अर्जुनधारामा पशुपालन फस्टाउँदै

१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

उमानाथ भण्डारी,
कमल ।

झापाको अर्जुनधारा नगरपालिकाका युवा यतिवेला पशुपालन व्यवसायमा आकर्षित हुन थालेका छन् । पशुपालन व्यवसायमा युवाहरुको आकर्षण बढेसँगै नगरपालिकाले त्यस्ता युवालाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

संघ, प्रदेश र स्थानीय तहले समेत पशुपालनमा लागेका कृषकका निम्ति विभिन्न अनुदान तथा प्राविधिक सेवा उपलब्ध गराएका कारणले पनि युवाहरुको पशुपालनतर्फ आकर्षण बढेको हो ।

अर्जुनधारा नगरपालिका–५ स्थित दयार कृषि फर्म दर्ता गरी चार वर्ष देखि व्यवसायिक रुपमा बाख्रापालन शुरु गरी आफूले हाल यसलाई मुख्य व्यवसाय बनाउँदै वार्षिक रुपमा एक लाख भन्दा बढी आम्दानी गर्न सफल भएको देवकला प्रसाईले बताइन् । ‘मैले शुरुमा २ वटा बाख्रा, बाट व्यवसाय शुरु गरेकी थिएँ, अहिले ३५ वटा बाख्रा छन् । बाख्रापालनबाट राम्रो आम्दानी हुने भएर यसलाई व्यवसायका रुपमा रोजेको उनले बताइन् ।

सरकारबाट उपलब्ध गराइने दुई÷चार लाख रुपैयाँ अनुदानभन्दा पनि तालिम र प्राविधिक सेवा पाए राम्रो हुने भन्दै उनले भनिन्– योपटक प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान पाउँदैछु ।

त्योभन्दा पनि प्रविधि र बजार व्यवस्थापन भए राम्रो हुने अर्जुनधारा–३ स्थित लिङ्देन कृषि फर्मकी सञ्चालिका सुमित्रा लिङ्देनले बताइन् । उनले भनिन्– जबसम्म युवाहरु कृषि पेशामा आउँदैनन् तबसम्म नाराले मात्र केही हुँदैन, त्यसैले यो पेशामा केही गरौं भनेर आफूले एयरलाइन्सको जागिर छोडेर गाइपालन व्यवसायमा लागेको हुँु ।

एक करोड रुपैयाँको लगानीमा शुरु गरेकोे फर्ममा अहिले ३० वटा गाई छन् । दैनिक २ सय लिटर दूध विक्री गरेर मासिक १ लाख रुपैयाँ आम्दानी गर्ने गरेको अर्जुनधार–६स्थित कन्काई कृषि फर्मका सञ्चालक सुवोध ढुङ्गेल बताउँछन् ।

नगरपालिकाले पशुपालन गर्ने कृषकलाई विभिन्न समूह बनाएर कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरमा भएका गरीव, मध्यम र व्यवसायिक कृषकलाई उनीहरुको अवस्था हेरेर सोही अनुसारको सहयोग गरेको अर्जुनधारा नगरपालिकाका पशुपंक्षी तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले बताए ।

यस आर्थिक बर्षबाट संघ र प्रदेशबाट आएको अनुदान रकम मात्र कृषकलाई वितरण गर्यौं । हामीले कुनै रकम दिएका छैनौं । अनुदानले कृषकलाई फाइदा नभएको बुझेपछि अनुदान दिनुभन्दा बरु कृषकले उत्पादन गरेको बस्तु बजारीकरणतर्फ लागेका छांै । जसका कारण कृषकले उत्पादन गरेको बस्तुले बजार पनि राम्रो पाएको छ भने उत्पादित बस्तुले मूल्य पनि राम्रो पाएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here