संकट बढ्यो,सजगता पनि बढाऔं

३१ चैत्र २०७७, मंगलवार मा प्रकाशित

पछिल्लो एक महिनादेखि कोरोनाको संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत डेढ हप्तायता संक्रमण तीव्र दरमा बढ्दै गएको भन्दै स्वास्थ्य मापदण्डको पालनामा लापरवाही गरिरहने हो भने सम्पूर्ण सेवा ठप्प पार्नुको विकल्प नहुने बताएका छन् । गत वर्ष कोरोना त्रासका रुपमा आएको थियो । तर, यो वर्ष ‘नयाँ भेरियन्ट’ सहितको संक्रमण देखिएकाले झनै सजग हुनुपर्ने मन्त्रालयको भनाइ छ । जनस्वास्थ्यविद्हरुले पनि भारतमा नयाँ स्वरुपको भाइरसको पहिचान भइसकेको र त्यही अनुपातमा संक्रमण तीव्र दरमा विस्तार भइरहेको सन्दर्भमा जोखिम उच्च रहेको भन्दै नेपाल प्रवेशका विन्दुहरुमा उच्च सतर्कता र निगरानी बढाउन सुझाव दिएका छन् ।

गएको एक महिनाको अवधिमा भएको संक्रमणको विश्लेषण गर्दा संक्रमण सात गुणाले बढेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । तर, आम मानिसमा भने कोरोनाको त्रास देखिन छाडेको छ । शंकास्पद व्यक्ति नै परीक्षण गर्न नजाने, मास्क नलगाउने, साबुनपानीले हात नधुने, व्यक्तिगत दूरी कायम नगर्ने जस्ता मापदण्ड विपरीतका व्यवहार देखाइरहेका छन् । त्यसैगरी देशभरि नै जात्रा, मेला, महोत्सव जस्ता अत्यधिक भीडभाड हुने गतिविधिहरु निसंकोच भइरहेका छन् । राजनीतिक दलहरुका गतिविधिले पनि जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरिरहेका छन् । जोखिम रहँदा–रहँदै पनि सत्तारुढ दल कै भीडभाडपूर्ण गतिविधिहरु भइरहेका छन् । स्वास्थ्य मन्त्रालयले अघिल्लो महिना औसत एक सयको हाराहारीमा विरामी हुने गरेकोमा अहिले तीन सयभन्दा बढी विरामी थपिन थालेका छन् । कोरोनाको सक्रिय संक्रमणको संख्या अघिल्लो महिना नौ सयको हाराहारीमा रहेकोमा पछिल्लो महिना झण्डै तीन गुणाले बढेर दुई हजार सात सय पुगिसकेको छ ।

मुलुक एकातिर कोरोना संक्रमणको त्रासदीले ग्रस्त छ भने अर्कातिर वायु प्रदूषणको नयाँ समस्या थपिएको छ । ‘घरभरि पाहुना, बाबै थप’ उखान चरितार्थ हुने अहिलेको परिस्थितिप्रति आम जनताले गम्भीर हुनैपर्छ । हाम्रा आनीबानीमा सुधार गर्दै खानपानदेखि स्वास्थ्य सुरक्षाका उपायहरुको पालना गर्नैपर्छ । कोरोना वर्तमानको संकट हो भने भविष्यमा अझै थुप्रै विपद्हरुको प्रतिरक्षाका लागि तम्तयार हुनुपर्नेछ । देखिनेभन्दा नदेखिने त्रासले उत्पन्न गर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्दै सुन्दर, शान्त र निर्विध्न भविष्य निर्माण गर्न आफू–आफू लागीपर्नु बुद्धिमानी हुन्छ । देशको स्रोत, स्वास्थ्य सेवाको उपलब्धता र पहुँचलाई दृष्टिगत गरी रोग लाग्नै नदिने अवस्था निर्माण गर्न हामी सबैले आ–आफ्नो ठाउँबाट अग्रसरता देखाउनैपर्छ । मानवनिर्मित यस्ता संकटहरु मानवकै सचेतताले कम गर्दै लान सकिन्छ, यसतर्फ चनाखो होऔं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here