लक्ष्मी उप्रेती
काँकरभिट्टा।

चालू आर्थिकवर्ष २०७७/२०७८ को पहिलो आठ महिनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ५१ जना मानिस हराएको निवेदन प¥यो । हराएकामध्ये ३१ जना फेला परे पनि बाँकी २० जना कहाँ छन्, कुन अवस्थामा छन्, देशभित्र छन् कि बाहिर छन्, यकिन भन्न सकिने अवस्था छैन ।
कूल हराएकामध्ये ११ जना बालबालिका छन् । यसरी हराएका सबै मानिस फेला पर्दैनन् न बालबालिका नै फेला पर्ने गरेका छन् । यो तथ्याङ्कअनुसार मासिक औसतमा झण्डै ६ जना हराउँछन् । त्यसमध्ये एकजनाभन्दा बढी बालबालिका हुन्छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका, जेष्ठ नागरिक सेवा केन्द्रको तथ्याङ्क केलाउँदा हराउनेमा बालकको संख्याभन्दा बालिकाको संख्या निक्कै माथि छ ।
चालू आर्थिक वर्षको आठ महिनामा एकजना बालक हराएका छन् भने हराउने बालिकाको संख्या १० छ । हराउनेमा बालिकाको संख्या धेरै भएपनि सवै फेला पर्न सकेका छैनन् । तर, हराएका बालक भने सवै फेला परेको तथ्याङ्कले देखाएको छ । हराएका बालिकाहरु मध्ये अझै पनि दुई जना कहाँ छन् टुङ्गो लाग्न सकेको छैन् । सो अवधिमा २६ जना महिला हराएकोमा १४ जनामात्र फेला परेका छन् ।
बाँकीको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नायव निरीक्षक मिलनकुमारी राईले बताइन् । १३ जना पुरुष हराएको भन्दै खोजीका लागि निवेदन पर्यो तर, ६ जना अझै सम्पर्कविहीन छन् । उनीहरु कहाँ छन्, कुन अवस्थामा छन्, देशभित्र छन् कि बाहिर छन्, यकिन भन्न सकिने अवस्था नरहेको बताइएको छ ।
कतिलाई आफ्न्तले फेला पार्ने र कतिलाई प्रहरीसहित सरकारी र गैरसरकारी संघसंस्थाले फेला पारेर आफ्न्तकहाँ बुझाउने गरेको छ भने कति आफैं फर्की आउने गरेका छन् । फेला परेका महिलामध्ये ३ जनालाई आफन्तले फेला पारेका थिए भने पाँचजना आफंै फर्किएका थिए । तीनजना सम्पर्कमा आएका र तीनजनालाई प्रहरीले फेला पारेको थियो । सातजना फेला परेका पुरुषमध्ये तीनजना आफैं आए भने दुई जनालाई आफन्त र बाँकी दुई जनालाई प्रहरीले फेला पारेको थियो । यसैगरी हराएका एकजना बालकलाई आफन्तले नै फेला पारे ।
तीनजना बालिकालाई आफन्तले, दुई जना आफंै आए भने तीनजनालाई प्रहरीले फेला पारेको थियो । साउनदेखि फागुनमहिनाको अन्त्यसम्ममा एक जना पुरुष हराए पनि तत्कालै फेला परे ।
हराएका बालबालिकासहित अन्यको खोजतलासमा सक्रिय सरकारी तथा गैरसरकारी संघसंस्था र आफन्तहरुका अनुसार उमेर पुगेका धेरैजसो मानिस आफ्नै घरायशी कारणले घर छाडेर हिँड्ने गरेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टासहित अन्य सरकारी र गैरसरकारी संघसंस्थाहरले हरेक दिनजसो हराएका बालबालिकाको खोजीमा सहयोग पुगोस् भनेर तत्काल खवर गर्न पटक–पटक आग्रह गर्दै आएका छन् ।
मानिस हराएको केही दिनपछि मात्रै सरकारी संयन्त्रमा सूचना दिने परिपाटी रहेको माइती नेपाल प्रदेश नम्बर १ का प्रमुख गोविन्द घिमिरेलेको भनाइ छ । कम भेटिनुका पछाडि यो पनि कारण हुन सक्ने उनको तर्क छ । हराए पछि ढिलै भएपनि खवर गर्ने, फेला परेपछि नगर्ने परिपाटीले पनि अहिले फेला परेकाहरुको आधिकारिक तथ्याङ्क नहुने उनको भनाइ छ ।
बालबालिकासम्बन्धी ऐन २०७५ मा स्थानीय तहमा बालअधिकार समिति गठन हुनुपर्ने र स्थानीय तहमै बालकल्याण अधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था भए पनि बालबालिकाको कानूनप्रदत्त अधिकारको विषय स्थानीय तहको प्राथमिकतामा परेको छ कि छैन अनुगमन गर्न आवश्यक रहेको महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाका अधिकारीहरु बताउँछन् ।





























