जमिन हडप्ने योजना !

0
1029

झापा।

भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालयमा केही युवा समूहले तोडफोडको प्रयास गरेको छ ।

नेपाली नागरिकताको प्रतिलिपि सिफारिस माग्न गएका युवा समूहले वडाध्यक्ष कार्यकक्षमा तोडफोडको प्रयास गरेको हो । साबिक भद्रपुर–१ ठेगाना बताउने अन्दाजी ६५ वर्षीय योगराज चौहानको नागरिकता हराएको र त्यसैको प्रतिलिपि बनाउनु पर्ने भन्दै चौहानसहित केही युवा समूह मंगलवार दिउँसो वडा कार्यालय सिफारिस लिन पुगेका थिए ।

वडा अध्यक्ष बन्धु कार्कीले नागरिकता हराएको कुनै प्रमाण नभएको र नागरिकता नम्बरकै आधारमै सिफारिस दिन नमिल्ने बताएपछि युवा समूहले विवाद गर्दै कार्यकक्षमै तोडफोडको प्रयास गरेका थिए । युवा समूहले दादागिरी शैलीमा वडा अध्यक्षको टेबल ठोकेका थिए ।

वडा कार्यालयभित्रै विवादसँगै टेबल ठोकाठोक भए पनि हातपात नभएको वडा अध्यक्ष कार्कीले बताए । ‘उनीहरूले वडा कार्यालयभित्रै आक्रमणको प्रयास गर्न खोजेका थिए’– वडाध्यक्ष कार्कीले भने– ‘छेउमै नगरपालिका कार्यालयसँगै बिच बजारमै यस्तो घटना भएकोले उनीहरूले आक्रमण गर्न पाएनन् । घटनाको विषयमा कर्मचारीले तत्काल प्रहरीलाई खबर गर्न साथ उनीहरू त्यहाँबाट भागका थिए ।’

१० देखि १२ जना युवाहरू समूह बनाएर योजनाका साथ आएका थिए । आफूलाई टोले दादा भन्ने उनीहरू मोटरसाइकल र कार चढेर झापाका विभिन्न स्थानबाट आएका थिए । उनीहरूसँगै नागरिकता प्रतिलिपि सिफारिस लिन सम्बन्धित व्यक्ति चौहान र उनकै सहयोगी केर्खाका पूर्ण दाहाल पनि आएको बताइएको छ । नागरिकताको कुनै कागजात नभएकाले मेरो नागरिकता हराएको भन्दै अदालतबाट पत्र लिएर आउनुहोस्, मैले चौहानलाई पटक–पटक भनें– वडाध्यक्ष कार्कीले । तर, चौहान र उनीसँगै आएका दाहालले त्यस्तो कहाँ हुन्छ र वडा कार्यालय नै लिखित रुपमा सिफारिस दिन मिल्दैन भनेर दिनुप¥यो भनेपछि उनीहरूले विवाद गरेको कार्कीको भनाइ छ ।

प्रशासन कार्यालयबाट नागरिकता नलिएको खुलासा

साबिक भद्रपुर नगरपालिका–१ हाल भद्रपुर–५ बस्ने बताउने योगराज चौहान वर्षौँदेखि भारतमा बसोबास गर्दै आइरहेका छन् । उनले सम्पूर्ण कागजात भारतमै बनाइसकेका छन् । उनको भारतमा आधार कार्ड, राशन कार्ड, मतदाता परिचयपत्र भएको उनले स्वयम् वडा कार्यालयमा सिफारिस लिन जाँदा कर्मचारीलाई बताएका थिए ।

नागरिकताको विषयमा वडा कार्यालयमा तोडफोडको प्रयास भएकोले घटना बारे थप बुझ्न पूर्वाञ्चलकर्मी बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए । प्रशासन कार्यालयबाट चौहानले ल्याएको नागरिकता नम्बर कार्यालयमै बसेर केलाउँदा ढड्डामा उनको नाम देखियो । २०३३ सालमा प्रशासन कार्यालय झापामा घुम्ती टोली आएका बेला बुबा तिलबहादुर चौहानका छोरा योगराज चौहान (२३ वर्ष) नागरिकता नम्बर ११८०÷९४२ उल्लेख छ । त्यहाँ उनले औँठा छापा पनि लगाएका छन् ।

तर, उनले प्रशासन कार्यालयबाट नागरिकता लिएको जारी मिति कतै उल्लेख छैन । जारी मिति उल्लेख नहुँदा उनले घुम्ती शिविरमा नागरिकता पाउनका लागि नाम लेखाएको हो, तर नागरिकता लिन प्रशासन कार्यालय नआएको त्यहाँका कर्मचारीले बताए । प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने– ‘घुम्ती टोलीको ढड्डामा नागरिकता नम्बर उल्लेख छ, तर जारी मिति छैन, त्यसैले ढड्डाकै आधारमा चौहानलाई नागरिकता दिन मिल्दैन ।’

‘नागरिकता लिन पुरानो प्रमाण देखाउनु पर्छ, त्यसैले वडा कार्यालयको प्रतिलिपि सिफारिसको आधारमा प्रशासनले नागरिकता जारी गर्दैन– उनले भने– ‘वडा कार्यालयले पनि सिफारिस नदिँदा हुन्छ’– त्यस्तो परेमा प्रशासन कार्यालयसँग समन्वय गर्न उनले वडाध्यक्ष कार्कीलाई जानकारी गराइसकेका छन् ।

यता चौहानका दाजु एलबी क्षेत्री (चौहान) भद्रपुर–६ निवासी हुन् । उनले भद्रपुर–१ बाट नागरिकता लिएका थिए । उनको मृत्यु भइसकेको छ । परिवारका सदस्य पनि कोही छैनन् । अहिले चौहान माइँला भाइ भन्दै नागरिकता बनाउन आएका हुन् । तर चौहानले नागरिकता बनाएपछि दाजुको करोडौँको सम्पत्ति हडप्ने उनको योजना हो । ती योजनामा केही युवा समूह पनि खुलेर लागेको स्थानीय स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here