
विष्णुकुमार भट्टराईले आफ्नो फेसबुक पेजमा आफ्ना नयाँ दुई पुस्तकका कभर पृष्ठ राख्नु भएदेखि नै पुस्तकहरु कहिले पढ्न पाइएला भन्ने लागिरहेको थियो । त्यही बेला २०७७ साल फागुन ८ गते जयन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष बिर्तामोडले आयोजना गरेको कार्यक्रममा ती पुस्तक विमोचन भए । आफू उपस्थित हुन नसके पनि कार्यक्रम सम्बन्धी समाचार अनि कार्यक्रका तस्वीरहरु भने बारम्बार हेरिरहेँ । धन्य छ विज्ञानको विकास जसले गर्दा हामीलाई यो सौभाग्य प्राप्त भएको छ । जसको माध्यमबाट भौगोलिक दूरी भए पनि संसारको जुनसुकै कुनामा भएका सबै विषयका जानकारीहरु घरमा बसी–बसी लिन सकिन्छ । यही सुविधाको सदुपयोग गर्दै पुस्तक विमोचन भएको एक हप्ता पछाडि इ–मेल मार्फत नै मैले विष्णुकुमार भट्टराईका दुई नयाँ पुस्तकहरु पाएँ । पुस्तक प्राप्त हुने बित्तिकै दुईवटै पुस्तकलाई सरसर्ती पढेँ । दुई पुस्तकमध्ये ‘बाँच्ने खेलका हारजीत’ नामक पुस्तकका बारेमा मेरो मनमा लागेका वा भनौं मैले पुस्तक पढिसकेपछि मनन् गरेका कुराहरुलाई सार्वजनिक गर्ने काशिस गरेकी हुँ ।
नेपाली विषयमा चासो राख्ने, भेटेसम्म सबै विषयका किताबहरु पढ्ने अनि विद्यार्थी जीवनदेखि नै जिल्लामा हुने साहित्यिक कार्यक्रममा सहभागी भएर ध्यान दिएर सुन्ने, अनि मौका पाउँदा आफ्ना कविता सुनाउने गरेकी मैले उच्च शिक्षा हासिल गर्ने उद्देश्यका लागि जति लेखेँ त्यति हो । लेखकलाई उनीहरुको पुस्तक पढिदिने, पाठकहरुका सुझाव, सल्लाहले लेखकलाई थप हौसला प्रदान हुन्छ भन्ने कुरामा म अनभिज्ञ भने छैन । त्यसैले किताब पढिसकेपछि केही लेख्ने आँट गरेकी हुँ ।
पुस्तक समिक्षा
विष्णुकुमार भट्टराई झापा जिल्लाको साहित्यिक जमातमा कहलिएको नाम हो । साहित्यप्रतिको प्रेम र निरन्तर लेखनले उनलाई समालोचक, विश्लेषक, निबन्धकार, कवि बनाउँदै साहित्यका विभिन्न विधामा सक्रिय बनाएको पाइन्छ । बाँच्ने खेलका हारजीत पनि उनको निरन्तर लेखनको उपज हो भन्ने कुरामा शंका छैन । यो पुस्तक निबन्ध संग्रहको नाममा बजारमा आएको छ । यो पुस्तकभित्र १४ वटा लेखहरु छन् । तर, निबन्ध संग्रह नाम दिएर पुस्तकाकार भएको यो पुस्तकभित्र भएका लेखहरु निबन्ध हुन् या होइनन् भन्ने विषयमा सोही पुस्तकभित्र कोमलप्रसाद पोखरेलले बाँच्ने खेलका हारजित पाठकीय अभिमत शीर्षकमा लेख्नुभएको छ । यो पुस्तकभित्र भएका लेखहरुलाई आफूले निबन्ध हो वा कथा हो छुट्याउन नसकेर प्रख्यात निबन्धकार मोन्टेगको परिभाषा हेर्नुपरेको । डाक्टर ईश्वर बरालको भनाइलाई राखेर यो निबन्ध नै हो भन्नेमा पुगेको तर पनि निबन्ध हो कि कथा भन्ने छुट्याउनलाई पोखरेलले समालोचक मोहनराज शर्माको समालोचना सिद्धान्त र प्रयोग पल्टाएर हेरेको भन्दै अन्त्यमा यसलाई आत्मकथा हो भन्नुभएको छ । पोखरेलका अनुसार आत्मकथा सत्यमा आधारित स्वअनुभूति हुनु पर्दोरहेछ, जसमा लेखकले इमान्दारीपूर्वक आफ्ना गुण मात्र होइन दोष पनि देखाएको होस् । भट्टराईको प्रस्तुत आत्मकथालाई हेर्दा यसमा आत्मकथामा हुनुपर्ने सबै प्रकारका विशेषताहरु उपस्थित रहेको देखिएको हुनाले उनी सफल आत्मकथाकार ठहरिएका छन् –भनिएको छ ।
वास्तवमा लेखक भट्टराईले आफ्नो जीवन भोगाइका क्रममा आएका सजिला–अप्ठ्यारा घटनाक्रमहरुलाई यथार्थको धरातलमा राखेर यो पुस्तक पाठकहरुका माझमा ल्याएका छन् । पुस्तकमा आफूले भोगेका आफ्नो नितान्त व्यक्तिगत जीवनको चित्रण गर्ने क्रममा आफ्नो जीवनका भोगाइ नभएर धेरै नेपालीले व्यहोर्नुपरेको तत्कालीन समाजको यथार्थ चित्रण हो भन्न सकिन्छ । व्यक्तिले आफ्नो जीवन बाँच्ने क्रममा गर्नुपर्ने संघर्षका कथाहरुको यथार्थपरक, कारुणिक, मार्मिक ब्याख्या त यसमा पाइन्छन् नै साथै व्यक्तिगत इच्छा र चाहनाले मात्र मानिस अगाडि बढ्न सक्दैन । प्रत्येक व्यक्ति सामाजिक संरचनामा आबद्ध छ र सोही समाज अनुसार अघि बढ्न बाध्य हुन्छ । राजनीतिक परिवर्तनले ल्याउने प्रभाव र त्यसको परिणाम, आर्थिक अवस्थाका कारण व्यक्तिगत जीवनमा प्रभाव परेको हुन्छ । समय अनुसार सामाजिक परिवर्तन हुँदै जाने र हामी सबै त्यसको चपेटामा बाँच्न बाध्य छौं भन्ने विषय भट्टराईका निबन्धहरुमा देखाइएको छ ।
यस पुस्तकमा भट्टराईले आफ्नो बाल्यकालदेखि युवावस्थासम्म आइपुग्दा के–कसरी आफ्नो जीवन अघि बढ्योभन्दा पनि कसरी विद्यालय शिक्षा हासिल गरेँ ? कसरी क्याम्पसको पढाइ पूरा गरेँ ? अनि कसरी आफ्नो कार्यक्षेत्रलाई अघि बढाएँ ? भन्ने कुराको ययार्थ चित्रण गरेका छन् । आफूले शिक्षा प्राप्तिका लागि व्यहोरेका कष्टपूर्ण जीवन भोगाइका विषयवस्तुका साथ शिक्षण पेशामा रहेका बेलामा गरेका कामहरु अनि अप्रत्याशितरुपमा पाएको अवकाशको समेत चर्चा गरेका छन् । वर्तमान समयमा शिक्षाप्रति सर्वसाधारणले गरेको लगानी र त्यसको प्रतिफल अनि आफ्ना पुर्खाको शिक्षाप्रतिको धारणामा प्रष्ट भिन्नता छ भन्ने भट्टराईको कथन छ । भट्टराईका आत्मपरक निबन्धहरुमा उनका बाबु, हजुरबाबुहरुको जीविकोपार्जनको विषयवस्तु, बदलिँदो राजनीतिक अवस्थाको चपेटामा बाँच्नुपरेको अवस्था, शिक्षाका लागि उहाँहरुले गर्नुभएको लगानी, आफूले बाल्यकालमा शिक्षा प्राप्त गर्नका लागि भोग्नुपरेका समस्या, घरको कमजोर आर्थिक अवस्था र त्यसको मुख्यकारण पारिवारिक संख्या रहेको उल्लेख गरेका छन् । खेती बाहेक आम्दानीको अर्को स्रोत नभएको पहाडी जीवन बाँच्न बाध्य परिवेश, छोराछोरी पढाउन मन भए पनि सबैको पहुँच नपुग्नु आदि विषयवस्तु पुस्तकमा समावेश भएका छन् ।
तत्कालीन सामाजिक संरचनामा शिक्षाप्रेमी केही व्यक्तित्वहरुले शिक्षा हासिल गरेपछि पाउने मानसम्मान रोजगारीको अवसर र त्यसले ल्याउने आर्थिक सम्पन्नताको सुन्दर सपना साकार पार्नलाई, आफ्ना सन्तान दरसन्तानको सुन्दर भविष्यको कामना गर्दै चरम आर्थिक संकटका बाबजुद आफ्नो गाँस काटेर आफ्नै अग्रसरतामा स्थापना गरेका विद्यालय भवनहरुको भौतिक अवस्था साथै यहाँ पढाउने शिक्षकहरुको अभाव अनि उनीहरुको शैक्षिक योग्यता आदि विषयवस्तु समेटिएका यी लेखनमा तत्कालीन समाजको चित्र छ । उत्कृष्ट लेखनशैलीका कारण लेखकले आफ्नो बाल्यकाल तथा युवावस्थामा आफूले भोगेका घटना जस्ताको तस्तै उल्लेख गरेको भए पनि त्यसमा बाल मनोविज्ञान र युवा मनको अत्यन्त मार्मिक ढंगले चित्रण भएको पाइन्छ ।
शिक्षा लिन भनेर स्कूल गएका केटाकेटी आफ्नो पाठ बुझाउन नसक्दा गुरुबाट पाइने दण्ड खप्न नसकेर स्कूल नै नगइकन दिन बिताउने साथै अञ्चलाधीश जस्तो ठूलो व्यक्तिले कस्तो दिसा गर्छ भन्दै पाइखानामा हेर्न जाने बालमनोसुलभ स्वभाव र जिज्ञासाको चित्रण यसमा अत्यन्त मार्मिकरुपमा उठान गरिएको छ । विविध समस्याका बाबजुद प्रवेशिका पास गरिसकेपछि अरु पढ्ने इच्छा हुँदाहुँदै उच्च शिक्षा लिन नपाएको अवस्थामा भनौं या क्याम्पस पढ्न नपाउँदाको अवस्थामा युवावस्थाको व्यक्तिमा आउने विचलन, मानसिक पीडाको विश्लेषण पुस्तकमा प्रभावकारी रुपमा वर्णन गरिएको छ । आफ्ना जीवनमा आइपरेका दुःख–सुखका क्षणहरुमा आइए निःशुल्क पढ्न पाएको खुशीयाली अनि चरम आर्थिक अभावका कारण मकैको भात खान मन नलागेर अरुको बारीको हरियो मकै चोरेर खाएको, धानको भात खाने रहरले पुरेत्याइँ गरेको, भोको पेटले दुःख नदेखाओस् भनेर मुखमा निमपत्ती हालेर कलेज जाने गरेको प्रसंग उल्लेख गरेर आर्थिक विपन्नतालाई सहजरुपमा प्रस्तुत गरेका छन् । आइएको परीक्षा दिनलाई विराटनगर आउँदा पहिलोपटक मधेस देख्न पाएको भए पनि आफ्नो पढाइमा पाएको सफलताले पढ्न हौसला प्रदान गरेको प्रसंग उत्प्रेरक छन् । त्यसपछि बीएड पढ्न आतुर भएका लेखकको मनोविज्ञानमा जति नै हारगुहार गर्दा पनि, कानूनी रुपमा अधिकार रहँदारहँदै पनि शिक्षा अधिकारीले कुरा नबुझिकन दिएको चिठी चुपचाप समातेर शारीरिकरुपमा अशक्त भएको व्यक्तिको दुर्बलताको फाइदा उठाउँदै काठमाडौं पढ्न गएको कुरा नलुकाईकन प्रस्तुत गरेर लेखकीय धर्म निर्वाह गरेका छन् उनले ।
विद्यालय जाँदा–आउँदा होस् वा इलाम कलेज पढ्न जाँदा–आउँदा लामो पैदल दूरीका कारण जीवनका महत्वपूर्ण समय यात्रामा खर्च गरे र पूर्वी पहाडबाट काठमाडौं जानको लागि पश्चिम जानुपर्नेमा उनी दार्जिलिङ शिलगढी हुँदै विराटनगरसम्म गए, जुन उनको बाध्यता थियो । बाटो प्रयोग गर्दा पाएको दुःख उनको मात्र थिएन, यो त नेपालीको दुःख थियो । यसैगरी नौलो शहरमा, नयाँ परिवेशमा, नितान्त एक्लो, बिना खर्च बाँच्नुपर्दाको पीडा अनि एकमुष्ट पैतींस सय हातमा पहिलोपटक परेपछि घरमा बाबुले गरेको दुःख, साहुका अगाडि आमाले गरेका याचना सम्झेर भावुक हुँदै सबै ऋण तिर्न सके पाइने शान्तिको अनुभव पुस्तकमा छ । घर छोडेर टाढा पुगेकाहरुको मानसिक अवस्था, आफूभन्दा सानाको अगाडि आफूलाई सानो देखाउन नचाहने मानवीय स्वभाव, क्याम्पस पुग्न सक्छु भनेर बाटामा हराएको प्रसंग अनि साथीको संगतले व्यक्तिमा पर्ने प्रभावको सूक्ष्म चित्रण छ पुस्तकमा । क्याम्पसको चुनावमा सहसचिव पद पाएको प्रसंग अत्यन्त मार्मिक रुपमा प्रस्तुत गरेका छन्– उनले ।
विभिन्न आरोह–अवरोह पार गर्दै झापाको धुलाबारीमा आएर शिक्षण पेशामा आबद्ध भएको, आफ्नो नाम ‘मोबिस’ बनाएको, हेडसरको घरको बसाइ त्यागेर आफ्नै गाउँको एक चेलीको घरमा बसेको, फुर्सदमा विद्यार्थीका घर पुग्ने गरेको, आफूले पाठ्यक्रम समेत पूरा पढ्न नपाइकन परीक्षा दिनु परेको पीडा सम्झेर विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान आवश्यक हुन्छ र शिक्षकले सकेसम्म विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा लगाउनुपर्छ भन्ने मान्यताले आफ्नै अग्रसरतामा विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लगेको, शिलगढीमा बसेर दुःखका साथ धारो पत्रिका प्रकाशन गरेको, निःस्वार्थ काम गर्दा पनि साथीभाइले सोझोपनको फाइदा उठाएका प्रसंग, सहयोगीको मनका कारण धुलाबारीमा घरखेत जोडेको साथै आफ्ना काममा निरन्तर लागीरहेका बेला अवकाश प्राप्त गरेसम्मका घटनाक्रमहरुलाई लेखकले आफ्ना निबन्धहरुमा यथार्थपरकरुपमा प्रस्तुत गरेका छन् ।
समग्रमा भन्नुपर्दा भट्टराईको यो पुस्तक अतीत र वर्तमानको बीचमा पुल बनेर रहेको छ । नयाँपुस्ताले आफ्ना पुर्खाले गरेको परिश्रम र दुःखकष्टको बारेमा जान्ने सौभाग्य प्राप्त गरेको छ । समयसँगै प्रविधिको विकासले नयाँ पुस्ताहरुमा नयाँ–नयाँ कुराहरुमा मात्र चासो राख्ने वातावरण सिर्जना भइरहेको वर्तमान समयमा यो पुस्तक पढ्ने जो कोही पाठकलाई पनि आजभन्दा ५०, ६० वर्ष अगाडिको सामाजिक संरचना, राजनीतिक अवस्था अनि त्यसमा आएका परिवर्तनले व्यक्ति अनि समाजमा परेका असरहरुका साथ एउटा सिंगो परिवारलाई विपन्न आर्थिक अवस्थामा पनि साहसपूर्ण तरिकाले अगाडि बढाउन सक्ने पुर्खाहरुको सम्झना गराइदिन्छ । पुराना कुराहरु लेखनमा सीमित भएर पुस्तकाकार स्वरुपमा आउनु भनेको भविष्यका पुस्ताका लागि इतिहासको दरो प्रमाण हुनु हो । सयौं वर्ष पछाडि कसैले अगाडिको पुस्ताको बारेमा जान्न चाहेमा या तत्कालीन समाजको सामाजिक संरचना, भौतिक पूर्वाधार, राजनीतिक तथा आर्थिक अवस्थाको यथार्थ खोज्ने प्रयास गरेमा यो पुस्तक दह्रो ऐतिहासिक दस्तावेज बन्ने कुरामा दुईमत छैन ।
विभिन्न शीर्षक राखेर लेखिएको यो पुस्तक आफ्नो जीवनका महत्वपूर्ण समयको बारेमा पाठकहरुलाई जानकारी गराउन सक्षम छ । भट्टराईको जीवनको बारेमा धेरै कुरा बुझ्न पाइने पुस्तकमा भएका लेखहरुमा उनका बाबुबाजेको सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था, उनीहरुको शिक्षाका लागि गरेको समर्पण साथै देशको अस्थिर राजनीतिक अवस्था र त्यसले ग्रामीण समाजमा पारेको प्रभावलाई खुलेर प्रस्तुत गरेका छन् । ग्रामीण समाजमा राजनीतिक परिवर्तनले निम्त्याउने कष्टकर जीवनशैली व्यहोरिरहेका आफ्ना बाबुले कमजोर आर्थिक अवस्थाका बाबजुद उपलब्ध गराउनुभएको समयले गर्दा मात्र आफूले पढ्न पाएको, भाग्यले साथ दिएर निःशुल्क पढ्न पाएको आफ्नो मेहनतले सफलता हासिल गरे पनि आफूले पाएका सफलताको सम्पूर्ण श्रेय आफ्ना बाबुलाई दिँदै लेखकले आफ्ना लेखमा अग्रजलाई सम्मान प्रकट गरेका छन् । यसरी मसिनो गरी आफ्नो जीवनमा घटेका घटनालाई पाठकको अभिरुची बढ्ने गरी उल्लेख गरे पनि लेखकका बारेमा पूर्णरुपमा जान्न चाहने म जस्ता पाठकहरुका लागि भने यो पुस्तक अधुरो छ ।
यो पुस्तक पढिसकेपछि लेखकका बारेमा पूूर्णरुपमा जानकारी प्राप्त हुनुको साटो पाठकहरुमा अझ बढी कौतुहलता उत्पन्न हुन्छ । पाठकका दिमागमा अनेकौं प्रश्नहरु खडा हुन्छन् । जस्तै लेखकले पढ्नलाई कीर्तिपुर गएका बेला पुलिसको तालिम लिएको उल्लेख गरेका छन् । यसका अतिरिक्त उनले पढाइ बाहेक अरु कुनै पनि काम खोजी गरेका देखिँदैन । पढाइ सकेपछि फर्केर आउने उनको गाउँघरको परिवेशसँग उनी पूर्ण परिचित थिए । यस्तो अवस्थामा उनलाई फेरि गाउँ फर्केर आउनको साटो कुनै काम गरेर शहरमा नै बसौं भन्ने इच्छा भएन ? शहरमा बस्ने इच्छा थिएन भनौं भने उनकै भनाइमा उनले काठमाडौं आएपछि गाउँले परिवेशको पहिरन छोडेर पतलुन लगाउन थालेको, नयाँ घडी, जुत्ता किनेको उल्लेख गरेका छन् । यसबाट उनले शहरलाई मन पराउन थालेको ठहर हुँदैछ ? फेरि पढ्न काठमाडौं आउनै पर्ने भन्ने थाह पाएर पनि काठमाडौंलाई छोडेको प्रसंगमा उनले काठमाडौं बस्नका लागि पक्कै पनि निकै प्रयास गरेको हुनुपर्छ । तर, पाठकहरुका सामु त्यो भन्न नचाहेको हो कि झैं लाग्छ ।
त्यसैगरी काम गर्दै गुजारा चलाइरहेको एउटा शिक्षकले उसको इच्छा विपरीत अवकाश पाएको छ । शिक्षण पेशामा रहेर आफ्नो जीवन निर्वाह गरिरहेको एउटा शिक्षकले बिना कुनै अपराध अप्रत्याशित रुपमा पाएको अवकाशले उसको मानसिक अवस्था कस्तो भयो होला ? अवकाशपछिको उसको जीवन कसरी अगाडि बढ्यो ? अवकाशपछिको उसको जीवन कसरी अगाडि बढ्यो ? भन्ने प्रश्न मुख्य रुपमा देखापर्छ । धुलाबारीले अवकाश दिएपछि धनकुटा लगेर त्यहीं जागिरमा म लाग्नु उहाँकै कारण हो भन्ने एउटा वाक्य ‘मोहिनी विलाससँग’ भन्ने शीर्षकमा पढ्न पाइन्छ । तर, यो कसरी सम्भव भयो ? व्यक्ति स्वयम्को इच्छाविरुद्ध सरकारले दिएको अवकाश कसरी फिर्ता पाइयो ? भन्ने प्रश्नको उत्तर पाठकहरुका लागि कौतुहलताको विषय भएर रहेको छ ।
धुलाबारीमा काम गरिरहेको समयमा लुइँटेल परिवारको साथ पाएर जोडेको घरखेत अनि त्यो घरलाई पूर्ण बनाउन चाहिने सम्पूर्ण सामानहरु आफ्नै माइलो दाजुलाई बिनाशर्त छोडिदिएको र अहिलेसम्म पनि त्यो घरखेत जोड्न सकेकोमा गौरव महशुस भइरहेको छ उनलाई । सुविधा चाहिने बेलामा राजमार्गसँग जोडिएको त्यो ठाउँ र अहिले बसेको राजमार्गबाट दुई–तीन किलोमिटर हिँडेर पुगिने ठाउँबीच भिन्नता छ भन्ने उल्लेख गरिएको भए पनि उनको पारिवारिक तथा व्यावहारिक जीवनको वर्णन कतै पनि पाइँदैन । आफूले दुःखका साथ जोडेको सम्पूर्ण घरबार दाजुलाई छोडिदिएपछि उनी आफू कहाँ गए ? कामबाट अवकाश पाएर वेरोजगार भएको व्यक्तिलाई कसले सहयोग ग¥यो ? उनले आफ्नो परिवारको लागि भनेर कहिलेदेखि घरबारको व्यवस्था गरे ? उनको विवाह भएको भन्ने एउटा वाक्य बाहेक उनको वैवाहिक जीवन अवस्था, उनकी जीवनसंगिनीसँगको सहकार्य अनि छोराछोरीको विषयमा कतै पनि उल्लेख भएको पाइँदैन । अत्यन्त दुःखका साथ प्राथमिकता शिक्षा हासिल गरेका लेखकले आफ्ना सनतानलाई शिक्षा दिने बेलासम्ममा सर्वसाधारणका लागि शिक्षामा पहुँच कस्तो थियो भन्ने विषयमा पनि प्रश्नमा नै सीमित छ । लेखकले आफ्नो व्यवहारिक जीवनको बारेमा उल्लेख गरेको यो पुस्तकले उनको जीवनको एउटा पाटो माथि मात्र प्रकाश पार्न सफल भएको देखिन्छ ।
सामान्य पाठकका रुपमा मेरो मनभित्र रहेका यी प्रश्नहरुको उत्तरसहित सम्पूर्ण विवरणहरु समेटिएको नयाँ पुस्तक लेखकले चाँडै प्रकाशित गरेर पाठकका अधुरा प्रश्नहरुले पूर्णता प्राप्त गर्नेछन् भन्ने आशाका साथमा मेरा नितान्त व्यक्तिगत विचारहरु लेखकका सामुन्ने पु¥याउन चाहन्छु ।



























