सदाचारी शिक्षाको खाँचो

३० चैत्र २०७७, सोमबार मा प्रकाशित
  • 327
  •  
  •  
  •  
  •  
  •  
    327
    Shares

पछिल्लो समय आपराधिक घटनाहरु बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले चालू आर्थिक वर्षको आठ महिनामा दर्ता भएका मुद्दाका संख्याहरुको आधारमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, करणी उद्योग, आत्महत्या जस्ता गम्भीर प्रकृतिका मुद्दाहरु बढेको जानकारी दिएका हुन् । प्रहरी प्रवक्ताले गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा १६.१६ प्रतिशतले अपराध कम भएको, तर गम्भीर प्रकृतिका अपराध भने बढेको बताएका छन् । प्रहरीको तथ्यांक अनुसार कूल छब्बीस हजार तीन सय छ वटा मुद्दा चालू आर्थिक वर्षको फागुनसम्ममा दर्ता भएका छन् । उक्त संख्याका आधारमा प्रतिदिन औशत एक सय दश वटा अपराधका घटना भइरहेका छन् ।

प्रहरीको तथ्यांक अनुसार गएको आठ महिनामा देशभर चार हजार चार सय तिरासी जनाले आत्महत्या गरेका छन् । गत वर्षको त्यही अवधिमा कूल तीन हजार पाँच सय चौंतीस वटा आत्महत्याका घटना भएका थिए । चालू आर्थिक वर्षमा वृद्धि भएको आत्महत्याको दरलाई विश्लेषण गर्दा दैनिक सरदर सत्र जनाले आत्महत्या गरेका छन् । यसैगरी जबर्जस्ती करणीका एक हजार छ सय त्रिपन्न घटना दर्ता भएका छन् । दैनिक सरदर सात वटा जबर्जस्ती करणीका घटना भएका मध्ये झण्डै बाह्र प्रतिशत हाडनाता सम्बन्धका रहेका छन् । यस्तै कर्तव्य ज्यान सम्बन्धी मुद्दा यही अवधिमा चार सय सड्चालीस वटा दर्ता भएका छन् । यसरी अपराधहरु प्रत्येक वर्ष बढ्दै जानुले समाजमा असुरक्षा बढेको अनुभूति हुन थालेको छ ।

इतिहासले लिच्छवीकालको शासन व्यवस्थालाई ‘स्वर्ण युग’ भनेको छ । नेपालको प्राचीन इतिहासको उक्त कालखण्डमा जनता ढोका नथुनी आनन्दले निदाउँथे भनिन्छ । चोरी, डकैती, लुटपाट लगायतका घटनाहरु समेत नहुनु त्यो बेलाको समाज समृद्ध रहनुको परिणाम हो । तर, आज हाडनाता करणीदेखि छोराछोरीबाट आमाबाबुसम्म असुरक्षित रहेको घटनाहरु सार्वजनिक हुन थालेका छन् । कोही कसैको नहुने आत्मकेन्द्रीत चिन्तन, मानसिकता र व्यक्तिवादी सोचाइले नेपाली समाज इतिहासको गौरवबाट च्यूत हुँदै गएको छ । यसो हुनुका पछि भौतिकवादी चिन्तन प्रमुख कारण हुनसक्छ । सुख, भोगविलास नै प्रत्येकको अन्तिम लक्ष्य भएकाले त्यसकै प्राप्तिका लागि मानिस आपराधिक कर्म गर्न उद्दत हुन थालेको उदाहरण छन् । विज्ञानको विकासले गरेका अनेक खोज तथा आविष्कारहरुको दुरुपयोगले, पैसा भए संसारको सबै सुख उपभोग गर्न पाइने संकीर्ण सोचले मानिस हत्या जस्तो अमानवीय कार्य गर्न अग्रसर हुन थालेको छ । यस्तो अपराधलाई न्यूनीकरण गर्न नयाँ पुस्तालाई नैतिक शिक्षा दिन आवश्यक छ । हाम्रो परम्परागत मूल्य र मान्यतालाई पुनर्जिवित गर्न आवश्यक छ । विश्ववन्धुत्वको भाव जाग्रत गर्दै सहअस्तित्व, सहभागिता, सहकार्यको संस्कृति पुनर्जागृत गर्न आवश्यक छ । केवल प्रहरी सक्रियता वा स्तरोन्नतिले मात्र अपराधको मनोरोगलाई नियन्त्रण गर्न सकिँदैन । तसर्थ, शासकहरुबाटै सदाचारी, नैतिक र आदर्श नेतृत्व अघि सार्नु पर्छ । त्यसकै अभिभावकत्व संस्कारित शिक्षाको माध्यमबाट लोकोपकारी कार्य गर्न अभिप्रेरित गरी सभ्य समाज निर्माणमा लाग्नु पर्दछ । अनि मात्र अपराध, अपराध मानसिकता र प्रवृत्तिको अन्त्य हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here