दुःख पाइस् मंगले आफ्नै ढंगले

0
939

कारण :

छँदाखाँदाको पद र सम्मानको इज्जत गरेर जनअभिमतको कदर नगर्दा अहिले एमालेका नेताहरु कष्टसाध्य राजनीतिक जीवन धानिरहेका छन् । नेकपा हुँदाको सम्मान र इज्जत अहिले धुलीसात भएको छ । माओवादी केन्द्र र एमालेलाई ऋषिराम कट्टेलको रिटले पुनरमुषिको भवःको अवस्थामा पु¥याएको छ र त्यो संस्कृत उक्तिलाई पुष्टि गरेको छ ।

ऋषिरामलाई हेपेर उही नाममा आफ्नो पार्टी बनाएर निर्वाचन आयोगलाई पनि प्रभावमा पारेर लिएको नाम अहिले सर्वोच्चले खारेज गरिदिएपछि उनीहरु एकीकृतभन्दा अघिको अवस्थामा पुगेका छन् । यसैलाई पंक्तिकारले पुनरमुषिको भवः भनेको हो अर्थात् फेरि मुसा बनिजा भन्ने यस उक्तिको सोझो अर्थ हो । यस उक्तिको लाक्षणिक अर्थ फरक छ । यो बुझ्न अलिकति कथा जान्नै पर्छ ।

कथा चर्चा :

प्राचीनकालको कुरा हो । एक जना पहुँचे हुए ऋषि कुटिमा तपस्या गर्ने, पूजा पाठ गर्ने, शिष्यहरुलाई शिक्षा दिने, आयुर्वेदिक औषधिमूलोको अनुसन्धान र प्रयोग अनि विरामीहरुलाई निःशुल्क उपचार गरेर आफ्नो दिनचर्या बिताइरहेका थिए । उनले पूजा गर्ने स्थानमा हरेक दिनजसो आएर एउटा सानो मुसो चढाएको प्रसादको पनि रहलपहल खाने गथ्र्यो । सधैं यसरी रहलपहल प्रसाद खान आउने मुसाको जीवन देखेर ऋषिलाई दया लागेर आएछ । अनि उनले आफ्नो तपोवलको प्रयोग गरी मुसालाई बिरालो बनाई दिए । बिरालोलाई बाहिर निस्कने बित्तिकै कुकुरले दुःख दिन थाले । यो देखेपछि ऋषिले त्यो विरालोरुपी मुसालाई बाघ बनाई दिए । अब बाघ बनाई दिएपछि ऋषिले सोचे अब कसैले पनि उसलाई दुःख दिन सक्तैन ।

तर, बाघ भएको मुसाले ऋषिलाई नै शिकार गर्ने विचार गरेर आक्रमण गर्न तम्सियो । तब ऋषिले त्यस बाघरुपी मुसोलाई पुनरमुषिको भवः भनेर मन्त्र जपेर पानी छर्कने बित्तिकै त्यो बाघ पहिले झैं डुहुरे मुसोमा परिणत भयो अनि चि..चि.. गर्दै दुलोभित्र पस्यो ।

यस संस्कृत उक्तिले अहिले नेकपालाई पहिले कै एमाले र माओवादी केन्द्रमै पु¥याएको अवस्थाको चित्रण गर्छ भन्ने विश्लेषण किन नगर्ने ? सर्वोच्चले मुसो बनाएको देखिए पनि त्यसको पृष्ठभूमि नेकपा हुने अहम् भएका नेताकै कारण थियो । उनीहरुले अर्को नेकपा छ भन्ने थाहा पाएर पनि पेलेर लान्छु भन्ने सोचले आफ्नो पार्टीको नाम पनि नेकपा नै राखेका थिए । तर, पेल्ने अवस्था सधैं एकनास रहँदैन । अहिले भएको त्यही हो ।

अवस्था :

नेकपाका नेताहरु जनमत पाएर बाघ भएका थिए । उनीहरुले सोचे हामी सबैलाई शिकार गर्न सक्छौं । तर, त्यसका शीर्ष नेता जो आफूलाई बाघ ठान्थे उनीहरु एक आपसमा बाझाबाझ गर्न थाले । उनीहरुले जनमत पाएर हामी ठूला भएका हौं र ठालु भयौं भन्ने ठाने । तर, के बुझेनन् भने सामन्त युग गइसकेको नेपालमा ठालु हुन खोज्दा सडकमै पुगिन्छ भन्ने ख्यालै नगरी उनीहरुको लडाइँ विशाल महाभारत बन्न पुग्यो । तब उनीहरुलाई जनतारुपी ऋृषिको श्राप लाग्यो । अनि उनीहरु पहिलेकै अवस्थामा पुगे । दुई तिहाई नजिकको अवस्था त सिद्धियो नै, बहुमत पनि पुग्ने अवस्था छैन । अब उनीहरु दयाका पात्र भएका छन् । दिने अवस्थाबाट उनीहरु अरु दलसँग माग्ने अवस्थामा पुगेका छन् ।

हिजोका बाघ भएका ओली अहिले जसपासँग माग्ने अवस्थामा पुगेका छन् । हिजो सत्तो सराप गरेर नथाक्ने ओली अहिले तिनै नेतालाई बोलाएर फकाउने अवस्थामा पुगेका छन् । उनले आफ्ना कट्टर विरोधी नेपाललाई बोलाएर फकाउने प्रयास शुरु गरेका छन् भने प्रचण्डसँग पनि कुरा गर्ने समय मागेका छन् । तर, यो आलेख तयार पार्दासम्म उनले समय पाएका थिएनन् (यो आलेख २०७७ साल चैत ३ गते बिहान तयार पारिएको हो ) ।

नैतिक राजनीति नगरेर आफूलाई ठालु ठानेर हुँकार गर्ने ओलीको मुख चाउरिने थालेको छ । आफ्नै साथीहरुलाई दुत्कार्ने ओलीको स्वरुप बदलिएको छ । अनि ओलीलाई अराजक, नैतिकता नभएको, तानाशाह भनेर आरोप लगाउने नेपाल खनालहरु उनले बोलाउने बित्तिकै लुरुक्क भेटघाटमा जाने अवस्थामा पुगेका छन् । कसको पक्षमा आम कार्यकर्ता र जनता छन् भन्ने जान्न निर्वाचनमा जानै पर्ने हुन्छ । तर, अबको निर्वाचनमा फेरि जितेर आउने अवस्थाको ग्यारेन्टी छैन । तब उनीहरु अतालिएका छन् ।

यही अवस्थालाई दुई बर्ष लान पाए त्यसबीचमा जनता र कार्यकर्तालाई फकाउने मौका पाइन्छ कि भनेर सांसद पद जोगाउने पक्षमा लागेका छन् । त्यसैले उनीहरु आम कार्यकर्ता र शुभेच्छुकको भावना बमोजिम भन्दै फेरि एमालेलाई एक ढिक्का बनाउन सकिन्छ कि भनेर अन्तिम प्रयास गरिरहेका छन् । यो नराम्रो कुरा भने पटक्कै होइन । राम्रो कुरा हो । समय घर्किन लागे पनि घर्किसकेको छैन ।

तर, एमालेको पनि खनाल नेपाल, आफ्ना पक्षका नेता बटुलेर भेला आयोजना गर्ने पक्षमा गएको छ भने ओली पक्ष उनीहरुलाई फकाउन लागेको छ । अर्कातिर नेता गौतम अझै पनि एमाले दुई भाग नबनोस् भनेर लागे पनि ओली प्रवृत्तिबाट उनी पनि आजित भएको अवस्था छ । त्यसैले दुबै पक्षका अगाडि दिल्ली नजिक छैन । चेतना भया ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here