विनोद पाण्डे,
चारपाने।

देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र सीप बेचिरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतिकै समय खेर फाल्नेहरुको संख्या पनि कम छैन । त्यसमा पनि आजभोलि धेरैको बहाना लकडाउन र कोरोना कहर बन्न छोडेको छैन ।
यतिबेला कोरोना कहर कम हँुदै गएको छ भने जनजीवन सामान्य अवस्थामा फर्कदै छ । विगतलाई हेर्ने हो भने कोरोना कहरकै कारणले कयौं क्षेत्रमा आवद्ध व्यक्तिहरुले रोजगारी गुमाउनु गरेको अवस्था रहेको छ । कोरोना कहरले सृजना गरेको जटिलतालाई झट्ट हेर्ने हो भने धेरैको लागि असफलता र नोक्सानी मात्र नजरअन्दाज भएको छ । तर, त्यही कोरोना कहर लकडाउनले केही सचेत र कर्मशीलहरुका लागि अवसर र उद्यमी बन्नतर्फ अभिप्रेत गरेको छ ।
त्यस्तै लकडाउनको चपेटामा परेर रोजगारी गुमाउन पुगेका झापाका ११ जना व्यक्तिहरु कोरोना कै कारण आफैं मालिक बनेर स्वरोजगारी बनेका छन् । झापाको बिर्तामोड, अर्जुनधारा लगायतका क्षेत्रमा रहेका प्राध्यापक, शिक्षक, कर्मचारी, सिए, मझौला व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थिती कृषि क्षेत्रमा देखिएको छ ।
शिक्षित वर्ग कृषि पेशामा लाग्दा कृषि क्षेत्र र उत्पादनमा पनि उल्लेखनीय उपलब्धि हुने सोच बनाएर प्राध्यापकहरु केशव ढुंगाना, जीवन रिजाल, शिक्षकहरु रुकमिणा ढुंगाना, टीका ढकाल, कर्मचारी इन्द्रजीत नेपाल, व्यापारीहरु नारायनी निरौला, मधुसुधन रिजाल, राधीका कोइराला, मोहनप्रसाद रिजाल त्यसैगरी कृषि पेसामै रहेकी निर्मला नेपाल र चार्टर एकाउण्ट (सिए) प्रगती रिजाल मिलेर झापाको अर्जुनधारा–१०, श्रीराम चोकमा पूर्ण बहुआयमिक कृषि उद्योग प्रालि सञ्चालनमा ल्याएका छन् ।
दुई विगाह क्षेत्रफलमा शुरु गरिएको कृषि परियोजनामा हाल ३० वटा ठूला टनेलमा च्याउ खेती गरिएको छ । त्यसैगरी शुरुवाती चरणमा ड्रागन फ्रुट खेती, अग्र्यानिक तरकारी र गड्यौला मल प्रशोधन जस्ता काम शुरु गरिएको छ । थोरै लगानी गरेर साझेदारी (सामुहिक) योजनामा पनि राम्रै आयआर्जन गर्न सकिने अवस्थालाई बुझेर ११ जना शेयरधनीहरुले जनही दुई लाख रुपैयाँका दरले लगानी गरेका छन् । आगामी योजना अनुसार लगानी बढाउँदै जाने सोच रहेको संचालक सदस्य मधुसुधन रिजालले बताए ।
गत छ महिनाअघि जमिन व्यवास्थापन र पूर्वाधार निर्माणको काम शुरु गरिएको थियो । शुरुवातीको छोटो समयमै कृषि उद्योगले राम्रो प्रतिफल दिन थालेको सञ्चालक सदस्य राधिका कोइरालाले बताइन् । अनौपचारिक रुपमा सञ्चालनमा ल्याइएको पूर्व बहुआयमिक कृषि उद्योगको उद्घाटन गरिएको छ ।
कृषि उद्योगका अध्यक्ष मोहनप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले कृषि उद्योगको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राना, अर्जुनधारा–१० का वडाध्यक्ष भोला गौतम, कृषि अर्थ विज्ञ शालिकराम भट्टराई, पशुपन्छी विभागका पूर्व महानिर्देशक डा. प्रलाद सापकोटा लगायतले कृषि पेसा र आवश्यकताको बारेमा धारणा राखेका थिए । कृषि उद्योगका सचिव केशव ढुंगानाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा टीकादेवी रिजालले स्वागत र कार्यक्रम संयोजक जीवन रिजालले सञ्चालन गरेका थिए ।































