मर्यादाको पालना गर

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

नेतृत्व वर्गमा देखिएको नैतिकताको संकटले देशले फेरि पनि निकास नपाउने भएको छ । बलमिच्याइँ गर्ने उनीहरुको चरित्रले देशको भोलि अझै पनि अन्धकारमै रुमलिने अवस्था देखिँदैछ । पछिल्लो पटक गत पुस महिनादेखि सत्तारुढ दल नेकपामा देखिएको विश्रृंखलित प्रवृत्ति अझै बदलिएको छैन । इतिहासकै सर्वाधिक शक्तिशाली भनिएको नेकपाको एकमना सरकार बीचमै दिग्भ्रमित भएको छ । कानूनतः एक रहेको सो दल व्यवहारले दुई टुक्रा भएको छ, त्यो पनि शीर्षस्थ नेताहरुकै कारण । आपसको विमति, बेमेल र अस्वस्थ प्रतिष्पर्धालाई निहुँ बनाएर प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका प्रधानमन्त्री संवैधानिक उपचारमा गलत सावित भए । उनको निर्णय गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतले ‘पहिले कै’ अवस्थामा फर्काइदिए पछि कानून र संविधानमाथि बलमिच्याइँ कसले गर्दोरहेछ स्पष्ट भयो ।

नेतामा नैतिकता भएन भने जनताबाट नैतिकताको अपेक्षा गर्न सकिँदैन । आफूद्वारा सम्पन्न काम वा गरिएका निर्णयहरु बलजफ्तीका हुन् भनेर प्रमाणित भइसकेको अवस्थामा प्रमले तत्काल राजीनामा दिनुपर्ने हो । एउटा सामान्य मानिसले पनि बुझेका छन् कि निष्ठा, आदर्श, मर्यादा, अनुशासन, शिष्टता, सदाचारिता र नैतिकता नेतृत्व तहको वाञ्छनीय योग्यता हो । विगतमा सिंहदरवारमा आगलागी हुँदा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । त्यस्तै सूर्यबहादुर थापाले गरेको संसद विघटनको प्रस्ताव अस्वीकृत हुँदा पदबाट राजीनामा दिए, त्यस्तै प्रतिकूल परिस्थितिमा गिरिजाप्रसाद कोइरालाले पनि पदबाट राजीनामा दिएर नैतिकता प्रस्तुत गरेका थिए ।

अहिले देश कठिन मोडमा उभिएको छ । आफ्नो निर्णय संविधानतः अस्वीकृत भएपछि नेतृत्व परिवर्तन हुने परम्परा र संस्कारको अनुशरण हुने अपेक्षा गरिएको थियो । प्रतिनिधिसभा विघटनका विरुद्ध सडक संघर्षमा रहेका दल लगायत नागरिक समाजले प्रमले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । यसैबीच जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले शुक्रबार झापामा आयोजित कार्यक्रममा बोल्दै प्रमले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । प्रमका निकट रहेका नेताहरुले समेत सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै राजीनामा दिने बताउँदै आएका थिए । तर, यतिका दिन बितिसक्दा पनि प्रमले राजीनामा दिनुको सट्टा संसद सुचारु गरेर चुनौतीहरुको सामना गर्ने बताउन थालेका छन् । नेतृत्व वर्गको हठले ‘बाछा–बाछी’ किचिने सम्भावना प्रबल भएको छ भने राष्ट्रले झन् ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको आंकलन गर्न थालिएको छ । यस्तो समय आफू–आफूले संयमित भई मर्यादा, नैतिकता र जिम्मेवारीबोध गर्नैपर्छ । अन्यथा उत्पन्न परिवेशले क्षति मात्रै पु¥याउँछ, हेक्का राखौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here