उद्योग वाणिज्य सङ्घ खोटाङको भवन निर्माण शुरु

0
1165

खोटाङ, 

उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण गरिने भएको छ । वाणिज्य सङ्घले खरिद गरेको दिक्तेल बजारस्थित जिल्ला अदालतको कार्यालय नजिकैको दुई रोपनी जग्गामा रु तीन करोड ५० लाख लागतमा साढे तीनतले सचिवालय भवन निर्माण गरिने भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा भवन निर्माणका लागि बजेट समेटिएपछि भवन बनाउन शुरु भएको वाणिज्य सङ्घका अध्यक्ष उपिन राईले बताउनुभयो । वाणिज्य सङ्घको भवन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त शिलान्यास गर्नुभयो ।

चालु आर्थिक वर्षमा पहिलो तला सम्पन्न गरेर कार्यालय सारिने वाणिज्य सङ्घका अध्यक्ष राईले बताउनुभयो । भवन निर्माण शुरु हुने भएपछि जिल्लाका कतिपय व्यवसायीले व्यक्तिगतरूपमै सहयोग गर्ने बताएका छन् ।

चालीस वर्षअघि स्थापना भएको उद्योग वाणिज्य सङ्घ हाल दिक्तेलको त्रिवेणीचोकस्थित व्यक्तिको घर भाडामा लिएर दैनिक कामकाज सञ्चालन गरिएको छ । शिलान्यास कार्यक्रममा नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट रु ३० लाख बजेट भवन निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

वाणिज्य सङ्घमा एक हजार ७०० साधारण सदस्य रहेको सङ्घका अध्यक्ष राईले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तह वाणिज्य सङ्घको शाखा गठन गर्ने काम भइरहेको महासचिव मनोजकुमार बजिमयले बताउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा व्यापार व्यवसायसँगै विकास निर्माणको काममा समेत वाणिज्य सङ्घको भूमिका महत्वपूर्ण रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here