केमोमेली फूलको व्यवसायिक खेती शुरु

१६ फाल्गुन २०७७, आईतवार मा प्रकाशित

अर्जुनधारा।

औषधीय गुणले भरिपूर्ण मानिएको केमोमेली फूलको झापामा व्यवसायिक खेती शुरु भएको छ । विशेष गरी ग्रीन टीमा फ्लेवरका रुपमा प्रयोग हुँदै आएको केमोमेली फूलको व्यवसायिक खेती अर्जुनधारा नगरपालिका–१० चुथाईका कृषक ज्ञानु बरालले शुरु गरेका हुन् । उनले जिल्लामै पहिलोपटक १० कठ्ठा क्षेत्रफलमा केमोमेली फूलको व्यवसायिक खेती शुरु गरेका हुन् ।

केमोमेलीको नियमित सेवनले आँखा सम्वन्धि सबै प्रकारका रोग निवारणमा मद्दत पुग्ने, क्यान्सर रोगीलाई समेत फाइदा पुग्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, अनिद्रा र शरीर सिथिल हुँदा लाभकारी, शरीरमा भएका हड्डीलाई मजवुत बनाउने, मधुमेह लगायतका रोगबाट छुट्कारा पाउन यसको सेवन गर्ने गरिन्छ ।

अर्जुनधारा नगरपालिकाले कृषकका लागि आयोजना गरेको व्यवसायिक तालिममा सहभागी भएका वरालले परम्परागत खेती छाडेर फूलको खेती गरेका हुन् । मानव शरीरका लागि लाभकारी फूलका रुपमा रहेको यसको पहिलोपटक व्यवसायिक खेतीबाट प्रशस्त आम्दानी लिन सकिने उनको विश्वास छ ।

प्रतिकेजी एक हजार रुपैयाँमा बिक्री हुँदै आएको केमोमेली फूल उत्पादनमा समेत सहज रहेको उनको बुझाइ छ । कृषि विज्ञाको सहायतामा आफूले यो फूलको व्यवसायिक खेती गरेको बताउँदै आएका वरालले आफूले पूर्वमै पहिलोपटक केमोमेली फूलको खेती गरेको दावी गरेका छन् ।

कृषि विज्ञको सहायतामा केमोमेली फूलको बीऊ मगाएर आफूले बेर्ना उत्पादन गरेको र रोपेर फुलाएको बताएका छन् । विज्ञकै सहायतामा आफूले फूल समेत बिक्री गर्ने तयारी गरेको बरालको भनाइ छ । आफूले दुई पटकसम्म केमोमेली फूल टिपी सकेको बताउँदै पहिलो लटमा ५०/६० केजी फूल विक्रीका लागि तयारी भएको बरालले बताए । पानी नपरुञ्जेल पटक–पटक फूल टिप्न मिल्ने भएकाले यसबाट कम मेहनतमा पनि बढी आम्दानी लिन सकिने बरालको भनाइ छ ।

यसअघि उनले सो ठाउँमा यो समयमा काउली, ब्रो काउली, बन्दा लगायतका तरकारी खेती गर्दै आएको र तरकारी खेतीमा धेरै मेहनत गर्नु पर्ने र केमोमेली फूलको खेतीमा मेहनत कम गर्नुपर्ने भएपछि आफूले नयाँ खेती शुरु गरेको बरालको भनाइ छ । रोपेदेखि एक पटक पानी लगाए पुग्ने, गोडमेल गर्नु नपर्ने र आम्दानीको दीगो श्रोत भएका कारण यो खेती गर्न सहज हुने उनको भनाइ छ ।

सातामा दुई पटकसम्म फूल टिप्न सकिने र निरन्तर फूल टिप्न पाइने हुँदा यसबाट आम्दानी लिन सहज हुने उनी बताउँछन् । तरकारी खेती गर्दा १० कठ्ठा क्षेत्रफलमा एक लाखसम्म आम्दानी गर्ने गरेको बताउँदै बरालले दुईपटक फूल टिप्दा नै ५०/६० हजार आम्दानी गर्न सकिने भएपछि यो फूलबाट कम मेहनतमा बढी फाइदा लिन सकिने उनको भनाइ छ ।

प्रतिकठ्ठा ४० देखि ५० केजीसम्म फूल उत्पादन गर्न सकिने कृषि विज्ञको भनाइ रहेको बरालले बताए । आफूले पहिलोपटक केमोमेली फूलको खेती गरेकाले कति क्षेत्रफलमा कति उत्पादन गर्न सकिन्छ अहिले अनुमान मात्रै आफूले गरेको र आगामी बर्ष यसको बारेमा भन्न सक्ने बरालले बताए ।

अर्जुनधारा नगरपालिकाले आफूलाई कृषि उत्पादनमा भरपूर सहयोग गरेको बरालको भनाइ छ । आफूले पहिलोपटक यस प्रकारको खेती गरेकाले अरु कृषकहरुले समेत यस विषयमा वुझ्ने काम भई रहेको बरालले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here