चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले बुझायो ‘प्रतिवेदन’

0
1091

झापा ।

प्रदेश नम्बर १ मा चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिले चलचित्र विकास वोर्डमा प्रतिवेदन बुझाएको छ ।

सुनसरीको वराहक्षेत्र नगरपालिकाले फिल्म सिटीका लागि २ सय बिघा जग्गा प्रदान गर्न सहमत भएपछि चलचित्र विकास बोर्डद्वारा गठित चलचित्र छायांकन स्थल निर्माणको सम्भाव्यता अध्ययन समितिका सदस्य नवल खड्का,स्थानिय सहजकर्ता तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १का अध्यक्ष केवल तामाङ र चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईको टोलीले विहिबार वोर्डका अध्यक्ष दयाराम दाहाललाई प्रतिवेदन बुझाएको हो ।

चलचित्र विकास बोर्डको स्वीकृत मापदण्ड बमोजिम बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ क्षेत्र भित्रमा पर्ने श्रीलंका टापु आसपासको क्षेत्रलाई समितिले उपयुक्त क्षेत्र पहिचान गरेको नेपाल चलचित्रकर्मी संघ प्रदेश १का अध्यक्ष केवल तामाङले जानकारी दिए ।

समितिले यस अघि झापा,मोरङ,सुनसरी,इलामका विभिन्न स्थानको अवलोकन गरेको थियो ।अन्त्यमा सप्तकोशी नदीको किनारमा रहेको वराहक्षेत्र धार्मिक,पर्यटकीय,आन्तरिक हवाइ क्षेत्र,यातायातको सुविधा र स्थान उपलब्धताको हिसाबले सबैभन्दा उपयुक्त ठहर गरेको जनाईएको छ ।

चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनका लागि गठित समितिमा संयोजकमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,सह संयोजकमा प्रेम सुब्बा रहेका छन् ।यस्तै सदस्यहरूमा दिपाश्री निरौला,दयाहाङ राई,राजकुमार पोखरेल,संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव युवराज खतिवडा,आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत विजयकुमार मगर,सचिवमा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र सदस्यमा नवल खडका र केशव घिमिरे रहेका छन् ।

बोर्डबाट नियुक्त स्थानीय सहजकर्तामा केवल तामाङ,केशव रायमाझी र दुर्गा नेम्वाङ छन् ।यस्तै प्रदेश १ सरकारबाट सिफारिस भएका प्रतिनिधिहरुमा मणि लिम्बू (विजय सुब्बा),ध्यानबहादुर सुब्बा,हिमाल दाहाल र अरुणकुमार प्रधान छन् । विशेष सहयोगीमा पत्रकार भीषण राई रहेका छन् ।

नेपाली चलचित्र उद्योगलाई थप उचाईमा पुर्याउनका लागि नेपाल चलचित्रकर्मी संघले पनि विभिन्न भुमिका निर्वाह गर्दै आएको छ ।चलचित्र उद्योगलाई पर्यटनको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपुर्ण योजनाहरु अघि सारिएको संघका सचिव रमेश तिवारीले जानकारी दिए ।नेपाल चलचित्रकर्मी संघले सम्पुर्ण चलचित्रकर्मीहरुको छाता संगठनका रुपमा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here