वीरता जेसीजका अध्यक्ष धिमालको उदाहरणीय कार्य

0
1509

तुलसीप्रसाद निरौला, बिर्तामोड । 

झापा बिर्तामोड –५ धिमाल चोकमा अस्थाई वसोवास गर्दै आएका टिपी धिमाल विहीबार औधी खुशी भए । उनी खुशी हुनुको कारण थियो – जग्गा धनीपूर्जा प्राप्त गर्नु ।

 

वीरता जेसीजका अध्यक्ष राजीव धिमालले अर्जुनधारा –९ मा रहेको १० धुर जग्गा निःशुल्क प्रदान गरेपछि उनी खुशीले गद्गद् भएका हुन् ।

 

वीरता जेसीजका अध्यक्ष धिमालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक तथा कार्यक्रम संयोजक जीवनकुमार खड्काले स्वागत गरेका थिए ।

कार्यक्रममा राजमिस्त्रीको रुपमा मजदुरी गर्दै श्रीमती, दुई छोरा र एक छोरी पाल्दै आएका ४७ वर्षीय धिमाललाई दीगो बासस्थानको महशुस गराउन आफ्नो तर्फबाट अर्जुनधारा –९ मा रहेको १५ लाख मूल्य बराबरको १० धुर जग्गा उपलब्ध गराएको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई आत्मसात गर्दै धिमाललाई निःशुल्क जग्गा प्रदान गरिएको बताउँदै उनले वीरता जेसीज र अर्जुनधारा नगरपालिकाको समन्वयमा उक्त जग्गामा घर समेत निर्माण गरिदिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले वास्तविक भूमिहीन छनौट गरेर निःशुल्क जग्गा प्रदान गरेर समाजमा सकारात्मक सन्देश दिएको भन्दै वीरता जेसीजका अध्यक्ष धिमालको प्रशंसा गरेका थिए ।

वीरता जेसीजका भूतपूर्व अध्यक्ष समेत रहेका शिवाकोटीले निःशुल्क जग्गा प्राप्त गरेका धिमालको घर निर्माण गर्न अर्जुनधारा नगरपालिकाको विपन्न आवास निर्माण योजना अनुसार सहयोग गर्न अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानालाई अनुरोध गरिएको जानकारी दिए ।

उनले बिर्तामोडमा पनि वीरता जेसीजले वास्तविक भूमिहीन पहिचान गरेर जग्गा उपलव्ध गराए बिर्तामोड नगरपालिकाको विपन्न आवास निर्माण योजना अनुसार घर निर्माण गरिदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा निः शुल्क जग्गा धनीपूर्जा प्राप्त गरेका धिमालले जग्गा किन्न नसकेर वर्षौंदेखि अर्काको जग्गामा वसीरहेको अवस्थामा निः शुल्क जग्गा धनीपूर्जा प्राप्त गर्दा अत्यन्त खुशी लागेको बताए ।

राजमिस्त्री गरेर कमाएको पैसाले पाँच जनाको परिवार पाल्न धौधौ भइरहेको बेला जग्गा किन्नु भनेको फलामको च्यूरा चपाउनु जस्तो भएको बेलाका वीरता जेसीजका अध्यक्ष धिमालले निःशुल्क जग्गा प्रदान गरेर आफ्नो घरमा बस्ने वर्षौदेखिको सपना पूरा गरिदिएको बताए ।

 

कार्यक्रममा सहभागी नेपाल तरुण दल क्षेत्र नं. २ का क्षेत्रिय सभापति राम धिमाल लगायतले वास्तविक भूमिहिन धिमाललाई निःशुल्क जग्गा प्रदान गरेर वीरता जेसीजका अध्यक्ष धिमालले समाजमा अनुकरणीय कार्य गरेको बताए ।

वीरता जेसीजका निवर्तमान अध्यक्ष मिजाश पोखरेलले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा तालिम संयोजक प्रभात मास्केले आस्था वाचन गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष विकास वस्नेत , कानूनी सल्लाहकार प्रविण खड्का, सह कोषाध्यक्ष पुकार वराल, संयुक्त सचिव टिकाराम खतिवडा, जनसम्पर्क अधिकारी अनन्तलाल महतो, सञ्चार संयोजक तुलसीप्रसाद निरौलालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको कार्यालय सचिव सञ्जय राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here