भद्रपुर खानेपानी संस्थानको पानीमा भेटियो पानी जुका

0
1023

झापा,

नेपाल खानेपानी संस्थान भद्रपुरबाट वितरण हुने धाराको पानीमा पानी जुका भेटिएको छ। भद्रपुर नगरपालिका(८ की शर्मिला अधिकारीले खाना पकाउने क्रममा भान्सा कोठाको धारा प्रयोग गर्दा मंगलबार बिहान पानीसँगै पानी जुका फेला पारेकी छिन्।

अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा पानी जुकाको फोटो र भिडियो सेयर गरेकी छन्। उनले भनिन्, ‘आज बिहान चिया पकाउनका लागि धारामा भाँडा थाप्दा पानीसँगै पानी जुका खस्यो।’ अहिले खानेपानी संस्थान नयाँ पाइपलाइन विस्तारको काम गरिरहेको छ।

पानी जुका तराई क्षेत्रमा गर्मीयामको बेला पानी जमेको ठाउँमा जस्तै ताल, पोखरी, धानको खेत आदि ठाउँको पानीमा पाइन्छ। ‘भद्रपुर खानेपानी संस्थानको पानी स्वच्छ र सफा छैन, मैले पनि प्रयोग गरेर भोगिसकेको कुरा हो‚’ भद्रपुरका एक चिकित्सकले भने, ‘अस्पतालमा पेट दुखेर आउने अधिकांश बिरामीको समस्या नै खानेपानीको कारणले हुन्छ।’

यता नेपाल खानेपानी संस्था भद्रपुरका पानी वितरण शाखा इन्चार्ज राजु बस्नेतले नयाँ पाइपलाइन विस्तारसँगै जडान गर्ने क्रममा त्यस्तो घटना भएको हुन सक्ने बताउँछन्। उनले भने, ‘हिलो माटोमुनि पाइप जोड्नु पर्ने हुन्छ, त्यही क्रममा पानी जीव वा कीटाणुसँगै फोहोर पानी धारासम्मै पुग्छ र त्यहीबाटै निस्किन्छ, त्यही भएको हुनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here