आरोप एक, मुद्दा अनेक, अधिकारकर्मी र अदालत छल्न प्रहरीको बठ्याइँ

0
729

झापा।

सरकार र नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) समूहबीच गत फागुन २० गते तीन बुँदे सहमति भए पनि सरकार सहमति कार्यान्वयनमा उदासीन देखिएको छ ।

विप्लव समूहसँग पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई बिना शर्त रिहा गर्ने सहमति भएको थियो । तर, सहमति भएको दुई साता बित्न लाग्दा समेत प्रदेश १का विभिन्न जिल्लामा रहेका कारागारमा ३५ जना विप्लव समूहका नेता तथा कार्यकर्ता छुटेका छैनन् । उनीहरुलाई रिहा गर्ने विषयमा गृहमन्त्रालयबाट कुनै सर्कुलर जारी नभएको भन्दै नछाडिएको बताइन्छ ।

सहमतिमा राजनीतिक आस्थाका आधारमा पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको छ । तर, प्रदेश १ प्रहरीले सार्वजनिक मुद्दा, हात हतियार तथा खरखजना मुद्दा, ज्यान मार्ने उद्योग जस्ता मुद्दा दर्ता गरेर विप्लवका कार्यकर्तालाई अझै थुनामा राखेको छ ।

प्रहरी उच्च स्रोत भन्छ – प्रदेश १मा पक्राउ परेका विप्लवका कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको भनेर उल्लेख नगरी अन्य मुद्दा जोडेर कारवाही गरिएको छ । जसका कारण सरकार र विप्लव समूहबीच सहमति भए पनि प्रदेश १मा पक्राउ परेका विप्लव समूहका कार्यकर्ता रिहा भएका छैनन् । प्रहरीले मानवअधिकारकर्मी तथा अदालतले राजनीतिक आस्थाका आधारमा बन्दी नबनाउन आदेश दिने गरेका कारण विप्लव समूहका कार्यकर्तालाई अन्य मुद्दा लगाएर थुनामा राख्ने गरेको स्रोतले बताएको छ ।

अर्ध भूमिगत अवस्थामा रहेको विप्लव समूहसंग सरकारकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लब समूहका तर्फबाट नेत्र बिक्रम चन्दले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता भएपछि पार्टीका उपल्लो तहका नेता धर्मेन्द्र बाँस्तोलासहित धेरै कार्यकर्ता रिहा भएका थिए । तर, सम्झौताको २ साता बित्दा पनि प्रदेश १का विभिन्न कारागारमा रहेका ३७ जना कार्यकर्ता रिहा भएका छैनन् ।
सरकार र विप्लव समूहबीच भएको सहमति अनुसार गृहमन्त्रालयले कार्यकर्ता रिहा गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरिसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारमा रहेका विप्लवका नेता कार्यकर्ताको संख्यासहितको रिपोर्ट मन्त्रालयमा पठाए पनि रिहाइको प्रक्रिया भने अघि बढेको छैन ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गृह मन्त्रालयमा मोरङ कारागारमा रहेका विप्लवका नेता तथा कार्यकर्ताको संख्या र विवरण पठाइएको जानकारी दिए । तर, मन्त्रालायले उनीहरुलाई रिहा गर्न आदेश नदिएको उनको भनाइ छ ।

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामासहित ३७ नेता कार्यकर्ता प्रदेश १का विभिन्न कारागारमा छन् । लामा संखुवासभाको खाँदबारी कारागारमा थुनिएको पार्टीले जनाएको छ । खाँदबारीमा लामा, जिल्ला इञ्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता छन् ।

मोरङ कारागारमा विप्लवका ५ कार्यकर्ता थुनिएका छन् । विप्लव समूहले २३ मंसीर २०७७मा मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेपछि माघ ७ गते पक्राउ परेका सो पार्टीका मोरङ इञ्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विकलाई हत्या अभियोगको मुद्दामा पुर्पक्षको लागि कारागार चलान गरिएको हो ।

शिक्षक श्रेष्ठलाई अपहरण गर्ने ६ जनामध्ये एक जना विक भएको प्रहरीले जनाएको छ । अन्य ५ जनाको खोजी जारी रहेकै बेला सरकार र विप्लव समूहबीच सहमति भएको थियो । सो मुद्दामा विप्लवसहित धेरै नेता तथा कार्यकर्तालाई प्रतिवादी बनाइएको छ ।

यता झापा कारागारमा समेत विप्लवका तीन जना कार्यकर्ता रहेका छन् । उनीहरुलाई अझै पनि प्रहरीले रिहा गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here