीहरुको दैनिक धेरै फोनमा कुराकानी हुँदैन । साझ झमक्क परेपछि नैना आउने बाटो हेर्दै प्रेम बेलाबखत बाटोमा नजर डुलाउँछन् । बेलुकी सब्जी तरकारीको व्यवस्था गर्न कहिलेकाही प्रेम आफै दौडिन्छन् । प्रायः एकमुष्ठ किनमेल गर्दै हप्ताभरिको राशन स्टोर गरेका हुन्छन् उनीहरु ।

सूर्यले दिनलाई बिदा माग्दै पश्चिममा अस्ताउन तयार हुन्छ । गोधुली साझले आकाश रातो रातो भएर मन लोभ्याउँछ, आकर्षण गर्छ र बिस्तारै पूर्वमा चन्द्रमा मधुरो बनिँदै देखिन थाल्छ । ताराहरु बिस्तारै देखिन थाल्छन् । प्रेमले सबै कोठा अनि बरण्डाको बत्ती बाली सन्ध्याकालीन पूजा गर्छन् । त्यसपश्चात् नैनाले ढिला गर्ने अनुमान लाउँदै उनी आउनु अगाडि प्रेम खाना पकाउन भान्सामा जान्छन् । यत्तिकैमा फोन बज्छ ।

‘बाबा म आउन ढिला हुन्छ है । केही नगर्नु म आएर पकाउँछु ।’ नैनाले यति भन्दै फोन राखिन् । प्रेम खाना बनाएर सबै हटकेसमा राख्छन् । अनि टिभी हेर्दै बस्छन् । राति ८ बज्दा बल्ल ढोकाको घण्टी बज्छ (टिङ्टोङ्ग) । प्रेम हतारिँदै गएर ढोका खोली नैनालाई स्वागत गर्न पुग्छन् ।

‘अहो स्कुटी आएको थाहा पाइन मैले । टिभीको आवाज ठूलो थियो । धेरै समय त कुर्नु परेन नि नानी ?’
‘छैन बाबा ! आज ढिला भयो अनलाइन केही अर्डर गरि खाउ न है ।’ जुत्ता खोल्दै नैना थकित स्वरमा भन्छिन् ।
‘हुन्छ नानी । पहिला माथि जाउ हिँड फ्रेस हुनु अनि चिया खाउला अनलाइन अर्डर अनि दिनुपर्छ है’ –मुसुमुसु हाँस्दै प्रेम कपाल सुम्सुम्याउँछन् । ‘हस बाबा । थेन्क यू फर योर कम्पनी । म माथि गए है । गेट लगाइदिनु न ।’
नैना फ्रेस भएर ड्रेस चेन्ज गरी माथि बैठकमा जान्छिन् । प्रेम भने टिभी हेर्न ब्यस्त रहन्छन् ।

‘आज त हेक्टिक वर्क सेड्युल थियो । हाई प्रेसर वर्क । सरी बाबा म बिचमा केही सोध्न र बोल्न पाइन । के मगाउने ? हजुर मगाउनु म कफी बनाउँछु’ नैना प्रेमको छेउमा थकित शरीरलाई विश्राम गर्न बस्दै भन्छिन् ।

प्रेम मौन बनी मोबाइल हातमा खेलाउँदै बस्छन् । एकैछिनमा भान्सामा नैना पसेर नियाल्दा छक्क पर्छिन् । हँसिलो मुद्रामा प्रेमको समीप आएर बस्छिन् र हात समाउँदै भन्छिन्– ‘बाबा मेरो मास्टर सेफ, मेरो हाउस हसबेण्ड तिमी मलाई किन यति धेरै माया गर्छौं ?’

प्रेम फिस्स हाँसेर नैनाको कपाल सुम्सुम्याउँदै भन्छन्– ‘तिमी म भनेको बराबरी हो नि । तिमी हाउसवाइफ हुन सक्छौ भने म हाउस हसबेण्ड किन हुन सक्दिनँ ? नानी भोक लाग्यो अब जाउ खाना खाउ ।’

दुबै भान्सामा खाना पस्किन थाल्छन् । नैना जस्तै भाग्यमानी धेरै जना छैनन् । सोच बदलौ परिवर्तन आफै आउनेछ । श्रीमतिलाई थोरै भएपनी काममा साथ दिएर असल हाउस हसबेण्ड बन्ने कि ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here