कांग्रेस नेता सिटौलाले लगाए कोरोनाविरुद्धको खोप

0
684

झापा,

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्।

सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए। सोमबार गृह जिल्ला झापा आएका सिटौला बुधवार काठमाडौं फर्किने जनाइएको छ।

झापामा पहिलो चरणमा नौ हजार १६७ जनाले खोप लगाएकोमा दोस्रो चरणमा ५८ हजार ५१३ जना ज्येष्ठ नागरिकलाई लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। झापमा फागुन २३ देखि २७ गतेसम्म आठवटा स्थानीय तह र चैत १ देखि ५ गतेसम्म बाँकी सातवटा तहमा खोप अभियान सञ्चालन हुने पौडेलले बताए।

पहिलो समूहमा भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बुद्ध शान्ति, बाह्रदशी, हल्दिबारी र कचनकवलका खोप केन्द्रमार्फत ज्येष्ठ नागरिकहरूलाई खोप लगाइँदैछ। ती स्थानीय तहमा ३४ हजार ४५६ जना नागरिक ६५ वर्षभन्दा माथिका रहेको जनाइएको छ।

त्यस्तै‚ दोस्रो समूहका नागरिकहरूलाई चैत १ देखि ५ गतेसम्म खोप दिइनेछ। उक्त समूहमा झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोप केन्द्रहरूबाट सेवा उपलब्ध हुने जनाइएको छ। ती स्थानीय तहमा २४ हजार ५७ जना ज्येष्ठ नागरिक रहेको कोरोना फोकल पर्सन जीवन चौंलागाईंले जानकारी दिए। पहिलो चरणअन्तर्गत झापामा गत माघ १४ देखि २४ गतेसम्म र फागुन ५ देखि ११ गतेसम्म नौ हजार १६७ जनाले खोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here