झापाका ४०१ जनामा हात्तीपाइले: चैत २० गतेदेखि हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन कार्यक्रम

0
1362

झापा।

सरकारले हात्तीपाइले रोग निवारणमा विशेष कार्यक्रम सञ्चालन गरे पनि झापामा अझै हात्ती पाइले रोगीको संख्या चार सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार हात्ती पाइलेका कारण हाइड्रोशिल भएका मात्रै ३ सय १ जना रोगी छन् । त्यस्तै खुट्टा सुन्निएका ११२ जना र हात र स्तन सुन्निएकाहरुको संख्या ९३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिए ।

विशेषगरी भारतसंग सीमाना जोडिएका पालिकाहरुमा संक्रमितको संख्या धेरै छ– उनले भने – सरकारले हात्ती पाइले रोग निवारणका लागि विशेष कार्यक्रम सञ्चालन गरे पनि झापामा हात्तीपाइले रोग पूर्ण रुपमा निवारण हुन सकेको छैन । यस वर्ष पनि केन्द्रीय कार्यक्रम अनुसार हात्तीपाइले रोग निवारणका लागि कार्यक्रम सञ्चालन हुँदैछ– चम्लागाँईले भने ।

हात्तीपाइले(फाईलेरिया) रोग मानिसलाई नराम्रोगरी शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट संक्रमण भएपछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । संक्रमण गराउने यस्ता परजिबी तीन प्रकारका हुन्छन्– चम्लगाँईले भने – लामखुट्टेको टोकाइवाट लाग्ने हात्तीपाइलेमा उचेरेरिया वान्क्रोटी ९० प्रतिशत, व्रुजिया मालायी र वु्रजिया टिमोरी १० प्रतिशत संक्रमण हुन्छ । नेपालमा हात्तीपाइले रोग उचेरेरिया, बाँन्क्रोटी नामकोपरजिवीद्वारा मात्र लाग्ने गरेको पाइएको छ ।

हात्ती पाइले रोग निवारणका लागि सरकारले हात्तीपाइले रोगको प्रकोप देखापरेका झापासहितका ६१ वटा जिल्लाहरु र शंकास्पद हात्तीपाइले रोगीहरुको रिपोर्टिङ भैराखेका केही जिल्लाहरुमा रहेका सबैजसो सरकारी अस्पतालहरुबाट निःशुल्क हाइड्रोशिल अपे्रशन सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७२÷०७३ बाट अभियानको रुपमा शुरुवात गरिएको यो कार्यक्रम यस वर्ष पनि कायमै रहेको छ, जसमा सबैजसो हाइड्रोशिल बिरामीहरुको निःशुल्क अपे्रशन गरिँदै आएको बताइएको छ ।

हात्तीपाइले रोग निवारणका लागि जिल्ला स्तरमा रहेका स्वास्थ्य सम्बन्धी कार्य सञ्चालन गरिरहेका गैरसरकारी संघ–संस्था, प्राइभेट अस्पताल तथा नर्सिङहोमहरु, सरकारी अस्पतालका प्रतिनिधि, प्राथमिक स्वास्थ्य केन्द्र र हेल्थपोष्ट प्रमुख (अनिबार्य उपस्थिति), गापा र नपाका पदाधिकारीहरु, स्वास्थ्य र शिक्षा शाखाका संयोजक र सह संयोजकहरु, लेखा, स्टोर र प्रशासनका कर्मचारीहरु र जिल्ला सदरमुकाममा भएको स्थानीय तहमा जिल्ला स्वास्थ्य फिल्ड कार्यालयका प्रमुख लगायत कम्तीमा २० जना सम्म सहभागी रहने गरी एक दिन विगतमा एमडीए सञ्चालन गर्दाको समीक्षा गर्दै आएको छ ।

यसैबीच चैत २० गतेदेखि सञ्चालन हुन लागेको हात्तीपाइलेबिरुद्धको आमऔषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन झापाको भद्रपुरमा प्रचारात्मक अभियान शुरु गरिएको छ ।

हात्तीपाइले रोग निवारणका आमऔषधि सेवन कार्यलाई प्रभावकारी र फलदायी बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले मंगलबार नगरस्तरीय योजना तर्जुमा गोष्ठी तथा अभिमुखीकरण सम्पन्न गरेको छ । नगर स्वास्थ्य शाखाको आयोजनामा नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम्सेविका तथा स्थानीय संघ–संस्थाका प्रतिनिधिहरुको सहभागितामा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले आमऔषधि सेवन कार्यक्रम सफल बनाउन सबै पक्षले सहयोग पुर्याउनुपर्ने बताए । उनले विगतमा विभिन्न भ्रमका कारण राज्यले प्रक्षेपण गरेको लक्ष्य पूरा गर्न नसकिएको बताउँदै सबैले ढुक्कसँग औषधि सेवन गर्ने वातावरण बनाउन यसका सकारात्मक पक्षहरुका बारे सर्वसाधारणमा चेतना फैलाउनुपर्नेमा जोड दिए । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन चम्लागाँईले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाका मनोज भट्टराईले गरेका थिए । भद्रपुरमा ५८ हजार ६०४ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको उनले बताए ।

क्युलेक्स जातको पोथी लामखुट्टेले हात्तीपाइले गराउने गर्दछ । नेपालमा सन् २०१२देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन गरिएको हो । वर्षमा एकपटक गरी लगातार पाँच वर्षसम्म डीइसी र एडबन्डाजोल नाम औषधि सेवन गर्दा होत्तीपाइलेको संक्रमणबाट जोगिने स्वास्थ्यकर्मीहरु बताउँछन् । भद्रपुर नगर स्वास्थ्य शाखाले अब वडा तथा टोलस्तरमा र स्वास्थ्यर्मीहरुका लागि अभिमुखीकरण सञ्चालन गर्ने भट्टराईले जानकारी दिए ।

उपप्रमुख चन्द्रा श्रेष्ठसमेतको उपस्थिति रहेको नगरस्तरीय अभिमुखीकरणमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराई, नेपाली कांग्रेस ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेललगायतले टोलस्तरसम्म चेतनामूलक अभियानमार्फत जनमानसमा कार्यक्रमको महत्व बारे विश्वस्त तुल्याउनुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here