घुर्बिसे पञ्चमी–सप्तमी–रविबजार लगायतका क्षेत्रमा ट्राफिक नियममा कडाई

0
947

युद्धबहादुर बोहोरा,
पाँचथर ।

 

इलाम र पाँचथरको सिमाना राँके(रवि सडक अन्तर्गतका घुर्बिसे पञ्चमी–सप्तमी–रविबजार लगायतका क्षेत्रहरुमा चैत महिना देखि ट्राफिक नियममा कडाई गर्न थालिएको छ ।

गत केहि महिना अघिदेखि पहाडी क्षेत्रका ग्रामीण बस्तिहरुमा विभिन्न ठाँउबाट चोरीका अबैध मोटरसाइकल भित्रिएको र केहि पक्राउ परिसकेका कारण थप निगरानी गर्न र ब्लु बुक, लाइसेन्स, हेल्मेट बिना, मापासे गरी नियम विपरीत लापरबाही चलाउनेलाई कार्वाही गर्न शुरु गरिएको इलाका प्रहरी कार्यालय रविबाट खटिएका ट्राफिक प्रहरी कमल राज लिम्बूले जानकारी दिए ।

नियम विपरीत सवारी चलाएमा दुर्घटना हुन सक्ने खतरा र यात्रु सुरक्षालाई मध्यनजर गर्दै यसको न्यूनीकरण गर्न उक्त अभियान शुरु गरिएको उनले बताए । प्रहरी चौकी फाक्तेपको सहकार्यमा प्रहरी नायब निरीक्षक गंगाबहादुर राई सहितको टोलिले चैतदेखि यस क्षेत्रमा नियमित तथा छड्के चेकिङ्ग गर्न थालिएको हो।

आगामी दिनमा जनचेतना मुलुक कार्यक्रम संचालन गर्दै व्यवस्थितरूपमा निरन्तर चेक जाँच गरि चालक तथा यात्रुको हितमा काम गरिने हुँदा सरोकारवाला सबैले नियम पालन गर्न अनुरोध गरिएको प्रहरी चौकी फाक्तेपका इन्चार्ज रामनारायण माझीले बताएका छन् ।

ट्राफिक नियम उलंघन गरी जबर्जस्ती सवारी चलाएमा तोकिएको कानुन अनुसार गरिवाना गरिने बताइएको छ । पहाडी क्षेत्रमा रहेको यो सडक हुँदै हाल यासोक, रवि, इलाम, फिदिम, विर्तामोडमा दिनहुँ ट्रक, बस, ट्याक्टर, ट्याक्सी, पिकअप, अटो तथा मोटरसाइकल लगायत सयौं सवारी साधन आवातजावत गर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here