ताण्डव नृत्य : मोक्षको खोज

0
2220

युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ । अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ । अन्य कैयौं ताण्डव नृत्य पनि करोडौं पटक हेरिएको छ । लय, शब्द र शैली फरक भएका तर डमरुको डमडम आवाज र ऊर्जायुक्त थरी–थरीका ताण्डव नृत्य युट्युबमा टन्नै छन् ।

धर्मशास्त्रका जानकार तथा महेन्द्र संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेल भन्छन्– ‘शिव ताण्डवलाई ब्रह्माण्डको सृष्टि मानिएको छ । प्रोटोन, न्युटन जस्ता भौतिक पदार्थहरूको क्रिया–प्रतिक्रिया नै ताण्डव हो ।’
धर्मशास्त्रका अनुसार शिव ताण्डव भनेको शिवले गर्ने नृत्य हो । प्राचीन कथ्य अनुसार ‘पाणिनीले शिवको तपस्या गर्दा–गर्दा पाणिनीलाई शिव ताण्डव मार्फत ब्याकरणको सिद्धि प्राप्त भएको थियो । ‘शिवजीले बोल्नु पर्दैन । डमडम, डमडम, डमडम गरेपछि कसैलाई ज्ञान प्राप्त हुन्छ, कसैलाई भक्ति प्राप्त हुन्छ ।’ ‘अनन्तकालदेखि भएको सृष्टिलाई ताण्डवले बताउँछ । शिवको नाच भनेको त्यही हो ।’ भगवान् शिवले हरेक कुरा सृष्टि गर्दा ताण्डव गर्छन् भनिने पौडेलले बताएका छन् ।

भगवान् शिवलाई खुसी राख्न चाहनेले पनि ताण्डव गर्ने गरेको देखिन्छ । महान् शिवभक्त भनिने ‘राक्षसराज’ रावणले रचना गरेको शिवताण्डवस्तोत्रम्को चर्चा निकै हुने गरेको पाइन्छ । धर्मशास्त्रका जानकारहरू शिव ताण्डव नृत्यमा र पार्वती लाक्षामा पारङ्गत भएको र उनीहरू नै सबभन्दा राम्रा नर्तक रहेको मान्छन् । तर, धर्मशास्त्रको ब्याख्या एकातिर भएता पनि आधुनिक समयमा ताण्डवलाई शास्त्रीय नृत्यका रूपमा सिकाउने गरिएको छ । भगवान् शङ्कर ताण्डव स्वरूपको प्रवर्तक हुनुहुन्छ । शिवलाई नटराज भन्ने कारण ताण्डव नाच नै हो ।

संस्कृतमा ताण्डव शब्दको अर्थ उग्र, स्वच्छन्द वा नियन्त्रणरहित भन्ने हुन्छ । यद्यपि शास्त्रहरूमा दुर्गा ताण्डव, भैरव ताण्डव र राम ताण्डवको समेत वर्णन छ । महिषासुरमर्दिनी दुर्गाले महिषासुरको वधपछि र भगवान् श्रीरामले रावण विजय पश्चात् ताण्डव गरेको प्रसङ्ग पाइन्छ । तर, ताण्डव नृत्यले मूलतः नटराज शङ्करकै नृत्यको प्रसिद्धि रहेको छ । वीर तथा विभत्स रस मिसिँदा ताण्डव हुने हो ।

भाषिक लबजले वा शाब्दिक प्रयोगधर्मिताले ताण्डवभन्दा एक प्रकारको उपद्रो वा उद्दण्डताको विम्ब दिमागले जनाउँछ । तर, ताण्डव नाच प्रकृतिको सुन्दर आराधना हो । यसले विचारको वा मस्तिष्कको सम्पूर्ण उद्घाटन हुने र समग्रमा हाम्रो प्राज्ञिक क्षितिजलाई फैलाउने काम गर्दछ । नृत्यमा ताण्डव नृत्य र युद्धमा पाण्डी युद्धले नै नवीन युगको शुरुवात हुने धर्मविद्हरू भन्ने गर्छन् । ऊर्जा र चैतन्यको प्रकटीकरण ताण्डव नृत्यले गर्दछ । शिवजीको यो नृत्यमा सारा तारागण, ग्रहमण्डल, पृथ्वी र व्योममण्डलकै कम्पन हुने कुराको उल्लेख शिव पुराणमा पाइन्छ ।

संस्कृतका श्लोक र मन्त्रहरूको पठन त के उच्चारण समेत निकै दुरूह सम्झने आधुनिक पुस्तामा समेत निकै लोकप्रिय भएको शिव ताण्डव स्तोत्रको रचना त्रेता युगमा राक्षसराज रावणले गरेको मानिन्छ । १५ वटा श्लोक भएको यो स्तोत्र पञ्च चामर छन्दमा संरचित छ भने यसको भाषा निकै रोचक र प्रौढ छ । रावणले यो स्तोत्रको गानबाट भगवान् शङ्करलाई प्रसन्न बनाइ लङ्कापुरीको निर्माण गरेको उल्लेख पाइन्छ । श्लोकहरूमा निहित केही भाव– जसको निधाररूपी अग्नि धक्–धक् बलेको छ । पर्वतराजकी छोरी पार्वतीको शिरोभूषणबाट सम्पूर्ण दिशा आलोकित भएको देख्दा जसको मन आनन्दी बनेको छ ।

जसको दृष्टिले ठूला–ठूला कष्टहरू रोकिन्छन् । त्यस्ता दिगम्बरी शिवमा मेरो मन लागिरहोस् । यहाँ प्रकृति नै मानवको सुन्दर उपलब्धि भएको कुरा आकाशलाई वस्त्रको रूपमा चित्रण गर्नुले बुझिन्छ । मनुष्य बाहिरी आवरणभन्दा भित्री आध्यात्मिक ज्योतितर्फ केन्द्रित हुनुपर्ने भाव यस स्तोत्रमा पाइन्छ । बारबार गङ्गा र अग्नि स्फुलिङ्गमय शिवको वर्णनले जलीय तत्व र तैजस तत्वको महत्व बुझाएको छ । गिरि कन्दरा, दुर्वम विथि आदिको वर्णन मार्फत साह्रै रमणीय प्रकृति चित्रण समेत यस श्लोकमा छ । साहित्यिक दृष्टिले पनि निकै गहिरो साहित्य यसमा छ । आध्यात्मिक आँखाले हेर्दा एउटा भक्तले भगवत् तत्व वा मोक्ष खोजेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here