ने.प. महासंघको निर्वाचन परिणामले कस्तो सन्देश कोरल्यो ?

३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

आम नेपालीले मतदानको रूपमा पोषेको निर्दोष र स्निग्ध विश्वासद्वारा बिधि–प्रक्रिया सम्पोषित हुँदै कार्यकारी पदमा पुगेका तल्ला–उपल्ला सबैले सो विश्वासलाई अलिकति पनि सम्बोधन गर्न नसक्ने अवस्थामा ‘राज्य’–लाई रुग्ण बनाएको छ नभन्नु वर्तमान यथार्थका प्रति इमानदार टिप्पणी पटक्कै ठहर्दैन । उनै कार्यकारी पदवाहक र उनमा मानसिक अधिकारसहित बिसर्जित राजनीतिका हलि–खेताला र उनैलाई स्वार्थसिद्धि दिने दूधालु स्रोत मान्नेहरू बाहेक सबै नेपालीका गुनासा एकीकृत हुने क्रम धमाधम बढ्दो छ र देश धुमिल गुम्फनले घेरिँदो छ । संभवतः, हालै सम्पन्न नेपाल पत्रकार महासंघको देशव्यापी निर्वाचन परिणामले यही सिद्ध गर्ने बाटो अख्तियार गरेको हो ।

नेपालमा ‘पत्रकारिता’—लाई, शासन–संरचनाका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकापछि, चौथो अंगको दर्जामा, अन्तर्राष्ट्रिय मान्यता छेउछाउ पनि, मानेको यो कलमीले आफ्नो छ दशकदेखिको कलमकर्मी यात्रामा मनग्गे देखेको छैन । र, यो व्यक्तिगत बुझाइ मात्र होइन, बौद्धिक सेवा–पेशाको यो विधाका प्रति नैतिक सिद्धान्तमार्गी इमानदार पेशाकर्मीले यस्तै देखिरहेको—भोगिरहेको हुन सक्तछ भन्ने बुझाइलाई अन्यथा अथवा डेउढो ठान्न पनि मिल्दैन । यद्यपि नेपाली पत्रकारहरूले राज्यका शासक, प्रशासक र समाजको हरेक कित्ताका निम्ति दिशानिर्देशकको भूमिका निर्वाह गर्ने व्यक्तिगत–संस्थागत हैसियतलाई चाहिँ, जस्तै अक्करिलो स्थितिमा पनि, निष्प्रभावी नै चाहिँ राखेका छैनन् । विश्व–मान्यताद्वारा सम्पोषित ‘चौथो अंग’–को आत्मानुभूतिलाई जीवन्त रूपमा प्रतिष्ठापित तुल्याउने अग्रसरता साँच्चै अक्करिलो र वैयक्तिक रूपमा घाटाप्रद हुँदाहुँदै पनि नेपाली पत्रकार समाजले समय–समयमा कठिन–कठिन चुनौतीको सामना गरेर आफ्नो अस्तित्वलाई निर्दाग जोगाइआएको छ ।

‘सर्वसत्ता’–को सरेआम अभ्यास भइरहेको वर्तमान अन्योलग्रसित अवस्थामा सबै वर्ग, तप्का र तहका नेपाली राज्यशक्तिको विधि–विलोम चलखेलसँग त्रसित हुनु स्वाभाविक हो । यस्तो अवस्थामाबाट नेपाली समय स्वयम् भयभीत भइरहेका परिप्रेक्ष्यमा राखेर गत चैत २५ गते सम्पन्न नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघको निर्वाचनले कोरलेको परिणाम सर्वसत्तामार्गी सत्ताधारीका लागि कम चोटिलो चढ्कन होइन÷थिएन भन्नु साँच्चै बुझ पचाउनु हो । सत्ताशक्तिको कहाँ–कहाँ कसरी–कसरी प्रयोग भए र त्यसको के–कति विपरीत परिणाम आयो र किन ? यी सबको बेली–बिस्तार छोटो हुँदैन । जिल्लाहरूमा फैलिएका सिंहदरवारिया र बालुवाटारे आठपहरिया (?)–को गतिविधिमा सम्पृक्त दुर्गन्धे हरकतको सटीक वर्णन पनि सम्भव नहोला । तर, त्यति हुँदाहुँदै पनि परिणामबाट के सन्देश प्रवाह भयो र त्यसको भावभूमि के हो त ? सर्वसत्ताको स्वप्नद्रष्टाहरूले खोज्नु उनीहरूकै लागि कल्याणकारी हुनेछ ।

अर्थात्, ‘पत्रकार’–लाई उन्नाइसौं शताब्दीको उत्तराद्र्धदेखि नै आजको विश्वले ‘बौद्धिक वर्गको प्रतिनिधि’ मान्दछ र मान्छे उसको ‘विचार’–ले अन्तर्राष्ट्रिय भइसकेको छ । उहिले बांगलादेश र युगाण्डामा वीभत्स नरहत्या र विध्वंश भइरहँदाको संत्रासपूर्ण चर्चा पेरिसको डान्स बारमा रमाइरहेको मान्छे र मेचीको बगरमा बयलगाडा हाँकिरहेको मान्छेले समानरूपमा गर्नु वा त्यसरी नै अमेरिकी एल्ड्रिन र आर्मस्ट्रङ चन्द्रमामा पुगेर पैदल हिँडेको सुखद् चर्चा ती दुबै थरिले गर्नु उनीहरू विचारले अन्तर्राष्ट्रिय हुनुका प्रमाण हुन् । अतः यो सन्दर्भलाई नेपाली पत्रकार समाजसँग जोडेर भन्नुपर्दा नेपाली पत्रकार, जीवन–व्यवहारका कुरा छोडेर, विचारले भौगोलिक र राजनीतिक सीमारेखाभित्र कैद छैनन् भन्ने बुझ्नुपर्नेहरूले बुझ्न आवश्यक छ ।

देशका शासक–प्रशासकहरूको खबरदारी गर्ने काम निर्भेद–निरपेक्ष सूचनासेवी (पत्रकार)–ले गर्छन् भन्ने स्थापित विश्वासको भावभूमिमा हेर्ने हो भने ने.प. महासंघको यसपटकको निर्वाचन–परिणामले देशबासीमा बिस्तीर्ण आधारभूत असन्तुष्टी र त्यसबाट निष्पन्न आक्रोशको प्रकारान्तरले वस्तुगत प्रतिनिधित्व गरेको देखिन्छ । देशमा छताछुल्ल राजनीतिक दाइँ, संवैधानिक पदीय अधिकारमा विधि–प्रविधिले टेक्न पुगेकाहरूको मैमत्त उफ्रीपाफ्री, देश र देशबासीको प्राथमिकताका विषयहरूको तहस–नहसमाथि सुकिलो उभिएर रेशमी स्वर कोरल्न बाचाल बकवेदांन्तीका स्वप्निल समृद्धि र सुखका ढँटुवा कुरा सुन्दा–सुन्दा थाकेका कानका पीडा, अपूर्व भ्रष्टाचार र कमिशनखोरीका मर्मस्पर्शी थिचोमिचो, मिलिभगते सेटिङबाजीको विधि–विधानमाथि स्वच्छन्द स्वेच्छाचारी बुर्कुसी र यी इत्यादि–इत्यादिलाई ‘राजनीति’–को परिभाषा मान्ने अर्को आश्चर्यको अत्याचारलाई नेपालीले अब क्रमशः परास्त गर्दै जाने पूर्व संकेत ने.प. महासंघको निर्वाचन परिणामले दिएको छ ।

देशबासीको समाजमा अनेक वर्ग छन् । ती सबैका वर्तमान जीवन–जीविका अहसज र गेगरिलो बनेको छ— भलै हरेक वर्गभित्रका ‘केही’–ले दाहिने–देबे्र नहेरी सत्ताशक्तिको दासत्व स्वीकारेर मौलाएका पनि छन् । अतः हरेक वर्गले अवसर पर्खेको अवस्था पनि नहुन सक्तैन । अगुवाइ गर्ने पर्खाइ नहुन सक्तैन । औसत नेपाली झैं सोझासीधा मुसाहरूलाई तीर्थ लैजाने बहानामा आफू अगुवा बनी हिँडाउने अनि तिनै मुसा छानी–छानी हसुर्ने कण्ठीधारी बिरालाको अपराध थाहा पाएपछि र सो बिरालाको घाँटीमा घण्टी बाँधेर ठेगान लगाउने उपाय सोचे पनि ‘घण्टी कसले बाँध्ने ?’— मा अल्मलिए जस्तै अन्य वर्ग अल्मलिएको पनि हुन सक्छन् । अब त्यो अल्मलाई ने.प. महासंघको निर्वाचन मार्फत ७७ खण्डका पत्रकारहरूमध्ये ६७ खण्डकाले सजिलो बनाइदिएका छन् । जागरुक हुने र ‘रैती’— ‘प्रजा’बाट ‘जनता’ बनेका सबै वर्गका नेपालीलाई नेपाली पत्रकारहरूको पछिल्लो साहसिक विवेक अनुशरण गर्दा ‘नागरिक’–मा अवतरित हुन सजिलो हुने भयो होइन र ? अहिलेकालमा त ‘जनता’ कित्ताबाट नेपालीलाई ‘रैती’ कित्ता वा ‘प्रजा’ कित्तातर्फ परोक्षरूपमा गलहत्याइँदै छैन र ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here