कनकाईमा ‘विद्यालयमा मनोविज्ञान’ कार्यक्रम शुरु

0
1008

सुरुङ्गा ।


झापा सुरुङ्गाको कनकाई माध्यमिक विद्यालयमा ‘विद्यालयमा मनोविज्ञान’ कार्यक्रम शुरु भएको छ ।

कनकाई नगरपालिकाको सहयोग रहने उक्त कार्यक्रम ५ वर्षसम्म सञ्चालन गरिनेछ । उक्त परियोजना अनुसार विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुलाई विभिन्न चरणमा तालिम तथा परामर्श प्रदान गरिने र विद्यार्थीप्रति शिक्षक तथा अभिभावकको हेराइ र व्यवहारमा आमूल परिवर्तन हुने बताइएको छ ।

नेपालमा यो परियोजना ३ सय ८९ वटा विद्यालयमा लागु गरिएको छ । उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा प्रमुख सहजकर्ता मनोवैज्ञानिक डा. सुशिल कँडेलले अभिभावक र शिक्षकको असल व्यवहारले विद्यार्थी असल हुने बताए ।
मनोविद् कँडेलले नेपालमा विद्यार्थीहरुले ८०% समस्या घर वा अभिभावकबाट ल्याउने र २०% समस्या शिक्षकहरुले सृजना गर्ने एक अध्ययनले देखाएको बताउँदै आफ्ना नानीबाबुलाई अंकको पछि नलगाएर विषयवस्तु जान्ने बनाउन अभिभावकहरुले सोच्नुपर्ने उनले बताए । नानीबाबुहरुलाई उमेरभन्दा बढी भार नबोकाउन शिक्षक तथा अभिभावकसँग उनको अनुरोध थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद प्रसाई, सदस्यहरु बिमला बस्याल, रामकुमारी संग्रौला, सरिता चिमरिया, सरस्वती मावि कमल गाउँपालिकाका पूर्व प्रअ दुर्गा सेडाई, पूर्व विद्यार्थी स्वस्तिका फुयाँल लगायतको आतिथ्य रहेको कार्यक्रममा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमको स्वागत मन्तव्य रहेको थियो भने विद्यालयका प्रअ कर्णबहादुर डाँगीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले मनोवैज्ञानिक ढंगबाट सिकाइ सहजीकरण गर्न ५ वर्षसम्म सञ्चालन गरिने ‘विद्यालयमा मनोविज्ञान’ कार्यक्रमले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here