झापा ।

झापाको मेचीनगर ६ स्थित काँकडभिट्टामा प्रथम उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता २०७७ बुधबार बाट शूरू भएको छ ।
प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाकि उपमेयर मीना पोख्रेल उप्रेतीले गरेकी थिईन् । मेचीनगर नगरपालिकाको संयोजनमा मिलन क्रिकेट क्लब मेचीनगरले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्मा सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष बिरू श्रेष्ठले जानकारी दिए ।
आज भएको उद्घाटन खेलमा आयोजक मिलन क्रिकेट क्लब विजयी भएको छ । तीनदिने प्रतियोगितामा सुदूरपश्चिम महिला क्रिकेट क्लबलाई ३८ रनले आयोजकले पराजित गरेको छ ।
पहिले टस जितेर व्याटिङ गरेको आयोजकले ६ विकेटको क्षतिमा ११६ रन जोडेको थियो । ११७ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले सबै विकेट गुमाउदै ७९ रनमै सिमित भयो ।

आयोजकको तर्फबाट रोमा थापाले ४३ रन जोडदा, रुविना क्षेत्रिले २३ रन, कविता राजवंशी १४ रन, निङ्मा तामाङले ९ रन जोड्न सफल भए । त्यसैगरी आयोजकको तर्फबाट रुविना क्षेत्रि, निशा साह र एलिसा खडियाले समान २÷२ विकेट लिए ।
सुदूरपश्चिको तर्फबाट कविता कुवरले २७ रन जोडदा रेवती धामीले १५ रन, लक्ष्मी चौधरीले ९ रन जोडेकी थिईन् । त्यसैगरी आयोजकको बिरुद्ध मनीसा चौधरी र सरस्वती चौधरीले समान २÷२ विकेट तथा कविता कुवरले १ विकेट लिएकी थिईन् ।
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रूविना क्षेत्रीको नेतृत्वमा आयोजक मैदानमा उत्रेको थियो । सुदूरपश्चिम महिला क्रिकेट क्लबको नेतृत्व राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य कविता कुवरले गरेकी थिईन् ।
दुवै टिमबाट राष्ट्रिय महिला क्रिकेट टिमका सदस्यहरूले सहभागीता जनाएका छन् । प्रतियोगितामा विजयी टिमले ट्रफी र मेडल प्राप्त गर्नेछन् ।





























