झिलझिलेको वाटर किङडम पार्क सञ्चालन

0
846

झिलझिले ।

झापाको झिलझिलेमा स्थापित वाटर किङडम पार्क संचालनमा आएको छ । बुधबार देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताए ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् । यी सबै आज देखी एकैसाथ संचालनमा आएका छन् ।

बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ। युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ । यसले सबैको मन जितेको छ ।

सञ्चालक संग्रौलाले पार्कभित्र भेज र नन भेजका फरक–फरक होटल सञ्चालन गरेका छन् । यस्तै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरेका छन्। ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ,’ सञ्चालक संग्रौलाले भने।

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइ बन्नेमा संग्रौला आशावादी छन् ।
शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न पाइन्छ। विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन्। ती झाँकीहरू हस्तकलाद्वारा निर्मित हुन्।

३५ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने बताए ।

उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाहिय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पु¥याएर मनोरञ्जन दिलाइने छ।’ यसका अलवा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन् ।

पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here