अनि हरिराम बाजेले टोपी झिके र कपाल कन्याए !

२८ चैत्र २०७७, शनिबार मा प्रकाशित

व्यंग्यनारान पाँडे,

गएको कात्तिक पाँच गतेयता ‘सर्खारी कम्रेट’ छाप भोटो लगाएर उफ्रीपाफ्री गर्ने बिजिनेस गाउँ–समाजका ठेट्ता–ठेट्नी, भूइँफुट्टा डेडअक्कली र भालुभुत्ते टाठा–टाठी र बाठा–बाठीका लागि निक्कै नै आकर्षक भएको देखिँदो छ । यस हुलामालामा पुराना दिनका गौंथलीको बाऊको सक्कली अवतार भएर स्थानीय हरिराम पुरेत बाजे भनेपछि चिनिने व्यक्ति निकै अगाडि छन् । र, यी हरिरामबाट दग्धी भोगिरहेका धेरै छिमेकी, टोले र वरपरका चिन्हारुमध्ये बढी पीडित म पनि हूँ । उइले गौंथलीको बाऊबाट दग्धी सहेको अनुभवले हरिरामको दग्धी सहन केही सहज भएको छ, नत्र यसैकारण घर–जग्गा बेचेर भाग्नुपर्ने ! बेला–कुबेला आइरहने, बेकामे कुरा बर्नाउने, ठालू पल्टेर खपिनसक्नु मपाइँ हाँक्ने र बेमतलबमा गिदी गिजोलेर वाक्क लाउँछन् हरिरामले पनि गौंथलीको बाऊले जस्तै !

आज मकहाँ आइरहेका हरिराम बाजे उर्फ ‘कम्रेट हरिराम’–ले बरण्डामा उक्लिनासाथ भने— बरु मलाई कसैले ठ्याम–ठ्याम कुटोस् तर हेपेर डोमिन्याट चइँ नगरोस् भन्छु क्या म । डोमिन्याट हुनपर्दा चइँ मलाई जिउँदै मरे जस्तो अनुभौ हुन्छ । यो ठूलो मान्छेको सोभाभै हो क्यारे । ‘ठूलो मान्छे’ गर्न काँहाँ सइलो–इजिलो हुँदोरंछ त ? तपइँहरू जैसो सर्भसादारानलाई एस्तो माउसुस हुँदैन र डोमिन्याट हुँदा पनि निढुक्कै हुँदो हो नि ? यो पोल्टिकल बिख्नेसमा डोमिन्याट सहन मिल्दैन ।”….

मैले केही त बोल्दै पथ्र्यो र भनें— “पहिला–पहिलो भए ठीकै हो, त्यस्तै हो दुनियाँ भन्न मिल्थ्यो तर अहिलेका तपाईंलाई पनि हेप्ने–डोमिनेट गर्ने आँट कसैले गर्छ र ? सबै डराउनुपर्ने अवस्था छैन र तपाईंसित ?”
उनले भने— “ती क्या त, अस्ति सन्सरबार मसित आकी आफ्नी छोरी मनकुमारीले तपइँको अकम्रेटी कुराको सपोटमा मेरा नाकाँ अम्लो ल्याम्दै मेरो एत्रो भामट पोल्टिस्यान मज्र्यादालाई डोमिन्याट गर्या तपइँले इनै आँखाले देख्या— इनै कानभरि सुन्यै होउ त । अरु–अन्ने कसैले तेति गर्या भा त मैले जान्या थेँ ।”

मैले बित्थामा प्याच्च भनें— “अनि अनुशासनको कारवाही गर्नु नि त ।”उनले आँखा तिखारेर मलाई हेर्दौ भने— “म सोएम् सर्खारी कम्रेटले आफ्नी छोरीलाई कस्तो कारबाइ गर्नु भन्या तपइँले हँ ?”
मैले केही नसोची तुरुन्त जवाफ फर्काएँ— “ती क्या त, तपाईंहर्को सरकारी फब्ल्याँटोतिरको एमालेका अध्यक्ष–प्रधानमन्त्रीबाट अर्को फब्ल्याँटो एमालेका माधव नेपालहर्लाई कारवाही गरे जस्तो ।”
पहिला–पहिलो झनक्क रिसाउँदा गौंथलीको बाऊले जस्तै प्याट्ट हात पढ्काउँदै च्याँठिएर भने उनले—“तपाइँले बिचार–बिभेक र नन्सेन्स नै नराखी मेरी छोरी मनकुमारीलाई कारबाइ गर्नु भन्र मलाई किन भट्काउनु खोज्या ? म सोएम् बाऊ एमालेको सर्खारी पाटीमा छु भने मेरी छोरीलाई उसले जे नै गरे पनि कारबाइ गर्न मिल्छ ?

हामेरको पच्छेकालाई कारबाइ गर्ने अर्को कुन सर्खार छ एस देशाँ ? पीन डरप साइलेन भऊ र मेरा कुरा सुन— म जिउँदो भउन्जेल यो हामेरको एमालेको चाइनेकेर सर्खारी पाटीलाई गेटाउटमा पारेर कस्सैले अर्को सर्खार थापित गर्न दे त मरिजाउँ । तेस्तो बल्यो भीउँसेने सर्खार हो यो । र, यो सर्खारका हुक्कुम–उर्दीले यो देश चलुन्जेल….. दिमाखको लिबरमा राख हओ पाँडेजी…..तेतिन्जेल म एइ पाटीमा हुन्छु क्या । म भउन्जेल मेरी छोरी मात्तै के मेरा फुपाजुकी झट्केली भान्जीका देवरको सालोलाई समेत सात खुन माफ हुन्छ— लु जा ! भनेसि तपइँले कुरो किल्लेर बुज्यौ होला नि ? कुरो बुजेर नि बुज पचाइराख्या होउ भने तपइँका ग्र–दशा अरिस्ट भछन् भन्ने चइँ बुज । मसित अन्नेथा कुरामा डिस्केस नारेर मेरा कुरालाई डोमिन्याट गर्नेलाई काटमाडुँको पर्दानमन्त्रीको दर्बार भको लल्ता निभासको माटो हिन्नामिन्ना काण्डमा माधौ नेपाल र डाग्डर बाउरामलाई फँसाउन अक्तिआर–उक्तिआर सर्भोच्च–उर्मच्चतिरड रेडी हुँदै गर्या जालोमा पार्दिम ? भन्र ठण्डा बनाउने मसित तपइँ पनि बढता डिस्केस नगर नि । केइ लागेन भने रामदुलारी र मुसीकी आमा दोडा कम्रेट्नीलाई खटा’र म तपइँ जैसा मुङलिसे सक्ला व्याक्तिलाई त झन् इजिलै किस्नबादुर मोरालाई जैसै एक भन्नु न दुई पारिहाल्छु नि ।”

म के भनेर उनलाई धपाउन टाँट्तैथेँ, उनैले खत्खत्खत् हाँसो हाँसेर भने— “तपइँले पैलो कुरो त डोमिन्याट भन्ने इँलिसको अङरेजी सब्धको माने के भन्ने नै बुज्या रैनछ क्यार ?”
मैले भनें— “के हो, बुझाउनु नि त ।”

उनी भन्न थाले— “ती क्या त, हामेरका अदच्छे–प्रमम् कम्रेट मउसुपका प्रेस सेक्टेरी क्या त— खरायो कि चील–गिद्ध पङ्छीहर्का जैसा मनपैटै चस्स घोत्ने जैसा तिखा आँखा भका र काँक्रो–स्याउ दार्ने अगिल्ला दाँत पनि कइलेइ नदेखाउने सूर्जे नाम भए नि अउँसीको रात जैसो अन्भारधारी नभयुवक, क्या त ? होओओओ ह्वाँले माधौ नेपाल–पुस्पकम्बल दाल जैसा भूतपूर्वक पदानमन्त्रीको दर्जाका पाका र लम्बरी कम्रेटहर्लाई समेत ‘कमिनिस गर्न’ सिकाउँदै फैलोट गर्ने बिग्गेपतिमा कस्ता हेपुआ सब्धहर्ले डस्ने गर्नु हुन्छन् ? तेसो गर्नु खास डोमिन्याट गर्नु हो ।

ती दोडा बूडा किनभने अ‍ैले सर्खारी पाटीका एगेनेसमा छन् । उइले, पोर हो कि प्रार, सत्तरी कडोर रुप्पे कमिसिन घाँटीबड उगेल्न बाद्दे भएसि लाज र सर्मले ङ्च्चि परेर मन्त्रीबड रिजाएन गर्ने गोक्कुल बाँस्कोटा— ती क्या त, रिसाको लाटकोसेराका जैसा आँखा र जंगबादुर राँडाको आठपरियाको जैसो उन्मत्त घमण्डी अन्भार परेका, क्या त ? होओओओ ह्वाँ मन्त्रीको पाओरमा भइराख्या ट्याममा पत्रकार गर्न च्याम्पेन–च्याम्पेन सन्पादक मउदएहर्लाई समेत राँडाकालका गोरुआँखे अत्तेचारी सामान्ती जिमिदारले उसकाँ रीन चुक्ताउन बसेका कमइया र हलि–गोठालालाई गर्ने जैसै बेभार गर्नुहुन्थे । तेसरी तेस्तो बेभार गर्नु डोभिन्याट गर्नु हो भन्ने मैले उइले धरानको पिण्डेसोरमा रुद्री पढ्न सिक्ता नै जानेको हूँ । तेसो भकाले गर्दाउँदी बुद्नुपर्ने कुरो के हुन्छ भन्लाऊ भने डोमिन्याट परायालाई गर्ने र ठेगान लाउने जिनिस हो, आफ्नाले आफ्नाको डोभिन्याटको जुआप डोभिन्याटैले दिने होइन क्या ।”

मैले लामो आङ तानें, दिमाग खल्बलियो कि भनेर टाउको हल्लाएँ र भने— “इन्डीयाका धेरै ठाउँमा रेल चल्दैछन्, हिटलर मरेको सयौं वर्ष भयो, चन्द्रमामा युरेनियम पाइन्छ भनेर बज एल्ड्रिन र नील आर्मस्ट्रङ गएरै हेरेर आए, सन् १६४८ मा ताजमहल बन्यो, एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सन् १९५३ मई २९ मा सगरमाथा चढे, मैले बी.एस्सी पास गर्दा मेरो उमेर १८ वर्षको थियो भने कमरेड हरिराम पुरेत बाजे !— तपाईंहरुको अहिलेको कम्युनिस्ट शासकीय जोखाना हेरेर फ्याट्ट भन्दिनु त मेरो उमेर कति भयो र म कहिले जन्मिएको हूँ ? तपाईं जस्तो सर्वज्ञ हूँ भन्ने कमरेडलाई यति भन्न त अवश्य नै असजिलो नहोला नि होइन ?”

म बोलिरहँदा हरिराम पुरेत बाजे कान कम सुन्ने देहाती बूढाले अलिकति मुख खोलेर ट्वाल्ला परी नेताको भाषण सुने झैं मेरा बोली सुनिरहे र म बोल्न छाडेपछि टोपी झिकेर कपाल कन्याए ! बस् !!…..

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here