कसरी गरिँदैछ महाभारतको विनिर्माण ?

७ बैशाख २०७८, मंगलवार मा प्रकाशित
  • 3.9K
  •  
  •  
  •  
  •  
  •  
    3.9K
    Shares

बिहानै रेडियोबाट अनुराधा पोडवालको मीठो स्वर गुञ्जियो– यशोमती मैया से पुछे नन्दलाला, राधा क्यूँ गोरी मैं क्यूँ काला… । उतिबेला रेडियो नेपालका अतिरिक्त भारतका विभिन्न ठाउँबाट प्रसारण हुने सर्ट वेभ तथा मेडियम वेभ रेडियोको प्रचलन थियो ।

अहिले जस्तो टेलिभिजन, एफएम तथा युट्युब जस्तो आधुनिक प्रसारण माध्यमहरुको शुरुवात भएकै थिएन, गाउँमा पुगेकै थिएन । चर्चित रेडियो स्टेशनहरुमा रेडियो नेपाल, अल इन्डिया रेडियो, विविध भारती, रेडियो खर्साङ आदि थिए । कहिलेकाँही रसियाको मस्को तथा चीनको बेजिङबाट समेत नेपाली कार्यक्रमहरु प्रसारण भएको पाइन्थ्यो । उतिबेला रेडियोमा पत्राचार गरी आफ्नो फरमाइसको गीत सुन्ने चलन ब्यापक थियो ।

केहीबेरमा नन्दलाल र यशोदा माताको संवाद शुरु भयो– यशोदा मैयाले कृष्णलाई दही चोरेर खाएको भनी गाली गरिन् । कृष्णले आफूले त्यस्तो गल्ती नगरेको अनेक प्रमाण दिन थाले । अन्त्यमा यशोदा मैयाले स्वीकारिन्– तिमीले दही खाएको होइन रहेछ भनेर । अनि कृष्णले पनि आमालाई किन ढाँट्नु भनेर मेलै दही खाएको हो भनिदिए । अनुप जलोटाले कलात्मक स्वरमा त्यस्तो संवाद सुनाए, रेडियो खर्साङबाट । यो मेरो बाल स्मृति मात्र हो । यो हाम्रो धर्म थियो । धर्मले, धर्मशास्त्रका कथाहरुले सजिलै भन्छन्–चोर्नु पाप हो । छल्नु पाप हो ।

तर, प्रस्तुत भजनमा कृष्णजीले या त चोरे, या त ढाँटे । त्यसै कुरालाई साहित्यले मलजल ग¥यो । संगीतले सुललित बनायो । अनि बाल मस्तिष्कमा भरिदियो । यसबाट बाल मस्तिष्कले के बुझ्ने ? चोर्नु हुने कि नहुने ? ढाँट्नु हुने कि नहुने ? म वयस्कले नबुझेको कुरा बालकले के बुझ्छन् ? रनभुल्ल पर्छु । मैले पनि कृष्णको कथा सुनेर बालककालमा कति उट्पट्याङ कुराहरु गरेको छु । त्यसको सट्टामा कति झापड खाए हुँला बा–आमाबाट, दाजु–दिदीबाट । कति चोरियो । कति ढाँटियो । आखिर ढाँट्न चोर्न त हाम्रै नैतिकता सिकाउने धार्मिक ग्रन्थले सिकाएछ नि त । म भन्दिनँ धर्म अनैतिक हुन्छ भनेर ।

म भन्दिनँ धर्म अधार्मिक हुन्छ भनेर । तर, धर्मले बोकेको दर्शनलाई, नैतिकतालाई जुन उमेर समूहमा जसरी ब्याख्या गर्नुपर्ने हो नगर्नाले, जसरी प्रस्तुत गर्नुपर्ने हो नगर्नाले, या त सानै उमेरदेखि विश्लेषणात्मक चेत नभरिदिनाले हाम्रा धार्मिकताहरु कति ठाउँमा अधार्मिक र अनैतिक भएका छन् । यो हामीले धेरै ठाउँमा देखेका छौं । त्यसो त रित्तो गाग्रोको आवाज ठूलो हुन्छ । अनि आधा भरिएपछि बढी छचल्किन्छ । हामीले हाम्रो समाजलाई या त रित्तो राख्यौं, या त आधा राखेर छचल्कायौं । हिजोसम्म हाम्रो पाठ्यक्रममा नैतिक शिक्षा थियो । मानिसहरुले यसलाई अनावश्यक ठाने । नैतिक शिक्षाले राजतन्त्रलाई नेतृत्व दियो अरे । निरंकुश तन्त्रलाई मलजल ग¥यो अरे । अनि पञ्चायती पक्षधरलाई प्रस्ताव ग¥यो अरे । अनि अरु पनि थुप्रै के–के ग¥यो थाहा छैन । तर, भन्नेले भनिदिए– यो त बुर्जुवा शिक्षा भयो । हेडमास्टर हटाइए । शिक्षकहरु कुटिए ।

भारतीय प्राचीन इतिहास महाभारतको कथामा आधारित छ । इतिहासकारले आफ्नो ऐतिहासिकताको आधार महाभारतलाई बनाएको हो या बेदव्यासले आफ्नो काब्यको प्लट भारतीय इतिहासलाई लिएको हो भन्न अलि गाह्रो छ । 

संस्कृत त झनै आधुनिक समाजको शत्रू नै ठहरियो के कुरा गर्नु र ? हालसालै मात्र महाभारतमा आधारित टेलिश्रृंखला हेरिसकेँ । मलाई पहिला त महाभारतमा कुनै रुची थिएन । पढ्ने वा फिलिम हेर्ने फुर्सद पनि थिएन । तर, केही साहित्यकारहरुको महाभारतमा आधारित विनिर्माणहरु पढेपछि रुची बढ्यो । हुन त टेलीश्रृंखला पनि पनि मूल ग्रन्थ होइन । तथापि यसबाट महाभारतमा के विषय कसरी उठाइएको छ भनी प्रष्ट हुन केही मद्दत चाहिँ अवश्य मिलेको छ । म अझै पनि भन्न सक्दिनँ कि वेदब्यासले लेखेको महाभारतको जस्ताको तस्तै रुपमा यो श्रृंखला तयार पारिएको थियो वा थिएन । वा यसमा पनि केही कथानकहरु थप्ने, नाटकीय रुप दिनका लागि संवादहरु थप्ने लगायतका कार्य भएकै होलान् । या त कथालाई अलि धेरै विनिर्माण नै गरिएको नै थियो कि ? मूल ग्रन्थ अझै नपढेकोले भन्न सकिएन । श्रृंखलाको कथा र चरित्र चित्रणलाई नै ब्यासको आधिकारिक धारणा मान्ने हो भने मैले हालसालै पढेका दुबै– कृष्ण धराबासी र कुमार भट्टराईका कृतिहरु क्रमशः राधा र अश्वत्थामामा कथालाई थुप्रै विनिर्माण गरिएको पाएँ । यसमा ब्यासका खलनायकहरु नायक र नायकहरु खलनायकमा थाहै नपाई परिवर्तन भएका रहेछन् ।

मानौं कि अदालतमा बादी पक्षका वकिल बेदव्यास र प्रतिवादी पक्षमा कृष्ण धराबासी र कुमार भट्टराई वकालत गरिरहेछन् । यसले धार्मिक कथाभित्र पनि विश्लेषण गर्न सकिने चेत भने अवश्य थपेको छ– तथापि उपयुक्त उमेर समूहका लागि मात्र । भारतीय प्राचीन इतिहास महाभारतको कथामा आधारित छ । इतिहासकारले आफ्नो ऐतिहासिकताको आधार महाभारतलाई बनाएको हो या बेदव्यासले आफ्नो काब्यको प्लट भारतीय इतिहासलाई लिएको हो भन्न अलि गाह्रो छ ।

महाभारतका प्रत्येक सम्वादमा उत्तिकै महत्वपूर्ण ज्ञान, नैतिकता पाउन सकिन्छ, तर सापेक्षिक रुपमा ।

त्यसो त अन्य ऐतिहासिक उपन्यासका पृष्ठभूमिहरु पनि महाभारतको कथामा वर्णित राज्यहरु, राजाहरु तथा विषयवस्तुहरुसँग मिल्दाजुल्दा लाग्छन् । फेरि भारतीय बुझाइमा रामायण काब्य हो भने महाभारत इतिहास नै हो भन्ने ठम्याइ छ । जे होस दार्शनिक हिसाबले महाभारतका प्रत्येक सम्वादमा उत्तिकै महत्वपूर्ण ज्ञान, नैतिकता पाउन सकिन्छ, तर सापेक्षिक रुपमा । यसर्थ, महाभारतलाई सापेक्षिक नैतिकता, सापेक्षिक दर्शनभन्दा अत्युक्ति हुँदैन ।
त्यसका प्रत्येक पात्रहरु उत्तिकै बलिया छन्– ज्ञानमा, बुद्धिमा, विवेकमा अनि तर्कमा । सबैले साँच्चै हो जस्तो लाग्ने बोली बोल्छन् । अनि अकाट्य लाग्ने संवादले भरिपूर्ण छन् सबै पंक्तिहरु । यो तर्कशास्त्रको भण्डार हो दर्शनको दस्तावेज हो । हामीले पनि सानो छँदा नैतिक शिक्षामा गुरुभक्तिको प्रतिकका लागि एकलब्यका कथाहरु नपढेको होइन । लक्ष्यका लागि अर्जुनको कथा नपढेको होइन । केही यस्ता केटाकेटीका लागि उपयुक्त हुने कुराहरु छन् यस कथामा । तर, धेरैजसो जालझेल, कुनै एउटा आदर्शलाई अघि सारेर जस्तोसुकै हर्कत गर्न पछि पर्न नहुने तर्कहरु, आफैंले बनाएका नियमहरु कुनै अभीष्ट पूर्ति हुने भएपछि आफंै तोड्दा पनि फरक नपर्ने जस्ता फोहोरी राजनीतिक कुराहरु हामी यसै काब्यभित्र पाउँछौं । सम्भवतः पूर्वीय राजनीतिमा यसैको धेरै प्रभाव छ ।
धेरैका लागि भलाई हुन्छ भने आत्म समर्पण गर्दा, केही त्याग गर्दा पनि हुन्छ भन्ने कुरा यहाँ कहीँ कतै पनि देखिएन । कोही राष्ट्रवादको अतिमा लागेर जनहत्या र युद्धका लागि मरिमेट्छ भने कोही प्रतिसोधको ज्वालामा पिल्सिएर अनि कोही पुत्रमोहका कारणले । प्रत्येकसँग कुनै न कुनै रुपमा रहेको इगो छ । जुन झांगिएर सुपर इगो नै भएको छ । तिनै इगोका कारणले एक से एक सबै अन्धा भएका छन् । साँच्चै भन्ने हो भने कौरब मात्र होइन पाण्डब र उनीहरुसँग धर्मको पक्षमा छु भनी वकालत गर्ने कृष्ण तथा पाण्डबका सहयोगी राजाहरु कुनै न कुनै रुपले अन्धा भएर त्यस युद्धाग्निमा होमिन आइपुग्छन् ।

महाभारत नैतिकतामात्र सिकाउने कुनै आदर्श ग्रन्थ होइन भन्ने कुरामा प्रष्ट छ । यो राजनीतिक अभ्यास, आदर्शको मलजल गर्ने पाठशाला र कपटको इन्द्रजाल हो ।

आगो तबमात्र निभ्छ जब सबै कुरा जलिसक्छ । अझ महाभारतपछि अन्य ग्रन्थहरुमा उल्लेखित कथा समेतलाई जोडेर भन्ने हो भने त कृष्णको कुल र समस्त द्वापर युगको सभ्यता नै अन्त्य भएपछि मात्र यो आगो निभेको पाइन्छ । युद्ध र प्रतिशोधको आगो निभ्नुअघिको समय र पछिको समयलाई दुई युगको नाम द्वापर र कली दिइनु यस प्रसंगमा बडो सान्दर्भिक देखिन्छ । जे होस महाभारत नैतिकतामात्र सिकाउने कुनै आदर्श ग्रन्थ होइन भन्ने कुरामा प्रष्ट छ । यो राजनीतिक अभ्यास, आदर्शको मलजल गर्ने पाठशाला र कपटको इन्द्रजाल हो ।
यहाँबाट नैतिकताको पाठ भेट्न त्यत्तिकै तार्किकता, चतुरता आवश्यक पर्छ जति कृष्ण द्वैपायनले कृष्णलाई काव्यिक शृङ्गारले भरेर चतुर र तार्किक बनाएका छन् । कृष्ण धराबासीले राधालाई मुख्य पात्रको रुपमा उभ्याएर यस कथालाई केही विनिर्माणसहित त्यो युगमा स्त्री जातिमाथि भएको अन्यायपूर्ण व्यवहार कतिसम्म गरिन्थ्यो भनेर एउटा दृष्टान्त नै पेश गरेका छन् । युद्ध पराक्रमको पुरस्कारको रुपमा महिलाहरुको लेनादेना त्यतिबेलाको परम्परा नै थियो । कृष्णले जता–जता युद्ध जित्दै गए त्यता–त्यता पत्नीको संख्या थप्दै गए । आखिरमा राधा जसलाई उनले आफ्नो आधा भाग सम्झन्थे, उनीसँग आफैंले विबाह गर्न सकेनन् । किनकि पराक्रमबाट होइन फगत प्रेमबाट सहजै प्राप्य थिइन् राधा । उनी विवाहको लागि पछि छुटिन् । पछि राधाको लागि छुट्टै महल नै तयार गरेर कृष्णले विवाहको प्रस्ताव त राख्छन्, तर त्यो बेला समयले नेटो काटिसकेको हुन्छ । जे भए पनि राधाको प्रेम मर्दैन । कृष्णको प्रेम के हुन्छ भन्न गाह्रो छ । धराबासीले राधालाई पुरै नेपाल घुमाएर अन्त्यमा किचकबधमा बास बसाएको र पाण्डुलिपि लेखाएको कुराले बडो औपन्यासिकता पाएको छ ।
यसले विनिर्माणको माध्यमबाट नै सही नेपाल पनि महाभारतकालीन कथाको पृष्ठभूमि देखिएको छ भने यसैको कारणले नेपालको पर्यटकीय महत्व बढेको छ । मूल कथामा किचकबध मत्स्यदेशको राजधानी बिराट दरबारभित्र नै भएको भनिएको छ । महाभारतको विश्लेषण गरी गैरआख्यानात्मक विश्लेषण गर्ने बर्मामा जन्मेकी मराठी साहित्यकार इरावती कर्वे एक प्रमुख साहित्यकार हुन् । उनले युगान्त मार्फत यो काव्यलाई वास्तविकता र श्वैरकल्पनाको कसीमा दाँजेर विश्लेषण गरेकी छन् । आम भारतीयहरुले झैं उनले पनि महाभारत ऐतिहासिक काब्य नै हो सत्य घटनामा आधारित भनेर स्वीकार त गरेकी छन्, तथापि उनले अन्य ग्रन्थहरु समेतको हवाला दिएर थुप्रै संस्करणहरुमा सम्पादन गर्दै अन्त्यमा आज हामीकहाँ उपलब्ध भएको महाभारतको स्वरुप तयार भएको भनेर निचोड दिएकी छन् । सम्पत्तिको रुपमा नै सही पराक्रमी पुरुषसँग विवाह गर्न पाउने वा पराक्रमी पुरुष रोज्न पाउने नारीको स्वतन्त्रता त क्षत्रीय समाजमा विद्यमान नै देखिन्छ । तथापि प्राचीन भारतीय समाजमा नारीको कुनै मोल थिएन भन्ने कुरा अन्य इतिहासका दस्ताबेजहरुले पुष्टि गरेका छन् ।
नारीको पीडा र बाध्यता अनि निस्सारतालाई राम्ररी केलाएकी छिन कर्बेले । यो विश्लेषणमा उनलाई आफू नारी भएकोले, नारीबादी साहित्यकार भएकोले र भारतीय प्राचीन इतिहासको कटुसत्यले राम्ररी सहयोग गरेको छ । महाभारतलाई हिन्दूहरुको महान ग्रन्थ मानिन्छ । यो कहिले देखि मानिन थालियो, यसका लागि बेग्लै ठूलो सोधको आवश्यकता पर्दछ । यसै ग्रन्थलाई आफ्नो–आफ्नो बुझाइ अनुसार, विश्लेषण क्षमता, बौद्धिकता अनुसार कसैले भनेर र कसैले नभनेरै थुप्रै विनिर्माणहरु तयार भएका छन् । यस्ता महत्वपूर्ण विनिर्माणहरुमा मदनमणि दिक्षितको माधवी प्रमुख रुपमा देखा पर्छ । विश्वेश्वरप्रसाद कोइरालाको मोदीआइन्, विनोदप्रसाद धितालको योजनागन्धा, राजेश्वर देवकोटाको द्वन्द्वको आवशान, नीलम कार्की निहारिकाको चीरहरण, घनश्याम कँडेलको धृतराष्ट्र, नवराज लम्सालको कर्ण तथा रमेश विकलको मिल्किएको मणि जस्ता नेपाली साहित्यका कृतिहरुले कुनै न कुनै रुपमा महाभारतको कथालाई बोकेर हिँडेका छन् ।
यी बाहेक हिन्दी, मराठी, बंगाली तथा अन्य थुप्रै भाषामा लेखिएका कयौं कृतिहरुको त हिसाबै छैन । यी सबैको आफ्नो आफ्नै विशेषता र बैशिष्ट्यता पनि छन् । सबैको विश्लेषण एउटै लेख मार्फत गर्न सम्भव हँुदैन । यदि यसो हुँदो हो त इरावती कर्वेको झैं अर्को गैरआख्यानात्मक पुस्तकाकारमा आउने थियो । हुन त कर्बेले कहीं कतैं आख्यानात्मक अध्यायहरु पनि पेश गरेकी छन् । त्यसो त महाभारत हिन्दूहरुको ग्रन्थको रुपमा मात्र नभएर पाखण्डीहरुको पूजा सामग्री, मागी खाने भाँडो पनि भएको छ । विद्वान लेखकहरुको सारथी तथा सिकारुहरुको बैशाखीको रुपमा पनि यसैले काम गरेको छ । मलाई के लाग्छ भने लेखकको बौद्धिकताभन्दा ठूलो विद्वता कुनै देवताको पनि हँुदैन ।
किनकि कृष्ण आदिलाई देवत्वकरण गर्ने उनै कृष्णद्वैपायन व्यास हुन् । उनलाई देवीभागवत लगायतका कृतिमा २९औं व्यासका रुपमा ब्याख्या गरिएको छ । कालो वर्णका ऋषि परासरका छोरा, सत्यवतीद्वारा गोप्यरुपमा कुनै अनकन्टार द्वीपमा जन्म गराइएको र द्वीपमा बस्ने भएकाले उनलाई कृष्णद्वैपायन भनिएको थियो । उनी ऋषि तथा साहित्यकार भएपछि व्यासको उपाधि दिइएको थियो । अहिलेका विनिर्माणहरुले व्यासले देवत्वकरण गरिएका कृष्णलाई मानवरुपमा आरोपित गर्नु त्यत्तिकै चुनौतिपूर्ण छ जति चुनौति व्यासले मान्छेलाई देवता बनाउन खपेका थिए । यो सबैमा लेखककै बौद्धिकता झल्कने नै हो । जे होस्, महाभारत एउटा धार्मिक, साहित्यिक र ऐतिहासिक कृति भएकोमा अब कसैको दोस्रो मत आउँदैन । त्यसो त सडकमा लेखिएको अंग्रेजीको ६ लाई कसैले अर्को तर्फबाट ९ देखे जस्तै सबैले हरेक कुरालाई आफ्नो आफ्नो ढंगबाट बुझ्ने हो । त्यसैले बुझाइ सापेक्षिक हुन्छ भनिएको हो ।


मानिसले आफ्नो परिवेश, आफू हुर्किएको वातावरण, आफ्नो बौद्धिक क्षमता, आर्थिक क्षमता, आफूलाई अरुले हेर्ने दृष्टिकोण, सरसंगत लगायत अनेकांै परिवेशजन्य र पारिस्थितिक कुराहरुबाट आफ्नो हरेक चिजलाई हेर्ने धारणा बनाएको हुन्छ । सम्भवतः यो कोहीसँग अर्को कसैको मिल्दैन । यो नै सापेक्षिकता हो । यिनै सापेक्षिकतालाई समेत बिचार गरेर हरेकलाई चित्त बुझ्ने साझा दृष्टिकोण अबका विनिर्माणहरुमा अपेक्षित छ । अहिलेसम्म गरिएका र अब हुने यस्ताखाले विनिर्माणहरुले नैतिकता र सामाजिक अनुशासनलाई जोगाएर अघि बढ्नु आवश्यक छ । उमेर समूह लक्षित विनिर्माण गरेर बाल मस्तिष्कमा नैतिकता र आदर्श, युवाहरुमा हिम्मत जाँगर र उद्यमशीलता तथा प्रौढ तथा बृद्धहरुमा दर्शन साहित्य तथा धार्मिकतालाई अभिवृद्धि हुनेगरी काव्यिक विनिर्माण गरी नयाँ कृतिको सिर्जना गर्न सकेमा अबको युग सुहाउँदो समाज निर्माणमा साहित्यको ठूलो योगदान रहनेछ भन्ने मेरो ठम्याइ रहेको छ ।

यसलाई इ- पेपरमा पनि पढ्न सक्नु हुन्छ । जसका लागि यो लिङ्क https://purwanchaldaily.com/wp-content/uploads/2019/06/4-baishakh-final-final.pdf खोलेर हेर्न सकिने छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here