कचनकवलमा इँटा उद्योगीको मनपरी: माछापोखरीको नाममा जथाभावी माटो उत्खनन्, उत्खनन् गर्ने कार्यविधि नै छैन गाउँपालिकामा

३१ चैत्र २०७७, मंगलवार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला क्षेत्र नै मास्ने गरी माटो खन्दै दोहन गरिरहेको पाइएको छ । कचनकवल गाउँपालिका–६स्थित चण्डी इँटा उद्योगले खेतीयोग्य जमिन खरिद गर्दै जथाभावी माटो खन्दै गरेको घटना बाहिरिएसँगै गाउँपालिकाभित्र सञ्चालित इँटा उद्योगहरूको पूर्वाञ्चलकर्मीले स्थलगत अवलोकन गर्दा यस्तो देखिएको हो ।

इँटा उद्योगीहरूले खेतीयोग्य जमिन र खोला मास्दा समेत कचनकवल गाउँपालिका मौन देखिएको छ । गाउँपालिकाभित्र र पालिका बाहिर सञ्चालित इँटा उद्योगीहरूले दिनहुँ लापरबाही पूर्ण तरिकाले जेसीभी प्रयोग गरी जमिन खनेर टिपरमा हालेर माटो लैजाँदा समेत स्थानीय जनप्रतिनिधि रमिते बनेको स्थानीय किसानले आरोप लगाएका छन् ।

कचनकवल वडा नम्बर ५, ६ र ७मा ६ वटा चिम्नीबाट पाँचवटा इँटा उद्योग सञ्चालित छन् । नुर आलमको ज्योति इँटा उद्योग, अजिम आलम र सैफुद्दिन हकको एसविआइ इँटा उद्योग, नुर आलमकै प्रेम इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग र रहिम आलमको स्टार इँटा उद्योग सञ्चालनमा छन् ।

इँटा बनाउन चाहिने मुख्य कच्चा पदार्थ भनेकै माटो हो, ती उद्योगहरूले त्यही आसपासका खेतीयोग्य जमिन, खोला तथा खोला आसपासका क्षेत्र खनेर माटो प्रयोग गर्दै आइरहेको छ । गाउँपालिकामा सञ्चालित इँटा उद्योगले कहाँबाट कसरी माटो खनिरहेको छ यसको कुनै लेखाजोखा नरहेको स्थानीय कनक राजवंशीले बताए । ‘गाउँपालिकाले यसलाई रोकथाम गर्नुपर्ने हो’– उनले भने– ‘किसानको कुरा जनप्रतिनिधिले नसुन्दा माटो दोहन नरोकिएको हो, यसको परिणाम बर्खाको बेला अवश्य यहाँका जनताले भोग्नुपर्नेछ ।’

नियमविपरीत माटो खन्दै इँटा उद्योगी

खोलासँगै रहेको ऐलानी जमिन समेत इँटा उद्योगीले नछाडेको किसानहरूले आरोप लगाएका छन् । वडा नम्बर–६ र ७को सीमामा पर्ने वडझोडा पैनी अहिले खोलामा परिणत भएको छ । पैनी नजिकै सञ्चालित चण्डी इँटा उद्योगले स्थानीय किसान भक्तबहादुर कटुवालको निजी जमिन र पैनीको माटो निकालेर निजी जमिन पुर्नुका साथै उद्योगमा समेत प्रयोग गरिरहेको छ । चण्डी उद्योगलाई मैले नै जमिन बिक्री गरेको हो– किसान कटुवालले भने– ‘अहिले उद्योगले शक्तिको दुरुपयोग गरेर नियम विपरीत मेरो जमिन र खोला खन्दैछ, उद्योगीलाई जमिन बिक्री गर्नु नै मेरो ठूलो गल्ती भयो, सुनवाइ कहीँबाट हुँदैन ।’ ‘जथाभावी खेतीयोग्य जमिन खन्दा सय मन धान फल्नेमा अहिले २५ मन पनि उत्पादन हुँदैन’– उनले गुनासो पोखे । उद्योगी घिमिरेले खोला नियम विपरीत खनेपछि त्यहाँका किसानले गाउँपालिकामा मौखिक जानकारी समेत गराएका थिए ।

किसानले जानकारी गराएपछि गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीसहितको टोली घटनास्थल पुगेर खोलाको अवलोकन गरेको थियो । अवलोकनको क्रममा खोला मासेको पाइएपछि त्यसलाई ढाकछोप गर्न उद्योगी घिमिरेले अहिले जेसीभी प्रयोग गरेर धमाधम खोला मिलाउने काम गरिरहेको रिपोर्टिङको क्रममा भेटियो । खोला नजिकै यसअघि उद्योगीले निजी जमिन खनेर पोखरी नै बनाइसकेका छन् ।
यता सरकारी पैनीबाट माटो काटेको विषयमा तत्काल इँटा उद्योगी घिमिरेलाई बोलाएर सचेत गराइएको उपाध्यक्ष राजवंशीले बताइन् ।

खोला क्षेत्र नै मासियो

वडा नम्बर–७ स्थित गाउँपालिकाको भवन निर्माणस्थल नजिकैबाट बग्ने वडझोडा खोला समेत इँटा उद्योगीहरूले मासेका छन् । बर्खाको बेला डुबान हुने त्यस खोला आसपासका क्षेत्रको माटो ज्योति इँटा उद्योगले अवैध रुपमा उत्खनन् गरेको स्थानीयले आरोप लगाएका छन् । उद्योगले खोला नजिकै जथाभावी जेसीभी प्रयोग गरेर उत्खनन् गर्दा खोलाको स्वरूप नै परिवर्तन भएको छ ।

त्यस खोला आसपासमा उद्योगीकै निजी जमिन रहेको छ । जमिनसँगै खोला बग्छ । तर, अहिले खोलाको गहिराइ र जमिनको गहिराइ एउटै भएको छ । जनप्रतिनिधिकै आडमा उद्योगीहरूले जथाभावी खोला मासिरहेको स्थानीयले बताएका छन् । इँटा उद्योगको दादागिरीका कारण केही गर्न नसकिएको वडा नम्बर ७का वडाध्यक्ष भरतकुमार राजवंशी बताउँछन् । गाउँपालिकामा पटक–पटक जानकारी गराउँदा पनि त्यहाँबाटै असहयोग भएका कारण उद्योगीले जथाभाबी माटो दोहन गरिरहेको उनले बताए ।

माछा पोखरीको नाममा जथाभाबी माटो उत्खनन्

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले गत आर्थिक वर्ष २०७६÷०७७देखि कचनकवल गाउँपालिकामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना, मत्स्य उत्पादन ब्लक कार्यक्रम शुरु गरेको छ ।

प्रदेश सरकार अन्तर्गत रहेको केन्द्रले गत आर्थिक वर्षमा मत्स्य उत्पादन ब्लक कार्यक्रमका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, कोरोना भाइरस सङ्क्रमणका कारण ३० लाख बजेट मात्र खर्च भएको केन्द्रकी नायव प्राविधिक सहायक केदारकुमारी अधिकारी (कल्पना)ले जानकारी दिइन् । ब्लक कार्यक्रममा त्यहाँका १३ जना किसानले केन्द्रबाट अनुदान लिएको उनले बताइन् । त्यसबाहेक निजी लगानीमा माछा पोखरी खनेर मत्स्य पालन गर्नेको विवरण केन्द्रमा नभएको उनको भनाइ छ ।

मत्स्य उत्पादन ब्लकमा सहभागी हुने किसानले पोखरी खन्दा १ मिटरदेखि साढे दुई मिटर ९३ फिटदेखि ८ फिट सम्म० खन्नुपर्छ । तर, गाउँपालिकामा माछा पोखरीको नाममा खनिएका जमिन ८ फिटभन्दा मुनि (गहिराई) सम्म खनिएको पाइएको छ । त्यहाँबाट निस्किएको सबै माटो इँटा उद्योगीलाई बेच्ने गरेको पाइएको छ । पोखरी खनिएका स्थान डुबान क्षेत्र पनि पर्छ । तर, त्यसको रोकथाममा गाउँपालिकाले कुनै मापदण्ड अपनाएको छैन । माटो कारोबारीले उद्योगीलाई टिपरको १८ सयदेखि २५ सयसम्ममा माटो बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।

उत्खनन् गर्ने कार्यविधि नै छैन गाउँपालिकामा

कृषि उत्पादन क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । जथाभाबी खेती योग्य जमिन र खोला दहन गरेर माटो उत्खनन् गर्दै आए पनि त्यसलाई रोक्न गाउँपालिकाले कुनै कार्यविधि बनाएको छैन । निजी जमिनको माटो उत्खनन् तथा ओसारपसार सम्बन्धी कार्यविधि स्थानीय तहले नै बनाउनुपर्ने हो ।

माटोको सहज आपूर्ति गर्ने, सतह नमिलेको खेतीयोग्य जमिनको सतह मिलाउने, माछा पोखरी निर्माण गर्दा बढी भएको माटो बिक्री वितरण गर्ने लगायतका कार्यहरुलाई व्यवस्थित र नियमित गर्नका लागि कार्यविधि तयार पारी कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४, १ नम्बर प्रदेश सरकार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार उत्खनन् र ओसारपसार कार्यविधि बनाउनुपर्ने हो ।
तर, त्यस्तो कुनै कार्यविधि गाउँपालिकामा नहुँदा इँटा उद्योगीले मनपरी माटो उत्खनन् गरी प्रयोग गर्नुका साथै माटो कारोबारीले पनि गाउँपालिकालाई कुनै राजश्व नतिरेर त्यहाँको माटो अन्य पालिकाहरूमा बेचिरहेका छन् । यता गाउँपालिकाकी उपाध्यक्ष राजवंशीले उत्खनन् कार्यविधि पालिकाले नबनाएको बताइन् । उनले भने– ‘उत्खनन् कार्यविधि गाउँपालिकाले बनाउनुभन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने हो ।’

गाउँपालिकाले देखाएनन् चासो

चण्डी इँटा उद्योगीले जथाभावी खेतीयोग्य जमिन खन्न थालेपछि त्यहाँका किसान विरोधमा उत्रिएका छन् । किसानहरूले न्यायका लागि कचनकवल गाउँपालिकालाई लिखित निवेदन दिएका छन् । किसान कार्तिक राजवंशी, भर्दिया राजवंशी, यादवप्रसाद दाहाल, अमृतलाल राजवंशीले चैत ४ गते गाउँपालिकाको न्यायिक समितिलाई न्याय दिलाई पाउँ भनी निवेदन दिएका हुन् ।

तर, गाउँपालिकामा दिएको निवेदनको हालसम्म सुनवाइ नभएको उनीहरू बताउँछन् । न्यायिक समिति संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष राजवंशीले त्यस विषयमा छलफल गरी टुङ्गो लगाउन नसकेपछि गाउँपालिकाका अध्यक्ष अञ्जार आलम समक्ष घटना पुगेको हो । तर, अध्यक्ष आलमले त्यस विषयमा खासै चासो देखाएका छैनन् । उनले कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने भनी किसानलाई आश्वासन दिँदै आएको निवेदक भर्दिया राजवंशीले बताए ।

किसानले बुझाएको निवेदन पत्रमा भनिएको छ– गाउँपालिका–६ बस्ने हामी किसानहरूको जमिनको साँध सीमानामा चण्डी इँटा उद्योगले मनपरी ढङ्गले खेतको माटो खनी मापदण्ड विपरीत लैजाने र मलिलो जमिनलाई रुखो बनाउने कार्य गरेका उद्योगलाई कारबाही गरियोस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here