वन्यजन्तु दिवसको सन्देश

१९ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

आज ‘पृथ्वीका सबै जीवहरुको सुरक्षा’ भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । जैविक विविधताकै आधारमा पृथ्वी र यहाँका हरेक प्राणी र वनस्पतिको अस्तित्व रहने हुँदा त्यसको संरक्षण गर्नु मानवको दायित्व हो । मानव जाति प्राणीमध्येको सर्वोच्च हुनुको अर्थले पनि अन्य प्राणीको संरक्षण गर्ने दायित्व मानव कै हो । मानव सामाजिक र बौद्धिक प्राणी पनि हो, त्यसैले विश्वमा रहेका सम्पूर्ण जंगली जनावर र रुखबिरुवाहरुको बारेमा सचेतना जागृत गराउँदै तिनको संरक्षण र सम्वद्र्धन गर्ने पहलकदमी गर्न हाम्रो भूमिका हुनु पर्दछ ।

थाइल्याण्डको पहलमा सन् २०१३ मा भएको विश्व सम्मेलनमा जंगली जनावर र वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारबारे बहस भएको थियो । सो सम्मेलन विश्वमा भएका पैंतीस हजारभन्दा बढी जनावर र वनस्पतिका प्रजातिको संरक्षणका लागि पहिलो कदम भनिएको छ । संयुक्त राष्ट्रसंघको ६८औं साधारणसभाले घोषणा गरेको यो दिवसले प्रत्येक वर्ष वन्यजन्तुको संरक्षणका लागि जनचेतना जगाउने, वन्यजन्तुको बढ्दो व्यापार रोक्ने, संकटमा परेका ठूला बिराला, बाघ, हिउँचितुवा, चितुवा लगायतका वन्यजन्तु संरक्षण गरी पर्यावरण कायम गर्न यो दिवस मनाउन थालिएको हो । वन्यजन्तु जैविक विविधता र पर्यावरण संरक्षणका स्रोत हुन् । एउटा बाघलाई बाँच्न व्यापक, घना जंगल र घाँसे मैदानसँगै पानी चाहिन्छ । त्यसो भएमात्र विभिन्न प्रजातिका जीवजन्तुहरुको पनि अस्तित्व रहन्छ । वन कार्बन बैंक र अक्सिजनको स्रोत पनि हो । त्यसैले वन, वन्यजन्तु, विविध वनस्पति र मानवजातिको अन्योन्याश्रित सम्बन्ध छ ।

यतिबेला हामी कहाँ मानव र वन्यजन्तुका बीच द्वन्द्व चलिरहेको छ । उनीहरुको वासस्थल प्रत्येक दिन अतिक्रमणको चपेटामा पर्दैछ । जति–जति वनजंगल अतिक्रमणमा पर्छ त्यति–त्यति वन्यजन्तुको अस्तित्व संकटमा पर्दै जान्छ । नङ र मासु सरहको वन र वन्यजन्तुको सम्बन्ध र यी दुबैसँग मानव जातिको अस्तित्व जोडिएकाले त्यसको संरक्षणमा जनतादेखि राज्यसम्मले लागीपर्नु पर्छ– यो नै विश्व वन्यजन्तु दिवसको माग हो । तर, मानिसले यो जान्दाजान्दै पनि वन क्षेत्रको अतिक्रमण गरिरहेको छ, वन्यजन्तुको अवैध सिकार गरिरहेको छ । जसका कारण प्रत्येक दिन जैविक विविधता विनाश भइरहेको छ । यसको प्रभाव पारिस्थितिक प्रणालीमा पर्दैछ । मानिसको यस्तो व्यवहारले आफ्नै अस्तित्व लोप हुने निश्चित छ । त्यसैले मानिससँगै सबै वन्यजन्तु र वनस्पतिको अस्तित्वको रक्षाका लागि विश्व समुदाय लागीपरेको छ । तर, हामीकहाँ भने यस्ता दिवस औपचारिकतामै सीमित भइरहँदा हरितगृह ग्याँस बढ्दै गएको छ । यसका नकारात्मक असरहरु देखिन पनि थालेको छ । आजको आवश्यकता भनेकै जैविक विविधतालाई संरक्षण गर्नु हो । यसले खाद्यवस्तुमा स्वच्छता कायम रहन्छ, पृथ्वीको आयु बढ्छ । त्यसैले यो दिनलाई राज्यले जिम्मेवारी ढंगले उत्सवका रुपमा मनाएर जनचेतना जगाउने काम गर्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here