फाल्गुनन्द स्वमूल्याङ्कनमा तेस्रो

0
841

युद्धबहादुर बोहोरा,
पाँचथर।

फाल्गुनन्द गाउँपालिका स्थानीय तहको संस्थागत स्वमूल्याङ्कनमा ६८.५ प्रतिशत अङ्क प्राप्त गर्दै स्वमूल्याङ्कन सार्वजनिक हुने स्थानीय तहमध्ये तेस्रो बनेको छ । हालसम्म ९६ स्थानीय तहमा शुरू भएको गोष्ठीमा तीन वटा स्थानीय तहले अन्तिम नतिजा सार्वजनिक गरेका छन् । बाग्मती प्रदेश अन्तर्गत दोलखा जिल्लाको जिरी नगरपालिकाले सबैभन्दा पहिला स्वमूल्याङ्कन सार्वजनिक गरेको छ । यस नगरपालिकाले ४५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

त्यस्तै, १ नम्बर प्रदेश अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका सार्वजनिक हुनेमा दोस्रो भएको छ । उक्त पालिकाको ४२ प्रतिशत अङ्क पाएको छ भने चैत ४ गतेसम्म सोही जिल्लाको फाल्गुनन्द गाउँपालिका तेस्रो स्थानमा रहेको प्रदेश नम्बर १ प्रदेश प्रशिक्षण केन्द्र, कलवलगुरी झापाका सहजकर्ता नारायण कोइरालाले जानकारी दिए ।

स्थानीय तह संस्थागत स्वमूल्याङ्कनले सम्बन्धित स्थानीय तहको चुनौति र अवसरहरूको पहिचान गरी कार्यक्षमता अभिवृद्धि गर्न मद्दत पु¥याउने उद्देश्यले यसै आर्थिक वर्षदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनको लागि स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ तर्जुमा गरी अनिवार्य कार्यान्वयनको लागि देशभरका सात सय ५३ वटा स्थानीय तहमा चैत महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ ।

यसैबीच फाल्गुनन्द गाउँपालिकामा चार दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशिक्षण केन्द्रका प्रशिक्षक कोइराला र बाबुनन्द मेहताद्वारा सहजीकरण गरिएको थियो ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनबाट शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रमा जम्मा १०० वटा सूचकहरू रहेका छन् । ती सूचकहरूलाई हरेक विषय क्षेत्रमा समग्र अवस्था, प्रक्रियागत अवस्था र परिमाणात्मक अवस्था गरी तीन तहमा व्यवस्थित गरी यसैको आधारमा अङ्क प्राप्त हुने बारे प्रशिक्षण गराइएको थियो ।

यस कार्यक्रमले स्थानीय तहको काम गर्ने प्रक्रिया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी–कमजोरीहरुको जानकारी लिन, आवधिक समीक्षाको आधार प्राप्त गर्न, प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन सहयोग गर्ने प्रशिक्षण मार्फत जनाइएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षतामा उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे, कार्यपालिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागितामा गोष्ठी सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

कार्यक्रममा अध्यक्ष कुरुम्बाङ र उपाध्यक्ष आङ्देम्बेले पालिकाले यो अङ्क प्राप्त गर्नु सम्पूर्ण कामको अभिलेखीकरणमा कर्मचारी र जिम्मेवार पक्षको मेहनत रहेको बताउँदै धन्यवाद दिएका छन् । अधिकृत तुम्रोकले आगामी दिनमा अझ व्यवस्थित अभिलेख र प्रभावकारी योजना सञ्चालन गर्दै थप उचाईमा पुग्न र समृद्धि पालिका निमार्णमा जनप्रतिनिधि र कर्मचारी एकजुट हुन सबैलाई आग्रह गरेका छन् ।

योजना शाखा प्रमुख राजेन्द्र भट्टराईले सञ्चालन गरेको कार्यक्रममा सहजकर्ताद्वय कोइराला र मेहताले सहभागी र पालिकाको कार्य सम्पादनप्रति प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here