मापदण्डमा कडाइ गर

५ बैशाख २०७८, आईतवार मा प्रकाशित
  • 392
  •  
  •  
  •  
  •  
  •  
    392
    Shares

सरकारले जनस्वास्थ्यको मापदण्डको पालना गर्न लापरवाही गरेकै कारण पछिल्लो समय कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ । मापदण्डको पालना गराउनुपर्ने सरकार, सत्तारुढ दल, प्रतिपक्षी लगायतका राजनीतिक दलहरुको नक्कल गर्दै सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गर्न छोडेपछि नेपाल संक्रमणको उच्च जोखिममा पर्दै गएको हो । यही समय स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी स्वयम्ले आउँदो असारसम्ममा संक्रमितको संख्या छ लाखभन्दा बढी हुने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दैनिक एघार हजार जनामा संक्रमण देखिन सक्ने चेतावनी दिएको छ । सरोकारवाला संस्था तथा व्यक्तिहरुको आकलन र चेतावनीसँगै स्वास्थ्यविद्हरुबाट संक्रमण नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्डको पालना कडाइका साथ गरिनुपर्ने सुझाव पनि आएको छ ।

सम्बद्ध पक्ष, व्यक्ति वा निकायको सुझाव, चेतावनी र अनुरोधका वावजुद यसबेला आममानिसमा जनस्वास्थ्यप्रति लापरवाही बढ्दै गएको छ । पहिलो पटक गत वर्ष संक्रमण देखिन नथालीकनै बन्दाबन्दीदेखि जनस्वास्थ्यको मापदण्डको पालनामा सरकारले कडाइ गरेको थियो । तर, अहिले नयाँ भेरियन्टको अझ खतरनाक भाइरसको पहिचान भइसक्दा पनि, दोस्रो लहरको संक्रमण फैलिने दर उच्च रहेको बताइरहँदा पनि आम समुदाय र संघीय सरकार दुबै पक्ष गम्भीर देखिएका छैनन् । यसको प्रत्यक्ष उदाहरण दिनहुँ सरकारकै नेतृत्वमा भइरहेका सभा, जुलुस सार्वजनिक समारोह हुन् भने आम जनमानसको जात्रा, मेला लगायतका भीडभाड हुने कार्यक्रममा भइरहेको सहभागिता हो । अझै खोप लगाइसकेकाहरुमा समेत संक्रमण देखिन थालेको अवस्थामा जनस्वास्थ्य क्षेत्रका जानकार, चिकित्सक एवम् स्वास्थ्यविद्हरुले विद्यालय, सिनेमाघर लगायतका भीड हुने ठाउँलाई बन्द गर्ने सुझाव नमानेर जनताको स्वास्थ्यमाथि गम्भीर लापरवाही गरिँदैछ ।

नेकपा एमाले सत्तारुढ दल पनि हो । उसको जिम्मेवारी यस अर्थमा वर्तमानको संकटप्रति बढी महत्वको हुन्छ । तर, त्यही दलले बिर्तामोडमा शुक्रबार सभाको आयोजना ग¥यो । पच्चीस जनाभन्दा बढी जम्मा हुन नपाइने मापदण्ड विपरीत सयौंको उपस्थितिमा कार्यक्रम सञ्चालन गरियो । कार्यक्रममा व्यक्तिगत दूरी, मास्कको प्रयोग, सेनिटाइजर लगायतका सावधानी अपनाइएन । यस्ता कार्यक्रमहरु नगर्न जिल्ला प्रशासन कार्यालय अनुरोध गरेको पनि छ, तर त्यस्तो मापदण्ड ठूलाका लागि अनिवार्य हुने गरेको छैन । यस्तो अवस्थामा संक्रमण फैलिनु अनौठो होइन । विज्ञहरुले संक्रमणको दोस्रो लहर शुरु हुनुमा मापदण्डको कार्यान्वयनमा भएको लापरवाहीलाई मुख्य कारण मानेका छन् । अझ बालबालिकामा संक्रमण बढी देखिन थालेको सन्दर्भलाई बेवास्ता गर्ने हो भने स्थिति झनै भयावह हुनसक्छ ।

त्यसैले सरकारले यी सबै अवस्थाको मूल्यांकन गरी आवागमनदेखि मापदण्डको पालनामा निगरानीसँगै कडाइ गर्नुपर्छ । स्वास्थ्य सेवाको विस्तार गरी पर्याप्त पूर्वाधार निर्माण गर्न शक्ति प्रयोग गर्नुपर्छ । खोप अभियानलाई निरन्तरता दिँदै जनताको जीवनको रक्षा गर्न इमान्दार पहलकदमी गर्नैपर्छ । अन्यथा कोरोना महामारीको डढेलोले कसैलाई छोड्ने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here