चित्रदेव कट्टेल,
वर्षौं वर्ष घुमेर आइरहने स्वागत् सलामी लिन
राम्रो दिन्न कुनै खटाउँछ बरु वर्षै मलामी हुन
हामी मख्ख परेर स्वागत सधैँ गर्छाैं नयाँ वर्षको
दुःखैदुःख दिएर जान्छ सजिलै क्यै हुन्न क्यै हर्षको ।
कैले ल्याउँछ कम्प भूतल सबै फुट्ने र फाट्ने गरी
मर्छन् जीव र नष्ट हुन्छ रचना रुने बिलौना गरी
अग्निले कहिले र भेल, पहिरो, कोभिड् महामारीका
कोही साल लडाइँका र जनका नोक्सान् बढो भारीका ।
आँधीले र सुनामीले शहर नै उड्छन् र बग्छन् कति
बाली नष्ट भएर पर्छ अनिकाल् सुख्खा खडेरी अति
दुर्घट्ना कति हुन्छ यी सडकमा आकाशमा झन् कति
लेखी साध्य हुँदैन वर्ष यसरी पीडा दिएको जति ।
कैले मानिस मर्दछन् छिनछिनै खाना बिना भोकले
मर्छन् काहीँ नपाइ औषधि कुनै सानातिनै रोगले
लड्छन् युद्ध कडा सशस्त्र बलले मार्दै र मर्दै तर
साझा हो धरती भए जति सबै प्राणीहरुको घर ।
हिंसा बन्द गराइ लोकभरि नै सन्देश शान्ति छरी
मान्छे रक्त पिपासुका हृदयमा आत्मीय माया भरी
खाना औषधि बोकी आऊ सहकाल् राम्रो झरी बादल
नाँचौंला नव वर्षमा सब मिली घन्काउँदै मादल ।।
देउमाई–९, इलाम (हालः बिर्तामोड–५, झापा )