अर्जुनधाराधाममा एकल शिव ताण्डव नृत्य तथा एकल शिव भजन गायन प्रतियोगिता

१८ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
  • 461
  •  
  •  
  •  
  •  
  •  
    461
    Shares

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा प्रदेश नं १ स्तरीय एकल शिव ताण्डव नृत्य तथा एकल शिव भजन गायन प्रतियोगिताको तयारी गरिएको छ ।

 

महाशिवरात्री पर्वको अवसरमा एक साँझ शिवका माझ कार्यक्रम अन्तर्गत उक्त कार्यक्रमको तयारी गरिएको हो । उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी साहित्य चौतारी झापाका संस्थापक /संरक्षक देवीभक्त श्रेष्ठलाई दिइएको छ ।

आगामी फागुन २५ गते एकल शिव भजन गायन प्रतियोगिताको अडिसन हुने र उक्त अडिसनबाट १० जनालाई छनौट गरिने छ भने फागुन २६ गते एकल शिव ताण्डव नृत्य प्रतियोगिताको अडिसन गरिने र उक्त अडिसनबाट १० जनालाई छनौट गरिने र फागुन २६ गते साँझ सनलाइट संगीत विद्यालयको विशेष प्रस्तुति रहने बताइएको छ ।

एकल शिव भजन गायन प्रतियोगिताको संयोजकमा संगीतगुरु कृष्ण योञ्जन र दिपक रायमाझी रहेको र एकल शिव ताण्डव नृत्य प्रतियोगिताको संयोजकमा नृत्य निर्देशक सुनिल थापा रहेको बताइएको छ ।

आगामी फागुन २७ गते महाशिवरात्रिका दिन ‘एक साँझ शिवका माझ’ कार्यक्रमअन्तर्गत दुवै प्रतियोगिताको फाइनल गरिने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

एकल शिव ताण्डव नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार रुपैयाँ , द्वितीय हुनेलाई ३१ हजार रुपैयाँ र तृतीय हुनेलाई २१ हजार रुपैयाँ र सान्त्वना हुने दुई जनालाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।

त्यस्तै एकल शिव भजन गायन प्रतियोगितामा प्रथम हुनेलाई ३१ हजार रुपैयाँ , द्वितीय हुनेलाई २१ हजार रुपैयाँ र तृतीय हुनेलाई११ हजार रुपैयाँ तथा सान्त्वना हुने दुई जनालाई जनही दुई हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।

प्रतियोगितामा सहभागी हुने प्रतियोगीले ताण्डव नृत्यका लागि एक हजार रुपैयाँ र शिव भजनका लागि पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने कोषाध्यक्ष जोशीले बताए । उक्त कार्यक्रम सम्पन्न गर्न कम्तीमा पाँच लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।

भगवान शिवलाई प्रसन्न गराउन र शिवको पहिलो नृत्यको रुपमा मानिएको ताण्डव नृत्यको महत्वबारे सबैलाई बुझाउने उद्धेश्यले प्रदेश नं. १ मै पहिलोपटक प्रदेश नं १ स्तरीय एकल शिव ताण्डव नृत्य तथा एकल शिव भजन गायन प्रतियोगिताको आयोजना गरिएको अर्जुनधारा जलेश्वर धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए ।

आगामी फागुन २५ गते बिहान ९ बजे यज्ञ समुद्घाटन गरिने र २६ गते यज्ञ, पूजा, पाठ, हवन, रुद्राभिषेक, प्रवचन, भजन कीर्तन र २७ गते भक्तजनद्वारा जलेश्वर नाथको पूजा आराधना, जलाभिषेक, तिलक प्रसाद, धार्मिक प्रवचन साथै चार प्रहर पूजा, विशेष रुद्राभिषेक, श्रृङ्गार, आरतीलगायत हुने अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्निप्रसाद सिग्देलले बताए ।

यसैवीच महाशिवरात्री पर्वको अवसर पारेर अर्जुनधारा जलेश्वरधाममा शिव महाआरती सन्ध्या भजन किर्तन शुरु गरिएको छ ।

कार्यक्रम संयोजक देवीभक्त श्रेष्ठ र धामका मूल अर्चक अग्निप्रसाद सिग्देलले उद्घाटन गरेको कार्यक्रममा शिव महाआरतीसहित शिव सम्वन्धी सन्ध्या भजन किर्तन गरिएको धाम समितिका सदस्य सुधिर बस्नेतले जानकारी दिए । फागुन २४ गतेसम्म शिवमहाआरती सन्ध्या भजन किर्तन गरिने उनले बताए ।

महाशिवरात्री पर्वको अवसरमा एक साँझ शिवका माझ कार्यक्रम अन्तर्गत हुने सवै कार्यक्रमहरुमा सहभागिताका लागि धाम समितिका सदस्य भानुप्रसाद शिवाकोटीले सवै भक्तजनहरुमा आग्रह गरेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here