फेरि बढ्यो त्रास

0
954

नेपालमा कोरोनाको दोस्रो लहरमा संक्रमणको दर बढ्न थालेको छ । दिनहुँ वृद्धि हुँदै गएको संक्रमणले जोखिमलाई झनै बढाएको छ । छिमेकी देश भारतमा कम हुँदै गएको संक्रमण फेरि थपिएर दिनहुँ बढ्दो क्रममा छ । त्यसको असर खुल्ला सीमाना र निर्वाध आवागमनले नेपालमा पर्नु अस्वभाविक होइन । यस्तोमा हाम्रो हेलचेक्र्याइँको प्रवृत्तिले संक्रमणको जोखिम उच्च बनाउँछ नै र सावधानी नअपनाउने हो भने आफ्नो–आफ्नो परिवार र इष्टमित्र मात्रै होइन ठूलो संख्यामा नेपालीको ज्यान जोखिमको भुँवरीमा पर्ने निश्चित छ । भारतसँग सीमाना जोडिएका क्षेत्रहरुमा कोरोना संक्रमणको दर उकालो लाग्दै गएको छ । शून्यमा झरिसकेको संक्रमण अहिले ‘तीन वटा’ अङ्कमा उक्लिएको छ । अर्थात् करिब दुई सय जना नेपाली संक्रमित हुन थालेका छन् ।

संक्रमण बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले धेरै भीडभाड हुने ठाउँहरुमा अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । खासगरी विद्यालय जाने बालबालिकाहरुमा संक्रमणको जोखिम उच्च रहने भन्दै सरकारलाई विद्यालय बन्द गर्न सुझाएको छ । यस अनुसार सरकारले राजधानीमा संक्रमण रोक्न भन्दै सार्वजनिक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नबोल्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरसफाईमा विशेष ध्यान दिन निर्देशन नै दिइसकेको छ । यद्यपि आम मानिसमा कोरोनाको त्रास हटिसकेको छ । भीडभाडमा जान, सभा जुलुसमा भाग लिन त सरकार आफैंले प्रोत्साहन गरेको छ । तथापि व्यक्तिको सचेतना आफ्नो स्वास्थ्यको रक्षाका लागि हुनुपर्दछ ।

अहिलेसम्म कूल जनसंख्यामा पौने तीन लाख नेपालीमा संक्रमण भइसकेको छ । उपचारदेखि सुरक्षासम्मका बन्दोबस्तीका सबै सामानका लागि अरुकै भर पर्नुपर्ने नेपालीका लागि संक्रमणको यो अवस्था आफैंमा चुनौतिपूर्ण छ । अझ पछिल्लो अनुसन्धानहरुले संक्रमण जितिसकेकाहरुमा झन् जटिल स्वास्थ्य समस्या देखिएको निष्कर्ष निकालेको छ । यस्तोमा उपचार खोज्नुभन्दा रोग लाग्नै नदिने सावधानी अपनाउनु बुद्धिमानी ठहरिएला । अतः पूर्र्ण सुरक्षाका उपायहरु सफाई गर्ने, भीडमाडबाट जोगिने, मास्क लगाउनेदेखि सम्भावित अवस्थामा क्वारेन्टिन लगायतका विधिको पालना गर्न अल्छी गर्नुहुँदैन । यसको दीर्घकालीन नियन्त्रणका लागि खोप लगाउने, सबैलाई पु¥याउने र त्यसको गुणस्तरमा सम्झौता नगर्नेसम्मका सचेतना आजको आवश्यकता हो । त्यसैले संक्रमणको दोस्रो लहरको यो क्षणमा सरकारको तदारुकता यसविरुद्ध हुनुपर्दछ । सरकार केबल सत्ता रक्षाको अंकगणितमा रमाइरहने हो भने कोरोना संक्रमण महाविपत्ति बनेर नेपालीका लागि दुःखको कारण बनिने छ । त्यसैले आम जनताले सावधानी र रक्षात्मक उपायको अवलम्बनमा चुक्नु हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here