जीवन एक – जिउने कला अनेक

0
842

वातावरण, परिवेश, तत्कालीन सामाजिक र पारिवारिक अवस्था, शरीरभित्रका भिन्नभिन्न जैविक रसायन तथा आनुवंसिकी समेतले मानिसको चेतना र व्यक्तित्व निर्माण प्रभावित हुन्छ । परिवार र समाजका घटनाले पनि व्यक्तिको व्यक्तित्व निर्माणमा प्रभाव पार्छ । यसका साथै व्यक्तिको रुची अनुसार क्षमता अभिवृद्धि गर्न उसले गर्ने प्रयत्नबाट व्यक्तिले आफूलाई विकसित गर्छ । मानिस अन्तरमुखी, बहिर्मुखी र कुनै मानिस असाधारण क्षमतायुक्त बहुप्रतिभाशाली तथा चमत्कारिक व्यक्तित्व भएका हुन्छन् । हरेक मानिसका फरक–फरक इच्छा, आकांक्षा र रुची हुन्छन् । त्यही भिन्न रुची र स्वभाव अन्तर्गत मानिसले गरेको सिर्जनाले नै आजको विश्व यो अवस्थामा आइपुगेको हो । विविध रंगीचंगी फूल फुलेको फूलबारी सुन्दर देखिए जस्तै विविधतायुक्त मानव सिर्जनामा नै संसारको सुन्दरता भरिएको छ ।

त्यसैले सबै मानिसबाट एउटै किसिमको अपेक्षा राख्नु उपयुक्त हुँदैन । केही अपवाद छाडेर हरेक व्यक्तिको चाहना समाज वा अरू मानिसले आफूलाई राम्रो भनोस् भन्ने नै हुन्छ । प्रशंसित भएको सुन्न कसलाई मन नपर्दो हो र ! व्यक्ति स्वयम्को वा व्यक्तिले गरेका कार्यको प्रशंसा गरिदिँदा सम्बन्धित व्यक्तिका नजिकका नातेदार, समर्थक त खुशी हुन्छन् भने झन् व्यक्ति नै त कति आनन्दित प्रफुल्लित होला । कसैले नराम्रोभन्दा दुःख लाग्ने र राम्रो भनि दिँदा खुशी हुने, सबैको आफ्नै अनुभूति होला, हुन्छ नै । जीवित अवस्थामा मात्र नभएर मृत्युपछि पनि सम्झिउन् भन्ने चाहना हुन्छ ।

नेपाली समाजको चित्रण

वर्तमान नेपाली समाज दोधारे प्रवृत्ति र विरोधाभाषपूर्ण प्रकृतिको रहेको छ । यहाँ को कस्तो ? कुन समाजको चरित्र के ? कुन परिवारको संस्कार के ? ठम्याउनै मुस्किल भएको छ । व्यक्तिदेखि समग्र देशसम्म कसैको वास्तविक चरित्र छुट्याउन नसकिने अवस्था छ । अरुका अगाडि सबै इमान्दार हुन खोज्छन् । तर, इमानको लडाइँमा कोही सहभागी हुनेवाला छैनन् । सार्वजनिक स्थानमा भ्रष्टाचार र सदाचारका लामा–लामा भाषण गर्न पछि नपर्ने महाशय सानो अवसर पाउने बित्तिकै आफैं भ्रष्टाचारमा लिप्त हुन पुग्दछन् । हात्तीको देखाउने दाँत र खाने दाँत अलग हुन्छ भने झैं नेपाली समकालीन समाजको व्यवहार दोधारे र दुई जिब्रे प्रवृत्तिको रहेको छ । पुरातन रुढीवादी व्यवहार छोडे जस्तो पनि गर्ने तर छोड्न नसक्ने, अनि नविनतम् आधुनिकता अपनाउन पनि खोज्ने, तर अपनाउन पनि नसक्ने किसिमको ढुलमुले र विरोधाभाषी समाज हो –नेपाली समाज ।

भ्रष्टाचार मौलायो भनेर सार्वजनिक स्थानमा प्रवचन गर्दै हिँड्ने, तर मताधिकारको प्रयोग गर्दा भ्रष्टाचार प्रमाणित भइसकेको व्यक्तिलाई भोट हाली विजयी गराउने समाज हो –नेपाली समाज । समकालीन नेपालीसम्म यतिसम्म पाखण्डी भइसकेको छ की शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्दै निजीकरणको व्यापक विरोधमा भाषण गर्छ । तर, तिनै निजी विद्यालय र निजी अस्पतालको मालिक हुन दिनरात लागीपर्दछ । हरेका सरकारी कार्यालयको ढोकामा लेखिएको हुन्छ– ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन पनि दिन्न’ भनेर ठूला अक्षरले कोरिएको हुन्छ, तर भित्र पस्दा घुस र कमिशन बिना ओल्लो टेबलको फाइलको पल्लो टेबलमा सर्दैन ।

देशभरका सोझासाझा जनतालाई बुर्जुवा शिक्षा नपढ्नु भनेर आन्दोलनमा लगाएका टाठाबाठाहरुले आफ्ना छोराछोरी युरोप, अमेरिकाका विश्वविद्यालयमा पढाएका स्वार्थी चरित्र बोकेको समाज हो । जनयुद्धमा खर्च नगरी तडकभडक बिनाको क्रान्तिकारी विवाह गर्नुपर्छ भन्दै सामुहिक विवाह गराउने, तर आफ्ना सन्तानको पाँचतारेमा होटेलमा धुमधामसँग विवाह गर्ने चरित्र बोकेको समाज हो । अरुका अघि स्वदेशको माटो र देशप्रेमको गाथा गाउँदै हिँड्ने र घरभित्र पुग्नासाथ अमेरिकन दूतावासको वेभसाइट खोलेर इ.डि.भी. भर्ने समाज हो । दुनियाँका छोराछोरीलाई मातृभाषा पढाउन उत्प्रेरित गर्ने, वैदेशिक रोजगारीमा खाडी मुलुक गएर दुई–चार पैसा कमाउन हुन्न नत्र देशको विकास हुन्न भन्दै वेरोजगार राख्ने अनि आफ्ना छोराछोरी चाहिँ एसएलसी सक्ने बित्तिकै युरोप, अष्ट्रेलिया र अमेरीका पठाउने पाखण्डी समाज हो ।

स्वदेशमा भइन्जेल परिश्रम भनेको केही पनि नगर्ने, डुकुलन्ठक भएर हिँड्ने अनि विदेशको भिसा लाग्ने बित्तिकै संसार नै जिते जस्तो फुँइ लाउँदै पासपोर्ट चेपेर विदेश भाँसिने र त्यहाँ पुगेर नेपालमा बसेकाहरुले देश सखाप पारे, म त्यहाँ भएको भए हाम्रो समाज यस्तो हुन दिन्न थिएँ भनेर सामाजिक सञ्जालमा बुर्कुसी मार्ने दोधारे चरित्र बोकेको समाज हो –नेपाली समाज ।
शिक्षामा व्यापक राजनीतिकरण भयो भनेर घण्टौं चिया पसलमा गफ छाट्ने, तर आफू शिक्षक भएर अमूक राजनीतिक दलको झोले बन्ने, म त निष्पक्ष र तटस्थ पत्रकार हो भनेर आवाज उठाउने, तर अमूक राजनीतिक दलको भातृ संगठनको सदस्यता गोजीमा बोक्ने, समाजिक हिंसा, महिला हिंसा, कुरीति, अन्धविश्वास जरैदेखि उखेलेर फाल्ने भन्दै प्रवचन दिने, तर आफैं आफूले लगाएको भित्री वस्त्र श्रीमतीलाई धुन लगाउने, बोक्साबोक्सीको आरोप लगाउने, जातीय विभेद गर्ने दोहोरो चरित्र बोकेको समाज हो –नेपाली समाज । मेरो त एउटी छोरी अष्ट्रेलिया, एउटा छोरा अमेरिका गाको छ, तिम्रो छोराछोरी त नेपालमा बसेर बिग्रिने भए मन्दै छिमेकीलाई लाञ्छना लगाउने, तर आफू बिरामी पर्दा तातोपानी तताउन र अस्पताल लैजानका लागि त्यही छिमेकीको छोराछोरी बोलाउनुपर्दा पनि लाज नमान्ने समाज हो –नेपाली समाज ।

फिनल्याण्डमा ३४ वर्षीय युवा सान्ना मरिन्ना प्रधानमन्त्री हुँदा सामाजिक सञ्जाल भरिने गरी बधाई दिँदै नेपालमा कहिले यस्तो अवस्था आउला भनेर चिन्ता प्रकट गर्ने, तर आफ्ना पार्टीका ७० वर्ष पुगेका नेतालाई प्रश्न गर्न नसक्ने समाज हो –नेपाली समाज । मानवअधिकार र सामाजिक न्यायको पक्षमा माइतीघर मण्डलामा दिनभर उफ्रने, तर कुख्यात अपराधीको पक्षमा खुलेआम वकालत गर्न अलिकति पनि नहिच्किचाउने समाज हो –नेपाली समाज । सबै समस्याको जड संस्कारविहीन राजनीति र असक्षम नेतृत्व हो र यसलाई नसुधारी देश विकास हुँदैन भन्दै गर्जने, तर पार्टीले ढुङ्गाको मूर्ति जस्तो व्यक्ति चुनावमा उठाए पनि त्यसैको समर्थनमा मतदान गर्ने बाहुल्य भएको समाज हो । पुँजीवादी दलाल प्रवृत्तिको सकेसम्म विरोध गर्ने, तर आफैं पुँजीपति बन्न चाहने विरोधाभाषी चरित्र भएका मानिसहरु बसोबास भएको समाज हो ।

मुखुण्डो ओढेकाभित्र र बाहिर दुई चरित्र बोकेका दोधारे र विरोधाभाषी अवस्थामा गुज्रिरहेको नेपाली समाजमा नेतादेखि क्रेतासम्म, हाकिमदेखि पिउनसम्म, व्यापारीदेखि आम सर्वसाधारणसम्म, कृषक, उपभोक्ता, शिक्षक, विद्यार्थी, पत्रकार, प्राध्यापक, डाक्टर, इञ्जिनियर, विभिन्न पेशाकर्मी, आम नागरिक समग्र समाज नै यही विरोधाभाषी चरित्रबाट गुज्रिरहेको छ । न त यो भाग्यवादी समाज हो न त पुँजीवादी, समकालीन नेपाली समाज आफैंमा गुजुल्टिएको दोधारे र विरोधाभाषी चरित्रसहित विचित्रताभित्र रुमल्लिएको समाज हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here