‘माओवादीको समर्थन फिर्ता नहुँदा कांग्रेस निर्णयमा पुगेन’

0
670

बिर्तामोड ।

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्रीका कारण पुनस्र्थापित संसद अकर्मण्य र अनुत्पादक भएको बताएका छन् ।

नेपाल प्रेस युनियन झापाद्वारा बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपसभापति निधिले अदालतको आदेशपछि प्रधानमन्त्रीको सत्तामा बसिरहने नैतिक अधिकार नरहेको उल्लेख गर्दै निधिले भने– ‘संसदलाई निरर्थक बनाउने काम प्रधानमन्त्रीबाट भएको छ ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले थपे– ‘प्रधानमन्त्रीकै कारण पुनस्र्थापित संसद अकर्मण्य र अनुत्पादक भएको छ ।’

पत्रकारसंगको भेटघाटमा बोल्दै उपसभापति निधिले प्रधानमन्त्रीले विघटन गरेको संसद अदालतले पुनस्र्थापित गरेसँगै प्रधानमन्त्रीको सत्तामा बस्ने नैतिक अधिकार सकिएको निधिको भनाइ थियो । नैतिक हैसियत गुमाएर सत्तामा बसिरहेका प्रधानमन्त्री ओलीलाई अपदस्त गरेर अर्को सरकार बताउनु पर्ने निर्णयमा कांग्रेस पुगेको जानकारी दिँदै निधिले त्यसका लागि जनता समाजवादी पार्टीको स्पष्ट कुरा नआउनु र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण कांग्रेस निर्णयमा पुग्न नसकेको बताए ।

सरकार बनाउनका लागि कांग्रेस, माओवादी र जसपा एकै ठाउँमा उभिनुपर्छ । सो क्रममा पार्टीको १४औं महाधिवेशन आगामी भदौमा हुन नसके पार्टीको बैधानिकता र संवैधानिक हैसियत दुवै समाप्त हुने बताउँदै उनले क्रियाशील सदस्य वितरणदेखि गाउँ÷नगरको नेतृत्व चयनमा सक्रिय हुनुपर्नेमा जोड दिए ।

देशमा उत्पन्न परिस्थितिका कारण पार्टी महाधिवेशन र सभापतिको उम्मेदवारीको कुरा ओझेलमा परेको बताएका निधिले १४औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थनमा सभापतिको उम्मेदवारी दिने बताए ।

नेपाल प्रेस युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन सचिव डिल्लीराम घोसाईँले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्ली सिटौला, गोपालकुमार बस्नेत, कांग्रेस झापाका सभापति उद्धव थापा, प्रचार विभाग प्रमुख लोकराज ढकाल, प्रेस युनियन झापाका पूर्व सभापति कृष्ण हुमागाँई, भगीरथ पोद्दार, पुष्कर न्यौपाने, जिल्ला सदस्य शेरबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला पोखरेल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here