अबको वर्ष उपलब्धिको होस्

३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

अन्यौल र अस्थिरताका बीच प्रारम्भ भएको वर्ष २०७७ त्यससँगै लड्दै समाप्त भएको छ । शुरुकै दिनमा थपिएको कोरोना संक्रमणको जोखिम वर्षभरि मात्र कायम रहेन नयाँ वर्ष २०७८ को थालनीदेखि अझै त्रासदीका रुपमा उभिएको छ । एकातिर शान्ति, स्थिरता, समृद्धि र सुशासनको वाहक भनिने राजनीति सत्तारुढ दलकै अन्तरद्वन्द्वले अन्यौलपूर्ण भयो भने अर्कातिर कोरोना महामारीले शिक्षा, अर्थ व्यवस्था, उद्योगधन्दा मात्र होइन सम्पूर्ण जीवन नै अस्तव्यस्त बनियो । यही विपदका कारण लाखौंले रोजगारी गुमाउनु प¥यो भने कला, साहित्य र संस्कृति जस्ता सभ्यता र संस्कारका विषयहरुले पनि स्वतन्त्र गतिविधि गर्न सकेनन् । त्यसैगरी आयआर्जनको विश्वासयोग्य आधार पर्यटन व्यवस्था धराशायी बन्न पुग्यो । सञ्चार क्षेत्र पनि बीस वर्षपछि धकेलिने अवस्थामा पुग्यो ।

केही समय सुस्ताएको कोरोना त्रास यो वर्षको प्रारम्भमा फेरि नयाँ रुपमा झनै त्रासदी बनेर आएको छ । नयाँ प्रकृतिको कोरोनाको संक्रमणले अर्थतन्त्रसामु चुनौति नै खडा गरेको छ । त्यसैगरी सत्तारुढ दल नेकपा सर्वोच्च अदालतको आदेशपछि विघटन भई एमाले र माओवादी केन्द्रमा रुपान्तरित भए । प्रधानमन्त्रीले आन्तरिक कलहको व्यवस्थापन गर्नुको साटो प्रतिनिधिसभा नै विघटन गरेर राजनीतिलाई अरु अस्थिर बनाए । प्रधानमन्त्रीको उक्त कदमका विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले विघटनको निर्णयलाई असंवैधानिक ठहर गरिदियो । त्यसपछि स्थापित प्रतिनिधिसभाले अझै लय लिन सकेको छैन । एमाले आफंै फुट र गुटको घनचक्करमा छ, प्रधानमन्त्रीको विकल्प खोजिँदैछ, तर प्रमुख प्रतिपक्षी लगायतका विपक्षीहरुको सहमति ‘भ्यागुताको धार्नी’ पु¥याउनु सरह भइरहेको छ ।

समग्रमा गएको वर्ष उपलब्धिका आँखामा शून्य जस्तै रह्यो । राजनीतिक घटनाक्रमलाई कोरोनाले रुग्ण बनायो । भ्रष्टाचार चुलिएको आरोप लाग्यो तर निरुपण गरिएन । त्यही अवस्थामा शुरु भएको नयाँ वर्ष पनि विगतकै कहर बोकेर आएको छ । सत्तारुढ दलका नेताहरुका सत्ता स्वार्थको मोहले जनतालाई निराश बनाएको छ । जनताको निराशालाई आशा र भरोसाले मल्हम लगाउने प्रयत्न ‘मेलम्चीको पानी’ बाहेक अन्त देखिएन । यद्यपि मेलम्ची क्रमागत कल्पना र योजनाको निरन्तरताको परिणाम हो । इतिहासले बलियो सरकार बनाउन प्रदान गरेको अवसर व्यर्थ हुन गयो, अझै संकट टरेको छैन बरु जिम्मेवार नेताहरुको अमर्यादित र तिक्ततापूर्ण अभिव्यक्तिले झन् गहिरिने देखिँदैछ । यस्तोमा राजनीतिक दलका नेतृत्व पंक्तिले नै सुध्रिनु पर्दछ । सत्तास्वार्थ र मोहको संकीर्णताबाट माथि उठ्नुपर्दछ । सत्ता नहुँदा कमजोर हुइन्छ भन्ने मानसिकता त्याग्नु पर्दछ । यी सबै बेथिति, विकृतिहरुसँगै प्राकृतिक प्रकोप कोरोनाबाट समेत मुक्ति मागेको छ यो वर्षले । यी सबै सबै नेपालीका समान शत्रु हुन्, यिनका विरुद्ध लड्ने क्षमता, चेत र अठोट नयाँ वर्षले दिन सकोस्, नयाँ वर्ष २०७८ को शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here