मेचीनगरमा स्थानीय तह स्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न

0
981

मेचीनगर,

सरकारले आगामी चैत २० गतेदेखि हात्तीपाइले रोग निवारणका लागि यस रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालान गर्दैछ । अभियानलाई लक्षित गरेर मेचीनगर नगरपालिकामा विहीबार राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान स्थानीय तह पालिका स्तरीय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।

नगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको गोष्ठीमा स्वास्थ्यकर्मी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, शिक्षक, सञ्चारकर्मीको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय झापाका हात्तीपाइले रोगका फोकल पर्सन जीवन चौलागाईँले गोष्ठीमा यो रोगको विश्व र नेपालको अवस्थामा बारेमा प्रकाश पार्नुभयो ।

आम औषधि सेवनको माध्यमबाट संक्रमणको दरलाई घटाउदैं यस रोगलाई जनस्वास्थ्य समस्याको रुपबाट निवारण गर्ने संक्रमित क्षेत्रमा बसोबास गर्ने औषधि सेवनका लागि योग्य सवै व्यक्तिहरुलाई औषधि सेवन गराउने कार्यक्रमको उद्घेश्य रहेको चौलागाईँले जानकारी गराउनुभयो ।

राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमको लक्ष्य बमोजिम सन् २०२६ सम्म हात्तीपाईले रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिन रोगको प्रिभालेन्स एक प्रतिशत भन्दा तल ल्याउने कार्यक्रमको अपेक्षा गरिएको छ ।

चौलागाईँले विश्वमा हात्तीपाईले रोगको अवस्थामा जानकारी गराउदैं हाल ५२ देशका ८५ दशमलव ६ करोड मानिसहरु यस रोगको जोखिममा रहेका, सन् २००० सम्म १२ करोड मानिसहरु संक्रमित तथा ४ करोड मानिसहरु अंगभंग भएका, हालसम्म ४९ दशमलव ९ करोड मानिसहरुले पूर्ण उपचार पाएको ६७ अर्व मात्रा औषधि खुवाइसकिएको, दक्षिण पूर्वी एशियाका ११ मध्ये ९ देशहरुमा यो रोगको जोखिम पाइएको, संसारभरि जोखिममा रहेका मध्ये ६५ प्रतिशत मानिसहरु यीनै ९ देशका रहेका चौलागाईँले तथ्याङ्क सार्वजनिक गर्नुभयो ।

नेपालमा हात्तीपाईले रोगको अवस्थाका बारेमा चर्चा गर्दै उहाँले नेपालका ६३ जिल्ला जोखिममा रहेको जानकारी गराउनुभयो । सन् २००१ मा यो रोगको प्रिभालेन्स १३ प्रतिशत रहेको, कुल जनसंख्याको २ दशमलव ५ करोड यसको जोखिममा रहेको, रुगण्ता प्रतिवेदना गरिएका बिरामीहरु ३० हजार भन्दा बढी धेरै हाईड्रशिल भएका, र नेपालमा सन् २०१९ मा यो रोगको प्रिभालेन्स दर १ दशमलव ४७ प्रतिशत रहेको बताउनुभयो ।

सन् २०२८ सम्म यस रोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहन नदिने, सन् २०१४ सम्म सवै ईन्डोमिक जिल्लाहरुमा आम औषधि सेवन अभियान शुरु गरिसक्ने, र सन् २०२६ सम्म रोगको प्रिभालेन्स १ प्रतिशत भन्दा कममा ल्याउने नेपालमा राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमको लक्ष्य रहेको वर्षको एक पटकका दरले ६ वर्षसम्म आम औषधि सेवन अधियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रिया अवरुद्घ गराउने तथा रोगहरुको ब्यवस्था तथा अंगभंग हुन बाट रोक्ने सरकारी रणनीति रहेको गोष्ठीमा बताईयो ।

क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीवीबाट लाग्छ् । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ बर्ष पछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधिलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गदैं आएको छ । दुइवर्ष मूनिका बालबालिका, गर्भवती, सुत्केरी, दीर्घरोगी र अन्य रोगको औषधि खाइरहेका विरामीले हात्तीपाइले रोगको औषधि खान हुदैन र अभियानमा खटिएका स्वास्थ्यकर्मी तथा स्वय्मसेविकाले पनि यस्ता व्यक्तिलाई औषधि सेवन गराउनु नहुने स्वास्थ्यकर्मीहरुको भनाई छ । हात्तीपाईले रोगको एउटै उपाय भनेको औषधि सेवन नै रहेको बताईएको छ ।

ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु गिर्खा भेटिनु र पछि अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु । महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने, खुट्टा सुन्निएर, हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लाग्नु, दम बढ्नु, रगतमा इस्नोफिलको मात्रा बढ्नु र बिरामीले दैनिक क्रियाकलाप गर्न नसक्नु पछि अपाङ्गसमेत हुँदा सामाजिक र मानसिकरुपमा पनि असन्तुलित हुने हुनु हात्तीपाइले रोगका लक्षण रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक रामनारायण यादवको भनाई छ ।

मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका दीपेन्द्र चौधरीले सञ्चालन गरेको गोष्ठीमो अध्यक्षता उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालगायतको सहभागिता रहेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक रामनारायण यादवले स्वागत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here