वनमा माइकेनिया व्यवस्थापन अभियान

६ बैशाख २०७८, सोमबार मा प्रकाशित
  • 582
  •  
  •  
  •  
  •  
  •  
    582
    Shares

देवीका अधिकारी,

झापा जिल्लाको दक्षिणी भागमा अवस्थित (जलथल–चारकोशे) वन लगभग ६३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । पहिला खुल्ला रुपमा प्रयोग भएको यहाँको वन हाल २२ वटा सामुदायिक वनहरुले व्यवस्थापन गरिरहेका छन् । जैविक विविधताले भरिपूर्ण यहाँको वनको मुख्य चुनौतिको रुपमा माइकेनिया नामको मिचाहा प्रजाति रहेको छ । जलथल वनको करिब २००० हेक्टरभन्दा बढी क्षेत्रफल मिचाहा प्रजाति प्रभावित रहेको छ । स्थानीय भाषामा यसलाई तिते, प्यांग्री ट्याङ्गी लहरा पनि भनिन्छ । असोज, कात्तिक महिनामा फुल्ने यो प्रजातिको फल पाकिसकेपछि नयाँ बिरुवा धेरै फैलिन्छ भने घनत्व कम रहेको चिस्यान बढी हुने क्षेत्रमा यसको फैलावट बढिरहेको छ ।

दक्षिण अमेरिकामा उत्पत्ति भएको माइकेनिया नेपालमा सात दशकअघि इलामबाट भित्रिएको हो भने जलथल वनमा विगत दुईदशक अघिबाट यसको घनत्व व्यापक बढेको सावउसका उपभोक्ताहरुको अनुभव रहेको छ । यसको लहरा छिटो बढ्ने, एउटै बोटबाट धेरै मात्रामा बीऊ उत्पादन हुने र हावाको माध्यमबाट बीऊहरु सजिलै एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने तथा लहराको सानो टुक्राबाट पनि सजिलै पुनरुत्पादन हुनसक्ने हुनाले यसलाई पूर्णरुपमा निर्मूल पार्न असम्भव भए पनि नियन्त्रण भने गर्न सकिन्छ । यसले वनको प्राकृतिक पुनरुत्पादनमा प्रतिकूल असर पु¥याउनुको साथै वनमा पाइने घाँस, निगुरोको उपलब्धता घटाउँदै वन र वन्यजन्तुहरुलाई दीर्घकालीन असर पार्ने देखिन्छ । यो कात्तिक महिनातिर फुल्ने र मंसीरमा फल लाग्ने हँुदा फल पाकेर फैलिनुभन्दा अगाडि नै यसलाई फाल्नु उपयुक्त हुन्छ । माघ, फागुनतिर झाडी सफाई गर्न सजिलो हुने भए पनि त्यो समयमा फल पाकी सक्ने, बीऊ फैलन सहयोग हुने हँुदा फूलेको समयमा नै हटाउन सजिलो हुन्छ ।

जलथल वनको पुनरुत्पादनको क्षमता राम्रो भए पनि यसलाई प्यांग्री लहराले असर पुयाएको छ । यो वनमा प्राकृतिकरुपमा उम्रिएका वनस्पतिहरु जोगाइ प्राकृतिक पुनरुत्पादन संरक्षण गर्न विभिन्न समूहहरुले बिरुवामा लागेको, बिरुवाहरुलाई ढाकेको लहराहरु हटाउने कार्य गरिरहेका छन् । पहिले पनि बिरुवा गोडमेलको काम गर्ने गरेको भए पनि सही समय र उपयुक्त तरिका थाहा नपाउँदा नतिजा राम्रो नआएकोले पटक–पटक वृक्षरोपण गर्नुपरेको पाथीभरा कालिका वन समूहका अध्यक्ष चिरञ्जीवी पौडेल बताउँछन् ।

प्यांग्री लहरा र बिरुवा सँगसँगै जेठ, असार, साउन महिनामा अत्यधिक बढ्ने भएका कारण यो समयमा रैथाने बिरुवा गोडमेलको लागि उचित समय रहेको फरेस्ट एक्सन नेपालबाट थाहा पाएपछि यसपटक त्यही अनुसार माइकेनियाले ढाकेका बिरुवा तथा लाथ्राहरुबाट त्यो हटाउने कार्य भएको र यसले साच्चै बिरुवाहरु छिटो बढेको कारण पुनरुत्पादन हुने रैथाने बिरुवाहरु गोडमेल कम खर्चिलो भएको सावउ महासंघ स्थानीय महासंघ कचनकवलका अध्यक्ष भीम लुइँटेलको अनुभव छ । मिचाह प्रजातिको चाप अत्यधिक भएका कारणले सावउसहरुले मात्र नियन्त्रण गर्न समस्या भएका कारण फरेस्ट एक्सन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ तथा डिभिजन वन कार्यालय झापाले विभिन्न पद्घतिहरु अपनाएर काम गरिरहेका छन् ।

जलथलका प्राय सबै वनमा माइकेनिया व्यवस्थापनको कामहरु भएका छन् । समूहहरुले नियमित रुपमा गस्ति परिचालन गरेर तथा ज्यालादारीमा उपभोक्ता परिचालन गरेर पनि काम गरेका छन । यो वर्षको झाडी सफाईमा यहाँ करिब १७६ हेक्टर वन क्षेत्रमा झाडी सफाई भएको छ भने करिब ३३००० बिरुवा, लाथ्रालाई माइकेनियावाट उद्घार गरिएको छ । यहाँको हावापानी, सुहाउँदो वातावरण, रोगसँग लड्ने क्षमता भएका कारण प्राकृतिक पुनरुत्पादन सम्बद्र्धन गर्नसके दीर्घकालीन रुपमा वनको क्षमता बढेर जाने फरेष्ट एक्सन नेपालका कार्यक्रम व्यवस्थापक लीलानाथ शर्माको धारणा रहेको छ । यस्तै जंगलमा फैलिएको मिचाह प्रजाति नियन्त्रणको प्रयास गर्दै फरेस्ट एक्सन नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ झापा र सावउसहरुको अग्रसरतामा स्थानीय उपभोक्ताहरुले कमलधाप रामपोखरी, त्रिवेणी, पाथीभरा कालिका र हरियाली सावउसमा प्राङ्गारिक मल बनाउने कार्यको पनि शुरुवात गरिएको छ ।

वनजंगलको सौन्दर्य, वन्यजन्तुको बासस्थान, पानीको स्रोतसँगै पुनरुत्पादनलाई पनि असर पु¥याइरहेको माइकेनियाको प्रयोग गरेर बनाइने कम्पोष्टले माइकेनियाको न्यूनीकरणसँगै किसानहरुलाई अग्र्यानिक कृषि उत्पादनमा सहयोग गर्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीको भनाइ छ । प्राङ्गारिक मलको प्रयोगले माटोको सुधारसँगै वनको दुश्मनको रुपमा रहेको माइकेनिया हटाउने उद्देश्यले यो कार्य थालनी गरेको र यसलाई निरन्तरता दिइने कमलधाप रामपोखरीकी सचिव मनकुमारी राईले बताइन् ।
त्यसैगरी यसपटक माइकेनिया हटाएको वन क्षेत्रको प्राकृतिक पुर्नस्थापना गर्ने दीर्घकालीन उद्देश्य लिएर सामुदायिक वन उपभोक्ता महासंघ, डिभिजन वन कार्यालय झापा, दुर्गाभिटा, पाथीभरा कालीका र रातमाटे सावउसको संयुक्त प्रयासमा कृषि वनको अवधारणा लिएर बेसार खेती गर्न लागिएको छ । यसले पुनरुत्पादन भएका बिरुवा गोड्दै हुर्काउने र माइकेनियाको दबदबा हटाउने लक्ष्य लिइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here