नक्कली कागजात बनाएर जग्गा हडप्ने पक्राउ

0
872

सुरेन्द्र भण्डारी/पार्थ मण्डल
झापा ।

जग्गाधनी मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेर करोडौँ मूल्य पर्ने जमिन अर्को व्यक्तिको नाममा नामसारी भएको एउटा घटना झापामा बाहिरिएको छ ।

घटना हो– साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अन्धुवा पुल नजिक पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको करोडौँ मूल्य पर्ने जमिनको । बिर्तामोडका समाजसेवी तथा चर्चित व्यक्तित्व टुङ्गबहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३को एक कठ्ठा पौने १४ धुर जमिन बिर्तामोड–७ निवासी रञ्जु राईको नाममा नामसारी भएपछि यस्तो घटना बाहिरिएको हो । बस्नेतको नाममा रहेको सो जमिन जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाले २०७७ साल माघ २१ गते राईको नाममा नामसारी गरेको देखिएको छ ।

तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते नै मृत्यु भइसकेको थियो । जग्गाधनी बस्नेतको नाममा रहेको जमिनमाथि पहिलो हकदाबी उनका सन्तानहरू गोपाल, श्याम र जितेन्द्र बस्नेतको हुन्छ । कुनै पनि सन्तानको नाममा जमिन नामसारी नै भएको देखिँदैन । तर, मृत्यु भइसकेको व्यक्तिको जमिन परिवारका सदस्यको नाममा नामसारी नभई एकैचोटी तेस्रो व्यक्तिको नाममा गएको यस घटनाले जिल्लामै तरङ्ग ल्याएको छ ।

परिवारका सदस्यले जमिन नामसारी भएको एक महिनापछि घटना थाह पाएपछि झापा प्रशासनले आन्तरिक रुपमा यसको अनुसन्धान थालिसकेको बताइएको छ ।

कसरी भयो नामसारी ?

२०७६ साल साउन २४ गते टुङ्गबहादुर बस्नेतको मृत्यु भयो । त्यसको एक वर्ष दुई महिना चार दिनपछि नक्कली टुङ्गबहादुर बस्नेतको जन्म भयो । नक्कली टुङ्गबहादुर बस्नेतले ७१ वर्षको उमेर खुलाएर काठमाडौँ जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाए ।

उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको देखिन्छ । अदालतले पनि मुलुकी देवानी कार्यविधि संहिता २०७४को दफा १५३(२), ऐ. दफा १५४(१) र मुलुकी देवानी संहित २०७४को सम्पत्तिको हस्तान्तरण तथा प्राप्ति सम्बन्धी दफा ४२५ नम्बर बमोजिम राजवंशीको नाममा वारेसनामा बनाएर पठाइदियो । त्यसपछि राजवंशी वारेसनामाको आधारमा जमिन बिक्री गर्ने योजनातर्फ लागे ।

यस घटनामा उनीसहित जमिन हड्प्ने गिरोह नै संलग्न भयो । त्यसपछि राजवंशी जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापा पुगेर बस्नेतको नाममा रहेको धनीपूर्जा निकाले । उनले धनीपूर्जा हराएको विवरण मालपोतमा पेश गरेर धनीपूर्जाको प्रतिलिपि निकालेको देखिन्छ । त्यसपछि उनीसहित गिरोहका व्यक्तिले जमिन बिक्री गर्नका लागि वडा कार्यालयबाट आवश्यक कागजात पनि निकाले । बिर्तामोड–१ नम्बर वडा कार्यालयबाट २०७७ मंसीर २४ गते बस्नेतकै नाममा रहेको जमिनको घर बाटो प्रमाणित भएको सिफारिस निकाले । सो घर बाटो प्रमाणित गरेको सिफारिसमा वडाध्यक्ष अग्निप्रसाद पाण्डेको हस्ताक्षर रहेको खुलेको छ ।

वडाको कागजात, नागरिकता, अदालतको वारेसनामासहित आवश्यक कागजात पेश गरेर उनीहरूले लेखापढी व्यवसायीमार्फत बस्नेतको नाममा रहेको सो जमिन रञ्जु राईको नाममा नामसारी गरे । नामसारी २०७७ माघ २१ गते गरेको मालपोतको मोठमा देखिन्छ । सो जमिन ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा राईले खरिद गरेको र त्यस बापत ४ प्रतिशत रजिष्ट्रेशन शुल्कमा २ लाख ५३ हजार एक सय २५ रुपैयाँ, पुँजीगत लाभकरमा २ लाख १० हजार ९४० रुपैयाँ मालपोतमा तिरेको देखिन्छ ।

जमिन नामसारी गराउँदा जग्गाधनी बस्नेतको तर्फबाट रोहबरमा जमिन बिक्रीकर्ता राजवंशी, साक्षीमा लेखनाथ खनाल र बलराज विश्वकर्माको हस्ताक्षर रहेको छ । तयार भएको नामसारीको फाइलमा मालपोतका अधिकृत चेतन अधिकारीले सदर गरी हस्ताक्षर गरेको देखिन्छ । त्यस बिषयमा पनि अनुसन्धान भइरहेको छ ।

मान्छेदेखि कागजातसम्म नक्कली

जग्गाधनी टुङ्गबहादुर बस्नेत मात्र नक्कली नभएर मालपोतमा जमिन नामसारीका लागि पेश गरिएका कागजात पनि नक्कली रहेको खुलेको छ । जग्गाधनी टुङ्गबहादुर बस्नेतको नाममा पेश गरिएको नागरिकता नक्कली भएको खुलेको छ । बस्नेतले २०३७ साल चैत २ गते जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता निकालेका थिए ।

उनले जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकताको प्रतिलिपि ननिकालेको पारिवारिक स्रोतले जनाएको छ । तर, मालपोतमा पेश गरिएको बस्नेतको नागरिकता झापाबाट जारी भएको उल्लेख छ । २०७० साल जेठ १६ गते जारी मिति रहेको नागरिकतामा प्रथम प्रतिलिपि भनेर नागरिकता नम्बर ०४–८१५३/१२२२ उल्लेख गरिएको छ । सो नागरिकता नम्बर प्रशासन कार्यालय झापाको नागरिकता फाँटमा भेटिएन । त्यो नागरिकता उनीहरूले बाहिर नै नक्कली बनाएर पेश गरेको थप रहस्य खुलेको हो ।

त्यस्तै बिर्तामोड–१ नम्बर वडा कार्यालयबाट ल्याएको घर बाटो प्रमाणित सिफारिस पत्र पनि नक्कली भएको आशंका गरिएको छ । वडाले दिएको पत्र संख्या ०७७/०७८ र चलानी नम्बर १३३४ वडा कार्यालयको कुनै मोठमा नभेटिएको बताइन्छ । त्यस विषयमा प्रशासनले अनुसन्धान गरिरहेको जनाइएको छ ।

नामसारी भएको जग्गाको मूल्य करोडौं

झापाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा रहेको बस्नेतको नाम रहेको एक कठ्ठा पौने १४ धुर जमिनको मूल्य अन्दाजी १० करोड रुपैयाँ पर्ने स्थानीयले बताएका छन् । एक धुर जमिनको चलनचल्तीको मूल्य ३० लाख रुपैयाँ रहेको बताइन्छ ।

सोही दर बमोजिम पौने ३४ धुर जमिनको मूल्य करिब १० करोड पर्न जान्छ । खरिदकर्ताले ८४ लाख ३७ हजार ५ सय रुपैयाँमा खरिद गरेको मालपोतमा देखाए पनि जमिन हत्याएर करोडौँ रकम कुम्ल्याउन गिरोह लागेको देखिन्छ ।

न्यायाधीशदेखि कर्मचारी समेत शंकाको घेरामा

नक्कली व्यक्ति बनेर टुङ्गबहादुर बस्नेतले काठमाडौँ जिल्ला अदालतबाट दिएको वारेसनामा दिने न्यायाधीश पर्शुराम भट्टराई, अधिवक्ता रामानन्द चौधरी, वारेसनामामा साक्षी बसेका खोटाङ जिल्ला राजापानी गाविस–४ हाल हलेसी तुवाचुङ–११ बस्ने देवबहादुर विष्ट, ओखलढुङ्गा मोम्खा गाविस–७ हाल चिसंखुगढी गाउँपालिका–७ बस्ने वेगप्रसाद कोइराला शङ्काको घेरामा परेका छन् ।

त्यस्तै बिर्तामोड–१ नम्बर वडाध्यक्ष पाण्डे, जिल्ला मालपोत तथा भूमि सुधार कार्यालय झापाका अधिकृत चेतन अधिकारी, केही कर्मचारी र लेखापढी व्यवसायी पनि शङ्काको घेरामा परेकोले उनीहरूमाथि झापा प्रहरीले अनुसन्धान थालिसकेको बताइएको छ ।

घटनामा संलग्न केही व्यक्ति पक्राउ

बस्नेत परिवारको जमिन हडप्ने घटना बाहिरिए लगतै जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रहरी कार्यालय झापाले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीले जमिन हडप्ने योजनामा रहेका आठ जनालाई पक्राउ गरिसकेको स्रोतको दावी छ ।

पक्राउ पर्नेमा वारेसनामा पाएका बाह्रदशी–३का मङ्गलसिंह राजवंशी, जमिन किन्ने रञ्जु राई र उनका श्रीमानसहित आठ जना रहेका छन् । त्यसमध्ये बिरामी परेका राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । झापा प्रहरीले यस घटनाको विषयमा पत्रकारसँग बोल्न चाहेको छैन । यता झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले व्यक्तिको जग्गा हडप्ने सांगठानिक गिरोह सक्रिय रहेकाले उनीहरूको पहिचान गर्दै धमाधम पक्राउ गरिएको बताएका छन् ।

सांगठानिक अपराधमा संलग्न जो सुकैलाई पनि नछाड्ने बताउँदै मालपोत र नापी कार्यालयको सेवालाई थप चुस्त बनाउने उनको भनाइ छ । मालपोत कार्यालयमा हुने बिचौलियाको बिगबिगी रोक्न मालपोत कार्यालयका प्रमुखलाई तत्काल बोलाएर बिचौलियालाई कार्यालयमा प्रवेश नै निषेध गर्न निर्देशन दिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here