‘रेष्ट रुम’ स्थापनाबाट छात्राको चारदिने तनाव अन्त्य

0
395

मनोज दाहाल/मोरङ,

महिनामा चार दिन तनाव व्यहोरिरहेका छात्रा ‘रेष्ट रुम ’स्थापनाले यसबाट छुटकारा पाएकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सालबन्दीस्थित जनक माध्यमिक विद्यालयका छात्राका लागि अलग्गै ‘रेष्ट रुम’ स्थापना भएपछि उनीहरु सो पीडाबाट मुक्त भएका हुन् ।

विद्यालयले ‘महिनावारी कुनै समस्या होइन, यो त प्राकृतिक प्रक्रिया मात्र हो’ भन्ने नाराका साथ रेष्ट रुमको स्थापना गरेर छात्राको विद्यालय नआउने समस्याको अन्त्य गरेको हो । विद्यालयले महिनावारी हुँदा छात्रालाई पेट दुख्ने र सेनेटरी प्याडको समस्यालाई समाधान गर्नका लागि विसं २०७५ देखि सो रुमको स्थापना गरी सञ्चालनमा ल्याएको छ । रेष्ट रुममा निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । विद्यालयका छात्राले महिनावारी हुँदा धेरै कष्ट हुनुका साथै आफ्नो समस्या उजागर गर्न गाह्रो हुनाले अध्ययनका लागि नआउने गरेको बताएका छन् ।

छात्रा रामकुमारी मगरले निःशुल्क प्याडलगायत आराम गर्न उपलब्ध गराइएको रुमका कारण अहिले सधै विद्यालय आउने गरेको धारणा राखिन् । यस्तै अर्का छात्रा निर्मलाकुमारी दाहालले आफूलाई परेको समस्या शिक्षिकालाई भन्न सहज भएको र कपडाको सट्टा सफा प्याडले जोखिमलाई न्यूनीकरण गरेको विचार व्यक्त गर्नुभयो । नगरपालिका, दातृ संस्थाको सहयोगमा उपलब्ध औषधिलगायत प्याड छात्राको अध्ययनमा हुने बाधालाई अन्त्य गर्न वितरण गरिएको प्रधानाध्यापक तेजप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले छात्रालाई आइपर्ने समस्या सहजरुपमा भन्नका लागि विद्यालयकी आयामार्फत जानकारी प्राप्त भई समाधान गर्ने कार्य गरिरहेको बताउनुभयो । विसं २०२५ म निम्नमाध्यमिक विद्यालयको रुपमा स्थापना भई विसं २०५४ देखि माध्यमिकरुपमा सञ्चालन भएको विद्यालयमा अहिले २२८ विद्यार्थीमध्ये ११२ छात्रा अध्ययन गरिरहेका छन् । विद्यालयमा शिशु कक्षादेखि १० कक्षासम्म अध्ययन हुने गरेको छ ।

विद्यार्थीलाई लामो अध्ययनबाट झर्को नलागोस् भन्नका लागि प्रत्येक दुई पिरियडपश्चात् १० मिनटको ब्रेकको व्यवस्था गरेको विद्यालयले जनाएको छ । यसबाट उनीहरुलाई अध्ययनमा लगनशीलता जगाउनका साथै शिक्षकलाई अध्यापनको समयमा कुनै बाधा समेत नहुने गरेको छ । विद्यालयबाट परिसरबाट विद्यार्थी वाहिर नजाउँन तथा अनुशासन कायम गर्न कक्षा सञ्चालन भएपश्चात् गेटमा ताल्चा लगाउने गरिएको छ । विद्यालयले विद्यार्थीलाई विपद्का समयमा आफू, आफ्ना परिवार र समाजलाई बचाउन व्यावहारिक शिक्षाका साथ तालीम दिने कार्यको व्यवस्था समेत गरेको छ ।

विद्यालयको हाताभित्र अलग्गै कक्षा कोठामा ‘चट्याङबाट बच्न अपनाउनुपर्ने उपाय’ का लागि समय–समयमा विशेषज्ञ र शिक्षकको माध्यमबाट सैद्धान्तिक तथा व्यावहारिक ज्ञान विद्यार्थीलाई प्रदान गर्ने गरिएको छ । यसैगरी विद्यालयले विशेष शिक्षाअन्तर्गत सुस्तश्रवण विद्यार्थीका लागि आवासीयरुपमा अध्ययनको व्यवस्था गरिरहेको छ ।

विद्यालयमा यस्ता फरक क्षमता भएका विद्यार्थी कक्षा छ, पाँच, चार र दुई गरी छात्रा छ जना र छात्र चारजना गरी १० जनाले आवासीयरुपमा अध्ययन गरिरहेको प्रअ भट्टराईले जानकारी दिनुभयो । सङ्घीय सरकारले फरक क्षमता भएका आवासीय विद्यार्थीका लागि प्रति विद्यार्थी रु चार हजार उपलब्ध गराउँदै आएको र सोही रकमको माध्यममाट उनीहरुले अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।

विद्यार्थीका लागि प्राप्त हुने उक्त रकमबाट खानालगायत अन्य सम्पूर्ण सामानको जोहो गर्नुपर्ने भएकाले प्राप्त रकम न्यून रहेको छ । साथै सोही रकमबाट अध्यापन गराउका लागि राखिको एक शिक्षकको पारिश्रमिकसमेत भुक्तानी गर्ने गरेको प्रअ भट्टराईले बताउनुभयो । फरक क्षमता भएका विद्यार्थीलाई अध्यापन गराउने शिक्षकलाई रु आठ हजार मात्र पारिश्रमिक उपलब्ध गराउने गरेका र यसले उहाँको श्रम शोषण भएको बताउँदै उहाँले यो हाम्रो बाध्यता नै रहेको बताउनुभयो । यस सम्बन्धमा नगरपालिकालगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि अहिलेसम्म समस्या समाधान हुन नसकेको प्रअ भट्टराईको गुनासो छ ।

यसैगरी विद्यालयको प्राङ्गणमा ‘अपाङ्गमैत्री’ शौचालयको निर्माण कार्य द्रूत गतिमा भइरहेको छ । ‘समुदायको विपद् उत्थानशीलताका लागि सुरक्षित विद्यालय परियोजना’अन्तर्गत प्लान इन्टरनेशनल र फरवार्ड नामक गैरसरकारी संस्थाको सहयोगमा रु १३ लाख ७५ हजार ८३५ को लगानीमा सो शौचालयको निर्माण भइरहेको छ । अपाङ्गता भएका विद्यार्थीलाई मैत्रीशौचालय उपलब्ध नुहँदा समस्या हुने गरेको र यसले उनहरुको अध्ययनमा समेत बाधा पु¥याइरहेकाले शौचालयको निर्माणमा सहयोग गरिएको फरवार्डकी गनिता चौधरीले जानकारी दिनुभयो ।

उहाँले यही फागुन २५ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा अहिले छत ढलान कार्य मात्र सम्पन्न भएको बताउँदै आउँदो चैत महिनाभित्र सम्पूर्ण कार्य सम्पन्न भई सञ्चालनमा आउने बताउनुभयो । यहाँका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययनका लागि आकर्षण गर्न कक्षा तीनसम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन भइरहेको विद्यालयका शिक्षक सरोज दाहालले जानकारी दिनुभयो ।

उहाँले प्रत्येक वर्ष अङ्ग्रेजी माध्यमबाट पढाइ हुने कक्षा थप गर्दै जाने नीति विद्यालयले लिएको बताउनुभयो । उहाँले अङ्ग्रेजी माध्यमको कक्षा अझ व्यवस्थितरुपमा सञ्चालनका लागि थप निजी शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको जानकारी दिनुभयो । दुई बिघा जग्गा क्षेत्रफलमा फैलिएको सो विद्यालयको खेलकूद मैदानलाई व्यवस्थित गर्न बजेटको अभाव रहेको छ । बजेट अभावका कारण खेलमैदान क्षेत्रमा पर्खाल लगाउन नसकिएकोे उहाँले बताउनुभयो ।

प्रदेश नं १ उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको पहलमा विसं २०७६ मा स्थापना भएको विज्ञान प्रयोगशाला विगत छ महिनादेखि शिक्षक अभावका कारण सञ्चालन हुन सकेको छैन । गत असोजमा प्रयोगशाला शिक्षकको अन्यन्त्र सुरुवा भएका कारण विद्यार्थीले उचित अध्ययन, अनुसन्धान एवं प्रयोगात्मक शिक्षा आर्जन गर्न नपाएको उल्लेखगर्दै प्रअ भट्टराईले यस सम्बन्धमा सम्बन्धित निकायमा जानकारी गराएकोे बताउनुभयो ।

यसैगरी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विद्यालयका चार शिक्षकलाई प्रदान गरिएको आइसिटी तालीम कम्प्युटरको अभावका कारण सदुपयोग हुन नसकेको विद्यालयले जनाएको छ । कम्प्युटर अभावका कारण शिक्षकले तालीमबाट आर्जन गरेका ज्ञानको समुचित प्रयोग हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै प्रअ भट्टराईले विद्यालयका लागि आवश्यक पर्ने कम्प्युटर चाँडै नै उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गर्नुभयो ।

विद्यालयले प्राविधिक शिक्षाको आवश्यक्ता बोध गरे पनि भौतिक पूर्वाधार, दक्ष शिक्षककर्मीको कारण सञ्चालन गर्न नसकेकोमा प्रअ भट्टराईले दुखेसो व्यक्त गर्नुभयो । उहाँले शिक्षालाई रोजगारीसँग जोड्न प्राविधिक शिक्षा आवश्यक रहेको बताउँदै यस सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।

विद्यालयले दलित एवं आदिवासी छात्रालाई छात्रवृत्तिको रकम प्रत्येक वर्ष रु ४०० का दरले वितरण गरेको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा स्थापित विद्यालयले यस क्षेत्रका विद्यार्थीलाई जीवनउपयोगी ज्ञान प्रदान गरी उनीहरुलाई भविष्यमा राष्ट्रको मेरुदण्डको बनाउने कार्यमा लागेकोमा स्थानीयवासी खुशी र प्रसन्न रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here