भ्यागुत्ताको धार्नी

३ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

प्राक्कथन :

भ्यागुतासँग नेपाली समाज र संस्कृतिमा धेरै कुराहरु र संस्कारहरु छन् । पानी परेन भने भ्यागुताको विवाह गर्ने चलन छ । भ्यागुता करायो भने पानी पर्छ भनेर खेतबारीमा अगुल्टो झोसेर भ्यागुतालाई तर्साएर कराउने बनाइने चलन छ । पर्यावरणमा पनि भ्यागुताको महत्व छ भने जीव विज्ञान पढ्ने विद्यार्थी हुन् वा शोधार्थी उनीहरुले भ्यागुतोलाई चिरेर मानव अंगको अध्ययन गर्ने चलन छ ।

यी विविध कारणले भ्यागुतो नेपाली जीवनमा एउटा परिचित जीव मानिएकोले ऊ सँग जोडेर नेपालीमा एउटा उखान छ भ्यागुताको धार्नी । अर्थात् भ्यागुतालाई जोखेर धार्नी पु¥याउन मुश्किल छ । कारण एउटा हालेर जोख्न खोज्यो फुत्त उफ्रिएर भाग्छ । अर्को हाल्न खोज्यो पहिलाको उफ्रिन्छ । एकैचोटी धेरै भ्यागुता हालेर खुल्ला तुलोमा जोख्न सकिन्न । उफ्रिनु भ्यागुतोको धर्म हो । त्यसैले धार्नी पु¥याउन मुश्किल हुन्छ भनिएको हो । जोख्नलाई बेग्लै विधि अपनाउनु पर्छ र मात्र धार्नी पु¥याउन सकिन्छ भन्ने यस उखानको आशय हो ।

यो उखान अहिलेको नेपाली राजनीतिमा मिलेको छ । अहिले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई फालेर अर्को सरकार बनाउन जुन कसरत भइरहेको छ त्यो भ्यागुताको धार्नी जस्तै भएको छ । यसैले यस उखानलाई सत्ता परिवर्तनको प्रयाससँग जोडेर हेरिएको हो । प्राविधिक हिसाबको प्रसंग राजनीतिमा सत्ता परिवर्तनसँग अहिले मिल्न गएको छ । यसैले पंक्तिकारले यो शीर्षकमा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्ने जमर्को गरेको हो ।

अवस्था :

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरे पनि त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक काम भयो भनेर बदर गरिदिएपछि उनले नैतिक चरित्र देखाएनन् । देखाएको भए उनले राजीनामा दिनुपथ्र्यो । उनले राजीनामा नदिए पनि उनलाई अरु दल जो हिजो ओलीको कदम असंवैधानिक भनिरहेका थिए उनीहरु एकजुट भएर उनीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर अहिलेसम्म अर्को सरकार बनाइसक्नुपर्ने थियो । यो पनि भइरहेको छैन । ओलीको विरोध गर्ने दलका नेता अहिले लोभीपापी भएको जस्तो लाग्छ । यो अवस्था हेर्दा ओलीले राजीनामा दिएको भए पनि अहिलेसम्म अर्को सरकार बन्ने थिएन र बन्ने अवस्था पनि तयार भएको छैन ।

किन यस्तो अवस्था आयो भने अब सरकारको नेतृत्व गर्नेहरु हिजो ओली जस्तै प्रतिगमन गर्ने चरित्र देखाइसकेकै नेता हुन् भन्ने केही दललाई परेको छ भने स्वयम् प्रतिपक्षी कांग्रेसका नेता शेरबहादुर देउवा पनि ओलीको कदमको शख्त विरोधमा थिएनन् । हिजोको अवस्थामा पनि देउवा चुनाव चाहन्थे र अहिले पनि उनी चुनावकै पक्षमा छन् । उनको विश्लेषणमा चुनाव भयो भने कांग्रेसले जित्छ । तर, उनले के बुझेका छैनन् भने ओली प्रधानमन्त्री भएर चुनाव गराए भने अरुलाई चुनाव जित्न दाँत नभएकाले हड्डी चपाउनु सरह हो । अनि देउवाको अर्को विश्लेषणमा चुनाव भएपछि प्रजातन्त्र भइहाल्यो नि । पञ्चायती व्यवस्थामा पनि चुनाव हुन्थ्यो । तर, त्यसलाई स्वयम देउवा पनि प्रजातन्त्र छ भन्ने पक्षमा थिएनन् ।

यही विश्लेषण जनता समाजवादी पार्टीका पहिलेका मधेशी दलका नेता महन्थ ठाकुर र अधिवक्ता पनि रहेका लक्ष्मणलाल कर्णले पनि गरेर बसेका छन् । उनीहरुका साथमा ३३ सांसदमध्ये करिब आधा सांसद छन् । यदि ओलीले उनीहरुका माग पूरा गर्ने आश्वासन दिन सके र त्यसलाई विश्वस्त बनाउन सके भने ती सांसदको समर्थनमा ओलीले बहुमत सिद्ध गर्न सक्छन् । त्यसो हुँदा अबको दुई बर्ष ओलीकै सत्ता अघि बढ्छ । उनैले चुनाव गराउँछन् ।

यदि सकेनन् भने र देउवाले विश्वास दिलाउन सके भने देउवातिर उनीहरु आउँछन् । तब देउवाको नेतृत्वमा सरकार बन्छ । ओली फालिन्छन् । अहिलेको जसपाका कर्ण र ठाकुरको धारणामा ओलीभन्दा गतिला होइनन् देउवा । त्यसकारण जसपाका कर्ण र ठाकुरका लागि ओली नै ठीक हुन् देउवाभन्दा । जसपाका आधा सांसद लिएर देउवा नेतृत्वको सरकार बन्दैन । तर, ओली, जसपाका आधा सांसद लिएर सरकार टिकाइ राख्न सक्छन् । देउवा जसपाका गलत मागलाई समर्थन गर्ने पक्षमा छैनन् । उनीहरुको एक मधेश प्रदेशको मागलाई देउवाले इन्कार गरेकैले देउवाले आफ्नो नेतृत्वमा सरकार बन्ने आशा मारेका हुन् । जसपाका लागि आफ्ना माग ठूला हुन् । यो मौका उनीहरुका लागि अधिकतम् दलाली गर्ने अवसर हो । तर, देउवा जसपाका गलत मागको समर्थन गरेर प्रधानमन्त्री हुनुभन्दा चुनावमा जान तयार छन् । त्यस अर्थमा देउवाको यो लाइन भने राम्रो हो ।

भएको अवस्था :

संविधानले अविश्वास प्रस्ताव ल्याएर ओली सरकार फाल्न प्रधानमन्त्री हुने सांसदको टुंगो पहिल्यै लाग्नुपर्ने भनेको छ । त्यसमै जसपा, माओवादी केन्द्र र कांग्रेसबीच सहमति भएको छैन । यदि ओलीलाई फाल्ने नै हो भने दुईवटा विकल्प छन् । एक कांग्रेसले जसपाका ठाकुरलाई प्रधानमन्त्री प्रस्ताव गर्नुपर्छ । त्यो गर्न देउवा तयार भएका छैनन् ।

दोस्रो माधव नेपाल पक्षका ३८ सांसद कायमै रहे अनि उनीहरु ओलीलाई जसरी पनि सत्ताबाट हटाउन तयार भए भने कांग्रेसले ल्याउने अविश्वास प्रस्तावमा नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्नुपर्छ । ओली फालिएपछि कार्वाही भए सहन तयार हुनुपर्छ । त्यस अवस्थामा देउवाको सरकार अल्पमतमा परे पनि उनले राजीनामा नदिएसम्म अर्को सरकार बन्दैन र उनीविरुद्ध एक वर्ष अविश्वास प्रस्ताव ल्याउन पाइन्न । तेश्रो विकल्प जो सरल हो, तर जसपाका कारण जटिल बनेको छ । त्यो, जसपा र माओवादी केन्द्रले देउवाको नेतृत्वमा सरकार गठन गर्न तयार हुनु हो । यसलाई, माओवादी केन्द्रले माने पनि जसपाले मानिहालेको छैन ।

ओलीलाई फालेर अर्काे सरकार बन्ने निश्चित भएपछि मात्र माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिन्छ । यो अवस्था चतुर खेलाडी ओलीले बुझेका छन् । त्यसैले उनी या त आफ्नो बहुमत पु¥याउन जसपाको समर्थन लिने नभए पनि अर्कोलाई समर्थन गर्न नदिने वातावरण बनाउने ध्याउन्नमा छन् । यही अवस्थालाई भ्यागुताको धार्नी भनिएको हो । नेपालका एक राजनीतिक विश्लेषक कृष्ण खनालले ओली, देउवा र प्रचण्ड टेष्टेड प्रधानमन्त्री भएकोले अब ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर अघि बढ्नु अहिलेको उत्तम विकल्प हो भनेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here