पौवादुङमा गाउँपालिकाको आफ्नै ब्राण्डको मह बजारमा

0
784

भोजपुर,

पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कृषकलाई सातदिने व्यावसायिक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरीसहितको ७७ घार वितरण गर्नुपूर्व उनीहरुलाई व्यावसायिक तालिम दिएको हो ।

मौरीपालनमा लागेका कृषकलाई स्वरोजगारसँगै आर्थिकरूपमा आत्मानिर्भर बनाउने उद्देश्यले काम भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा मौरीको राम्रो सम्भावना छ, धेरै कृषकले पराम्परागतरूपमा भए पनि मौरीपालन गर्दै आउनुभएको छ । उहाँहरुलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । मौरीपालनका लागि आवश्यक चरन क्षेत्र विस्तार गर्दै गाउँपालिकामा नै प्रशोधन केन्द्र स्थापना गरेर गाउँपालिको ट्याग लगाएर बजारमा मह पठाउने लक्ष्य छ ।”

यस वर्ष मौरीपालनका लागि छनोटमा परेका गाउँपालिकाभित्रका २८ कृषकलाई आधुनिक घारमा आधुनिक तरिकाले मौरीपालनका विषयमा जानकारी दिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिनुभयो । साथै उनीहरुलाई बजार व्यवस्थापन, मह उत्पादन तथा मौरीका घार वृद्धिका बारेमा समेत जानकारी दिइएको प्रमुख राईको भनाइ छ ।

गाउँपालिकाले यसअघिका वर्षहरुमा पनि कृषकलाई मौरीपालनमा लाग्नका लागि घार तथा गोलासहितको मौरी वितरण गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा २५० वटा घार र आव २०७६÷७७ मा ४७ वटा घारसहितको मौरी वितरण गरेको हो । गाउँपालिका उपाध्यक्ष सम्झना राईले कृषकलाई आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्दै आएको धारणा राख्नुभयो । साथै उहाँले कृषकलाई सिर्जनशील भएर व्यवसायमा लाग्नसमेत आग्रह गर्नुभयो ।

उपाध्यक्ष राईले भन्नुभयो, “तपाईँहरुलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ । व्यावसायिकरूपमा मौरीपालनमा लाग्नुभएका तपाईँहरुको आवश्यकताका आधारमा गाउँपालिकाले सहयोग गर्नेछ, गाउँपालिकालाई मौरीपालनको पकेट क्षेत्रका रूपमा विस्तार गर्ने योजनाका साथ हामीले काम गरिरहेका छौँ, विशेष गरेर गाउँपालिकाको ४, ५ र ६ वडामा यसको सम्भावना रामो छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here