एमालेः न फुट्छ, न जुट्छ

0
1186

झापा।

सत्तारुढ नेकपा एमालेको विवाद उत्कर्षमा पुगेसंगै कार्यकर्तामा अन्यौल सृजना भएको छ । २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा मेचीका चार जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी एमालेले विजय हासिल गरेको थियो । झापाको पाँच निर्वाचन क्षेत्र मध्ये एक नम्वर निर्वाचन क्षेत्रमा माओवादीका उम्मेद्वार विजयी भए भने झापा क्षेत्र नम्वर ३ मा राप्रपाका उम्मेद्वार निर्वाचित भएका थिए । अन्य निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वार विजयी भएका थिए ।

झापामा एमालेले माओवादी र राप्रपासंँग चुनावी तालमेल गरेको थियो । इलामको दुई निर्वाचन क्षेत्रमा एमालेकै उम्म्ेद्वार विजयी भए भने पाँचथर र ताप्लेजुङमा पनि एमालेले आफ्नो वर्चश्व कायम गर्न सफल भएको थियो । तत्कालीन अवस्थामा कम्युनिस्ट पार्टीको एकाता र नाकावन्दीको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रियता प्रति मतदाताले विश्वास गरेर कम्युनिस्ट उम्मेद्वारलाई विजयी गराएका थिए ।

पाँच वर्षे कार्यकालका साथ विजयी भएका उम्मेद्वार अहिले पार्टी भित्रकै आन्तरिक कलहका कारण अलमलमा परेका छन् भने मतदाता झनै अन्यौलमा छन् । सर्चाेच्च अदालतले नेकपाको एकता भंग गरेर एमाले व्युँताई दिएपछि एमालेभित्रै फुटको अवस्था सृजना भएको छ । गत शुक्रवार वसेको ओली पक्षको वैठकले झलनाथ खनाल माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रवाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनित गरेपछि एमाले फुटको संघारमा पुगेको हो ।

ओली पक्षले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनु पर्ने खनाल–नेपाल समूहले अडान राखेको छ । तर, प्रधानमन्त्री ओलीले आफ्नो अडान कायमै राख्दा एमाले फुट न जुटको अवस्थामा पुगेको हो । गुटको भेलामा जानेलाई कारवाही गर्ने प्रधानमन्त्रीसमेत रहेका ओलीले चेतावनी नै दिएका छन् । यद्यपि खनाल–नेपाल समूहले राष्ट्रिय भेला गरेका छन् ।

उनीहरुले ओलीले एकलौटी रुपमा गरेको निर्णय खारेज गर्न माग गरेका छन् । राजधानीमा दुबै समूहमा विभाजित एमाले नेताहरु गुटगत भेलामा व्यस्त भएका छन् । पार्टी भित्र ओलीले स्वेच्छाचारी ढंगबाट गतिविधि सञ्चालन गरेको भन्दै खनाल–नेपाल समूह रुष्ट भएको छ । यता पूर्वका चार जिल्लाका एमाले कार्यकर्ताहरुले भने पार्टीको आन्तरिक कलहका कारण पार्टी कमजोर बनेको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।

पूर्वमा कम्युनिष्ट पार्टीको बर्चस्व रहेपनि पछिल्लो आन्तरिक कलहले पार्टीलाई कमजोर बनाउँदै गएको अगुवा कार्यकर्ताहरुको भनाइ रहेको छ । प्रधानमन्त्री ओलीको गृह जिल्लामा समेत एमाले दुई खेमामा विभाजित भएको छ । जिल्लाका सवै क्षेत्रमा एमालेले आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याए पनि दुई गुटका कारण पार्टीका गतिविधि अगाडि बढाउन नसकेको स्रोतले जनाएको छ ।

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला समापन गरेलगत्तै ओली समूहले समेत शनिवार केन्द्रीय समितिको बैठक आयोजना गरेको छ । दुवै समूहले आफूहरु नै वैधानिक र आधिकारिक भएको दावी गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here