
पानी पर्नु, बादल लाग्नु, हुस्सु लाग्नु, हुरिबतास चल्नु, गर्मी हुनु, हिउँदमा जाडो हुनु आदिलाई मौसमी अवस्थाको परिवर्तन भनिन्छ । यस्तो मौसममा हुने परिवर्तन छोटो–छोटो समयमा भइरहेको हुन्छ । एकै दिनमा समेत अलग–अलग मौसमको अनुभव गर्न सकिन्छ । मौसमको सालाखाला अवस्थालाई जलवायु भनिन्छ । प्राकृतिक रुपमा पनि जलवायुमा परिवर्तन हुन्छ । लगभग तीस बर्षको अवधिमा देखिने गरेको समग्र मौसमको औसत अवस्थालाई जलवायु भनिन्छ ।
लामो समयान्तरमा जलवायुमा आएको परिवर्तनको अवस्थालाई जलवायु परिवर्तन भन्न सकिन्छ । प्राकृतिकभन्दा पनि अधिक मानवीय कारणहरुले जलवायु परिवर्तनको दरलाई प्रभावित पारिरहेको हुन्छ । त्यसकारण अहिले आएर छोटोे समयसीमाभित्र नै जलवायुमा परिवर्तन हुने अवस्था सृजना भएको छ । यो अत्यन्त गम्भीर अवस्था हो । किनभने जलवायु परिवर्तनको कारण जे–जस्तो भए पनि असरहरु भने विश्वव्यापी हुन्छन् ।
अहिले देखापरेका विभिन्न वातावरणीय जोखिम तथा परिवर्तनहरु जलवायु परिवर्तनले हो वा होइन भन्नेबारे धेरैखाले भ्रम समेत उब्जन थालेको देखिन्छ । अनुसन्धानबिना नै जेसुकै कुरालाई जलवायु परिवर्तनको असर भन्ने चलन समेत चल्न थालेको छ । निश्चितरूपमा यसका असर बहुआयामिक प्रकारका हुन्छन् । प्राथमिक एवम् द्वितीय प्रकारका असरबारे जानकारी समेत नहुनुले भ्रमित बनाउन मद्दत गरेको देखिन्छ । यस आलेखमा अहिले विश्वव्यापी बन्दै गएको वन डढेलो जलवायु परिवर्तन कै कारणले हो भन्ने केही प्रमाणहरुलाई उजागर गर्न खोजिएको छ ।
जलवायु परिवर्तनको असर अन्य स्थानहरु भन्दा हिमाली क्षेत्रमा व्यापक देखिएको छ । तापक्रमको वृद्धि पर्वतीय मुलुकहरूमा मै बढी छ । यसपालीको हिउँदमा नेपालका सेता हिमालहरुलाई आगोका राता ज्वालाका लप्काले छोपे । पृथ्वीको तेस्रो ध्रुव तथा पानीको भण्डार भनेर चिनिने हिमाली क्षेत्र अहिले जलवायु परिवर्तनको चपेटामा परेको छ । जलवायु परिवर्तनको कारण यतिबेलाको हिउँदमा लामो खडेरी हुन थालेको छ । सुक्खा खडेरीका कारण जङ्गल पनि सुक्खा बन्न पुग्दछ । जङ्गलमा रहेका फ्रुटिकोस तथा फोलिओज झ्याउहरुले बतास चलेको बेलामा सजिलै आगो सल्काउन मद्दत गर्दछन् । खोटे सल्लो अर्को आगो सल्केपछि हत्तपत्त निभ्न नदिने वनस्पति हो । यो वनस्पति नेपालको भित्री मधेस, पहाड तथा निम्न हिमाली प्रदेशसम्म उपलब्ध छ । अन्य आगोसँग सम्वेदनशील वनस्पतिको या मानवीय त्रुटीका कारण आगलागी हुनसक्छ ।
यसपटक हामीले धेरै डढेलोका खबरहरु सुन्नुपरेको छ । यसपाली पूर्वी पहाडको ताप्लेजुङका कतिपय स्थानहरुमा वन डढेलो लागेको सुनिरहेका छौं । पाथीभरा मन्दिर परिसरमा लागेको वन डढेलोको नियन्त्रण निकै चुनौतिपूर्ण भयो । ताप्लेजुङका खेबाङ पेदाङ जस्ता स्थानहरुका मानिसहरू आ–आफ्ना घरहरू जोगाउन पनि निक्कै कसरत गर्नुप¥यो । त्यस्तै देशका मनाङ लगायतका स्थानहरूमा समेत यस्ता घटनाहरु सुनिए । वन डढेलो लगाएर घाँस उमार्न मद्दत पुग्छ या उत्पादन राम्रो हुन्छ भनेर पनि जानाजानी आगो लगाउने कार्य गरिन्छ र नराम्रो परिणामको सामना गर्न बाध्य होइन्छ । वन डढेलो लगाएपछि हिंस्रक जंगली जनावर पनि नजिकमा आउँदैनन् भन्ने मान्यता समेत रहेको छ । प्राकृतिक रुपमा चट्याङको कारण समेत आगलागी हुने गरेको छ । जल्ने पदार्थ, जलाउने आगो तथा अक्सिजनको त्रिकोणात्मक सम्बन्धबाट आगजनी हुन्छ ।
जलवायु परिवर्तनको कारण तापक्रममा वृद्धि हुन्छ र जङ्गलमा झरेका पातहरु सुकेर खन्खार हुन्छन् । कुनै कारण आगो सल्किएपछि पातले तुरुन्तै आगो टिप्छन् र आगलागी हुन्छ । प्रदेश सरकारको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले तयार पारेको वन नीतिमा समेत वन डढेलो तथा यसको अध्ययन अनुसन्धानले स्थान पाउन नसक्ने अवस्था संघीय नेपालको लागि पक्कै सुहाउँदो कुरो भने होइन । नेपालमात्र होइन विश्वका अन्य स्थानहरूमा समेत डढेलोको अवस्थामा बढोत्तरी भइरहेको छ । गत वर्ष अस्ट्रेलियाको आगलागी, उत्तरी अमेरिकाका कतिपय स्थानहरुका अवस्थाहरुलाई आधारमान्दा यो समस्या गत दशकहरुमा भन्दा वृद्धि भएको छ ।
वन डढेलो अर्थात् (फोरेस्ट फायर)बारे विश्वमा धेरै अनुसन्धान भएका छन् । नेपालमा भने यसको क्षेत्रमा खासै अनुसन्धान कार्य भएका छैनन् । चट्टाने पहाडमा यसले पारेको असरबारे भेबलेनले सन् १९९४ र काइले सन् २००८ मा अनुसन्धान गरेका छन् । सबैभन्दा ठूलो असर किरा तथा जंगली शाकाहारी जनावरलाई हुने बताइएको छ । आर्थाेपोडा फाइलममा पर्ने जीवहरु बढी अप्ठ्यारोमा पर्नेगरेका प्रमाणहरु प्राप्त भएका छन् । जिनानबाङ टेक्सास ए एण्ड एम विश्वबिद्यालयको डिपार्टमेन्ट अफ इकोसिस्टम साइन्स एण्ड मेनेजमेन्टले गरेको अध्ययन, फेङ चेनले उत्तरी चीनमा गरेको अनुसन्धान, चार्ल्स इखोकुले उत्तरी सहारा क्षेत्रमा गरेको अनुसन्धान, नान्सी फ्रेन्चले वाइल्ड फायर र फोरेस्ट इकोसिस्टमबीचको सम्बन्धबारे गरेका अनुसन्धानहरुलाई यस क्षेत्रका लेटेस्त अध्ययनहरु मानिएका छन् ।
सन् २०२० मा ‘जर्नल अफ टुरिज्म एड्भेन्चरर्स’ मा प्रकाशित जीवनमणि पौडेलको ह्युमन डाइमेन्सन अफ क्लाइमेट चेन्ज भन्ने लेखले नेपालको मनाङ जिल्लाको डरलाग्दो अवस्थाको चित्र अगाडि सारिदिएको छ । विगत ३५ बर्षयताको तापमानको अवस्था हेर्दा सरदर ०.३४ डिग्री सेल्सीअमले बार्षिक तापक्रममा वृद्धि भएको देखिएको छ । यो पर्वतीय क्षेत्रको लागी भयावह अवस्था हो । यसले पर्वतीय क्षेत्रमा तापक्रम वृद्धि तथा आगलागीबीचको अन्तरसम्बन्ध समेत प्रष्ट पारेको छ ।


























