खुशी के मा छ ?

११ बैशाख २०७८, शनिबार मा प्रकाशित
  • 750
  •  
  •  
  •  
  •  
  •  
    750
    Shares

कथा

आफ्नो काम सकेर म उसको घर छेउको बाटोबाट फर्किंदै थिएँ । आज बाटो पनि प¥यो साथै आफ्नै घरमा राख्न भनेर भर्खरै किनेको सानो फूलको गमला पनि छ, यही बोकेर भए पनि उसलाई भेटेर मात्र जान्छु भन्ने सम्झेर म उसको घरतिर लागेँ । म उसको घरको मूलढोकामा पुग्ने बित्तिकै थाह पाएँ उसको घरमा केही परिवर्तन भएछ । उसको घरको मूलढोकामा बाहिरबाट ताला झुण्ड्याएको मैले पहिला कहिल्यै देखेकी थिइन् । उसको घरको मूल ढोका त सधैँ खुल्ला हुन्थ्यो । तर, बाहिरबाट ताला लगाएको भए पनि ऊ भने घरभित्र नै छ भन्ने कुरा मलाई राम्ररी थाह भएकाले मैले उसलाई फोन गरेँ । उसले फोन उठाएर चाबी निकाल्ने निर्देशन ग¥यो । ढोकामा झुण्डाएको तालाको चाबी निकाल्नको लागि उसले दिएको कोड नम्बर हालेर ढोकाको छेउमा घरको भित्तामा टाँसिएर राखेको सानो बक्सा खोल्नुपर्ने रहेछ । चाबी निकालेर ढोका खोलेरभित्र पस्ने बित्तिकै ऊ सुतिरहेको खाट प्रष्ट देखियो । मलाई देख्नेबित्तिकै मुसुक्क मुस्कुराएर माइक भर्खरैमात्र यहाँबाट गयो ।

‘ऊ गयो तिमी आयौ । तिमी बिना जानकारी आएकी भए पनि तिमीलाई देखेर मलाई धेरै खुशी लाग्यो’ भन्दै सुती–सुती उसले मसँग हात मिलाउन उसको हात अघि बढायो । ‘मलाई पनि खुशी लाग्यो’ भन्दै घरभित्र राख्न मिल्ने सानो फुलिरहेको गोदाबरी फूलको गमला उसको हातमा राखिदिएँ । ‘राम्रो फुलेको फूल लिएर आएकोमा धन्यवाद’ भन्दै फूलको गमला हेरिसकेपछि उसले गमला मलाई दिएर उसको खाटको छेउमा भएको टेबलमा राखिदिन इशारा गरेपछि मैले त्यसलाई टेबलमा राखी दिएँ । म सोफामा बस्न लागेकी थिएँ । मेरो हातमा झुण्डिरहेको चाबी देखेर उसले भन्यो– ‘तिमी बस्नुभन्दा पहिला चाबी लगेर बक्समा राखिदेऊ यदि तिमीले बिर्सेर चाबी लिएर अथवा त्यहीँ छोडेर गयौ भने ठूलो समस्या खडा हुन्छ । ढोका नै फोर्नु पर्ने हुन्छ । देखिहालेउ म उठ्न सक्दिनँ ।’ उसका कुरा सुनेपछि मैले चाबी पहिलाकै ठाउँमा राखिदिएँ । सोफामा बस्दै म उसको अनुहारमा हेरेर उसको अवस्था नियाल्दै थिएँ । अब ऊ आफ्नो ओछ्यानबाट उठ्न त के सुती–सुती आफ्नो ज्यान समेत सार्न सक्दैन । अब उसको बाँकीको जिन्दगी एउटा ओछ्यानमा मात्र सीमित भएको छ । आफ्नो घरको एउटा कोठामा भएको ओछ्यानमा मात्र सीमित भएर दिनरात निरन्तर सुतीरहन कति गाह्रो छ । म सोचिरहेको थिएँ कति कष्टपूर्ण छ उसको जीवन, तर ऊ भने बिना सिकायत सुती–सुती पहिला जस्तै उत्तिकै रमाइलोसँग गफ गरिरहेको छ ।

उसले हाँस्दै भन्यो– ‘तिमी नआएको पनि पाँच महिना भइसके छ होइन ? आजभन्दा पहिलाको हाम्रो भेटमा म ह्वीलचेयरमा थिए, तर अब त ओछ्यानबाट उठ्न नसक्ने भएँ । सानो बालकले यस्तो हरपल डाइपर लगाउनु पर्छ । दुई महिना पहिला अस्पताल गएर दुई हप्ता बसेँ । अस्पताल गएर निकै कमजोर भएर फर्किएँ । अब त अस्पताल पनि जान्न र वृद्धाश्रम पनि जान्न । म मेरै घरमा मर्न चाहन्छु त्यसैले मैले यो खाट मगाएको हो । यो मेरो मृत्युलाई पर्खेर बस्ने खाट हो ।’ उसले आफ्ना कुरा सुनाइरहँदा मलाई भने एकदम नरमाइलो लाग्यो, सम्झेँ हामी बिहान उठेदेखि बेलुका नसुतेसम्म भ्याइ–नभ्याइ व्यस्त हुन्छौं र भइरहेका छौं । पढाइ, काम, विवाह, छोराछोरी, परिवार, आफन्त, इष्टमित्रसँग जोडिएका हामीलाई मृत्युको आगमनको बारेमा सोच्ने फुर्सद होला ? ऊ पनि त कुनै दिन हामी जस्तै व्यस्त जीवन बाँचेको मानिस हो । मानिस कसरी यस्तो व्यस्त जीवनको एक प्रहर यसरी ओछ्यानमा लम्पसार परेर मृत्यु पर्खन बाध्य हुन्छ ? निरन्तर सक्रिय जीवन बाँचेको मानिसले आफ्नो जीवनको उत्तराद्र्धमा कसरी आफ्नो मृत्युलाई यति नजिकबाट नियाल्न सक्छ ? म मृत्यु पर्खिरहेको छु भन्नलाई कति ठूलो, विशाल, आकाश जस्तै फराकिलो हृदय चाहिन्छ होला ? समयले ल्याउने शारीरिक अस्वस्थता, दुर्वलताका अगाडि मानिस कति विवश र लाचार छ ? जीवनको यथार्थताभित्र अदृश्य भएर रहेको भविष्यमा भोग्नुपर्ने, तर कसैले बुझ्न, आँकलन गर्न नसक्ने कस्तो नियति, कस्तो लीला हो हाम्रो जीवन ?

म आफूभित्र हराइरहेको बेलामा ‘तिमीहरुलाई कस्तो छ ?’ भनेर उसले सोधेपछि ‘हामी सबैलाई राम्रो छ, तर तिमीलाई के भएर अस्पताल जानुप¥यो’ भनेर मैले सोधेँ । अस्पताल जानुपर्ने कारण के थियो भन्ने मेरो जिज्ञासामा उसले– ‘खाएको खानेकुरा पच्दैन, पेटमा केही अडिदैन । डाक्टरले खानेकुरा पच्न छोडेकोले झोल पदार्थ र फलफूलको रस मात्र खाने गर्नु भनेको छ । तर, तिमीलाई थाहा छ, डाक्टरले निषेध गरेको भए पनि मैले हिजो आफैं मगाएर टन्न गुलियो बिस्कुट खाइदिए, खुब मिठो भयो । आखिर जे नै खाए पनि पेटमा अडिदैन’ उसले भन्यो । ‘गाह्रो भएछ, अनि के खाँदै छौ त ?’ भनेर मैले सोधेँको मात्र के थिए उसले मुख बिगार्दै मतिर रहेर उत्तर दियो– ‘हेर न फलफूल र सुपका बट्टाहरु अब मेरो वरिपरि सबै त्यहि त छन् । तिनैलाई खाए जस्तो गर्छु । यस्ता कुरा खान के मन लाग्नु, बन्दै मन लाग्दैन, कसरी खानु जस्तो परेका छन् र ? यी बट्टाका खानेकुरा मलाई पटक्कै मन पर्दैन भन्ने कुरा तिमीलाई त थाह भएकै हो । मलाई त प्रत्येक दिन आफैंले पकाएको मसलेदार मासु खान मनपर्छ, तर अब यो पनि सम्भव छैन ।

अब त म सुतिरहने मात्र हो, केही पनि गर्न सक्दिनँ । त्यसैले पकाएर खान नपाउने भएँ । ओछ्यानबाट उठ्न नसक्ने भएपछि पकाएर खाने त कुरै भएन त्यसमाथि पनि के खानु र अब त खानासाथ पखाला लागिहाल्छ ।’ त्यसो भनिरहँदा उसको अनुहारमा प्रशस्तै निराशा देखिन्थ्यो । उसको अनुहारको भावबाट नै लाग्दथ्यो वास्तवमा आफैंले पकाएर आफ्नो स्वाद अनुसारको खाना खान नपाएकोमा ऊ अत्यन्त दुःखी छ । ‘तिमी हेर त मेरो भान्साकोठा कस्तो छ ?’ भनेर सोधेपछि मैले ऊ सुतिरहेको कोठाको छेवैमा भएको उसको भान्साकोठाको फोटो खिचेर उसलाई देखाइ दिएँ । हेरेर हाँस्दै, खुशी हुँदै भन्यो– ‘सफा रहेछ, हुन त कसले के पकाएर सफा नहोस् ?’

आफैं पकाएर खान नपाएको असन्तुष्टिका बाबजुद पनि फेरि खुशी हुँदै हँसिलो मुद्रामा उसले भन्यो– ‘मलाई मेरो यो अवस्थाप्रति कुनै गुनासो छैन । जिन्दगीमा मैले धेरै रमाइलो गरेको छु, म धेरै देशहरु घुमिसकेको छु । मैले त्यो बेला जे गरे त्यो सम्झेर ल्याउँदा मलाई अझै पनि आनन्द आउँछ । मैले मेरो विगतमा जे–जति काम गरे त्यसैको सम्झनामा अहिले भइरहेको जिन्दगी पनि रमाइलो नै लाग्छ । पहिला दुःख गरेर कमाएर पैसा जोगाएर घर किनेकाले गर्दा अहिले म यो अवस्थामा आफ्नै घरमा बस्न पाएको छु । हेर त कति भाग्यमानी छु म, यस्तो अवस्थामा वृद्धाश्रम जानु परेको छैन । अहिले म सुतेको यो खाट पनि मेरा लागि सजिलो छ ।

मलाई टीभी हेर्न मन पर्छ, त्यसका लागि म यो खाटलाई तल–माथि बनाउन सक्छु । यो अस्पतालमा प्रयोग हुने खाट मलाई मेरो आफन्त (मेरो श्रीमती पट्टिको भाइ पर्ने)ले किनेर ल्याइदिएको हो । मैले उसलाई खाट किनेको पैसा दिन्छु भनेको तर उसले हाल मेरो आर्थिक अवस्था राम्रो छ दिनुपर्दैन भन्यो । मैले सम्झे अहिले उसलाई पैसाको आवश्यक नभए नदिँदा केही फरक पर्दैन आखिर म मरेपछि मेरो सम्पत्ति उसकै हुनेछ । तिमी नआएको धेरै भएकाले मैले तिमीलाई भन्नै पाएको थिएन । मलाई मेरो गाडी बेचेर पैसा लिन मन लागेन । यत्रो वर्षदेखि मलाई सघाउँदै आएको माइकको गाडी मेरोभन्दा पुरानो भएकाले गर्दा मैले मेरो गाडी उसलाई दिएँ । मेरो मृत्युपछि मसँग भएको सबै सम्पत्ति बेचेपछि आउने रकम मध्येबाट ५० हजार डलर माइकलाई र ३० हजार डलर पौलालाई दिनु भनेको छु । अनि तिमीलाई थाह छ पौलाले मलाई अस्ति पनि फोन गरेकी थिई । पन्ध्र मिनेटजति कुरा गरे अर्को महिनामा मलाई भेट्न आउँछु भनेकी छ’ –भन्दै ऊ मुसुक्क मुस्कुरायो ।

म काम गर्न उसको घरमा गएका बेलामा पौलासँग अँगालोमा बाँधिएर खिचेको उसको फोटो मलाई देखाउँदै उसले नै भनेको थियो– ‘पौला तिम्रो जस्तै काम गर्नको लागि मेरो घरमा आउने गरेकी एक अधबंैसे फिलिपिन्सबाट आएकी आइमाई हो । जतिबेला पौला मेरो घरमा काम गर्न आई, मेरी श्रीमती बितेको एक बर्ष पनि भएको थिएन । श्रीमती बितेको पीडामा नै पौलासँग भेट भएकाले नै होला म पौलाप्रति आकर्षित भएँ । उसले पनि मलाई माया गरी त्यसैले त मेरो जन्मदिनमा केक लिएर आएकी थिई । माइकले पनि भन्छ तिमीहरु दुईजना यस्तो समयमा भेट भयौ जतिबेला तिमीलाई एक आइमाइको मायाको खाँचो थियो । पौला अहिले अर्को शहरमा बस्छे । तर, अर्को सहरमा बसे पनि बेला–बेलामा फोन गरेर मेरो हालखबर सोधिरहन्छे । उसले मेरो सेवा गरेर मसँगै बस्छु पनि भनेकी थिई, तर म अब ह्वीलचेयरमा सिमित छु, म जस्तो मान्छेले एउटी सुन्दर र जवान नारीलाई कतै घुमफिर गराउन सक्दिनँ, उसका सबै इच्छा चाहनाहरुलाई पूरा गर्न सक्दिनँ । यस्तो परिस्थितिमा कसरी मेरो सुविधाको लागि मात्र उनका सारा समय र रहरहरु खर्च गर भन्न सक्थे र ? त्यसैले मैले नै उनलाई उनको जीवन स्वतन्त्र भएर बाँच भन्ने सल्लाह दिएँ ।’

त्यस्तै माइक भनेको उसको छिमेकी हो । ऊ पनि जर्मनबाट नै आएको रहेछ । एउटै देशका मानिसहरु परदेशी भूमिमा भेट भएपछि तिनीहरु आफ्ना आफन्त जस्तै लाग्ने रहेछन् । यो मेरो व्यक्तिगत भोगाइको अनुभव पनि हो । माइकले पनि उसलाई आफन्तको व्यवहार गरेको छ । ऊ ओच्छ्यान पर्नु अगाडि जब ह्वीलचेयरमा बस्थ्यो, त्यतिबेलादेखि नै चार–पाँच महिनामा एकपटक उसको गाडीमा राखेर माइकले उसलाई स्टोर लागेर छोडीदिने र आफ्नो काममा जाने अनि उसले सामान किनिसकेर फोन गरेपछि घरमा ल्याई दिने र सामान राख्न सहयोग गरिदिने गरेको थियो । प्रत्येक दिन समय मिलाएर एकपटक उसलाई भेट्न उसको घरमा आउने र उसलाई आवश्यक परेका सामानहरु दूध, केरा लगायत किनेर ल्याईदिने गरेको माइक अझैसम्म पनि नियमितरुपमा उसको घरमा आउने जाने गरिरहेको छ ।

मलाई लाग्छ भगवानले उसलाई साथ दिएका छन् र त उसले माइक जस्तो मनकारी, सहयोगी छिमेकी पाएको छ जो आफू किड्नीको बिरामी भएकाले डाइलाइसीस गराउन अस्पताल धाइरहनु परे पनि छिमेकीको नाताले उसलाई पनि उत्तिकै हेरचाह गरिरहेको छ । उसको घरमा काम गर्न जाँदा धेरैपटक मेरो पनि माइकसँग भेट भइसकेको छ ।
ऊ सँग कुरा गर्दागर्दै मेरो मन भने हाम्रो जीवनको वास्तविकता गएर टक्क अडिन पुग्यो । जीवन जिउने क्रममा भोलिका दिनमा आइपर्ने कठिनाइहरु कस्ता हुन्छन् कसैलाई थाह हुँदैन । मैले देख्दा उसको जीवन एकदम नै कष्टकर छ । ऊ आफ्नै घरभित्र भएका सुत्ने कोठा, नुहाउने कोठा, भान्साकोठा कतै जान सक्दैन । ऊ एउटा ओछ्यानमा सिमित भएको छ, आफ्नो ओछ्यानबाट बाहिर जान त के यताउता फर्किन समेत सक्दैन र अब यसरी अरु कति दिन बाँच्नुपर्ने हो, त्यो कसैलाई थाह छैन । म जे पनि गर्न सक्छु भन्ने त शरीर स्वस्थ हुँदा र उमेर हुँदा मात्र हो । यसरी एउटै ओछ्यानमा २४ घण्टा सुतेर बिताउनु पर्दा कति गाह्रो भएको होला ? न कोही छन् वरिपरि बसेर फुर्सदले उसको सुख–दुःखका कुरा सुनिदिने, न कोही छन् भोलि उसलाई सम्झेर एकछाक छोडिदिने, तर पनि उसलाई त्यसमा कुनै गुनासो छैन । यस्तो अवस्थामा पनि आज मसँग भेट हुँदा ऊ पहिला जस्तो थियो त्यसैगरी उस्तै हर्षित मुद्रामा सबै कुराहरु पाँच महिनादेखि सुनाउन नपाएका विषयहरु सुनाउनका लागि निरन्तर बोलिरहेको छ । उसले मलाई त श्रोता मात्र बनाइरहेको छ । मलाई पनि थाह थियो, उसलाई धेरै बोल्न मनपर्छ त्यही भएर म उसका कुरा सुन्नलाई तयार भएर आएकी छु । ऊ भने उसका पुराना नयाँ सबै कुरा मलाई सुनाइरहेको थियो । तर, जति सुने पनि नसकिने उसका कुराहरूलाई टुंग्याउँदै दुई घन्टाजति बसेर म घर फर्कें ।

घर आएपछि पनि म उसलाई याद गरिरहेकी छु, उसकै बारेमा सोचिरहेकी छु । आजको ऊ सँगको भेटले मलाई जीवनमा नयाँ कुरा सिक्ने अवसर प्रदान ग¥यो । उसको त्यो अवस्थालाई देखेपछि मभित्र नयाँ प्रेरणा प्राप्त भयो । जीवन रमाइलो छ, उमेर हुँदा अनि शरीर स्वस्थ हुँदा नै आफूलाई मन लागेका कुराहरु गर्दै जानुपर्छ । भोलि त कसले देखेको छ, कसको नियतिमा के छ ? कसले के भोग्नुपर्छ ? त्यसैले जीवनमा सकारात्मक सोचका साथमा सम्झनयोग्य कामहरू गरेर बाँच्नुपर्छ, तिनै सम्झनाले बुढेसकालको एक्लोपनमा पनि खुशी दिइरहने रहेछ । आज उसको अवस्था हेरेर आएपछि म अझै भावुक भएँ । पहिलादेखि नै मलाई अति नरमाइलो लाग्थ्यो जब म उसको घरमा पुग्थेँ । हुन त मैले उसलाई चिनेको धेरै भएको छैन्, तर पनि उमाथि मेरो सहानुभूति छ । उसलाई भेटेदेखि नै मलाई लागेको थियो कि यो मान्छेको घर मेरो घर छेउमा भएको भए म कम्तिमा दिनको एकपटक समय मिलाएर उसलाई अवश्य भेट्थेँ । मैले घरमा पकाएका खानेकुरा ऊ सँग बाँडेर खान्थँे र सँगै बसेर उसका कहिल्यै नसकिने कुराहरु सुनिरहन्थे । ऊ सँग भेट भएको धेरै नभए पनि मलाई उसको कुरा सुन्दा, ऊ सँग कुरा गर्न पाउँदा रमाइलो लाग्छ ।

महानगरपालिकाले निम्न आय भएका ज्येष्ठ नागरिकहरूका लागि प्रदान गर्ने सेवा अन्तर्गत घरभित्रको सामान्य सरसफाईको काम गर्न क्रममा सन् २०१५ मा म उसको घरमा गएकी थिए । यही कामको सिलसिलामा १६ पटकसम्म म उसको घरमा गएँ । पहिलो दोस्रो भेटमा नै उसले मलाई उसको संघर्षपूर्ण जीवनकथाको श्रोता बनाउन भ्याइ सकेको थियो । मलाई पनि काम गर्नुपर्ने ठाउँमा बसेर कथा सुन्न पाउँदा रमाइलो नै भयो । पहिलोपटक मैले उसलाई भेट्दा म अचम्ममा परेकी थिएँ । म बुढाबुढीका घरमा काम गर्न जान थालेकाले बुढाबुढीहरु आफ्नो घरमा एक्लै बस्छ रुचाउने र उनीहरुलाई आवश्यक पर्दा उनीहरुका सन्तानले आएर सघाउने गरेको देखेकी थिएँ । तर, यसरी एक्लो मान्छे घरभित्र ह्वीलचेयरमा, आफन्तविहीन पनि बस्न सक्छ भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको थियो । ऊ आफ्नै घरभित्र एक्लै ह्वीलचेयरमा बसेको भए पनि अत्यन्तै खुशी थियो । मेरो कामको पहिलो दिन उसले मलाई ह्वीलचेयरमै बसेर ‘म एक्लै बस्ने भएकाले मेरो घर सफा नै हुन्छ’ भन्दै घरभित्रका कोठा देखाउने क्रममा कोठामा भएका फोटाहरु पनि देखाउँदै ‘मेरी श्रीमती बितेको १२ वर्ष भयो, म ८४ बर्षको भएँ’ भनेको थियो । म उसको घर जाने भएकोले मलाई उसको दिनचर्या बुझ्न गाह्रो भएन, त्यसमाथि पनि बिस्तारै–बिस्तारै उसले उसका जीवनमा घटेका सबै कुरा सुनाउँदै जान थाल्यो ।

हिटलरको शासनकाल प्रत्यक्ष भोगेको उसले जर्मनमा हिटलरको शासन कस्तो थियो ? हिटलरको विरुद्धमा बोल्नेलाई कसरी हिटलरका सेनाले घरबाट निकालेर गायव गरिदिन्थे ? प्रत्येक साँझ जनताले आफ्नो घरमा हिटलरको तस्वीर अगाडि दियो बालेको छ कि छैन भनेर हेर्न कसरी हिटलरका सेना सञ्चालित थिए ? यदि कसैले दियो बालेन भने सेनाले आएर उसको घरमा के गर्थे ? हिटलरको शासनकालमा जर्मनका सर्वसाधारण जनता कति त्रसित र आतंकित थिए ? शहरमा बम–बारुदको कोलाहालका साथमा मृत्युको भयमा प्रत्येक रातदिन बिताउनु पर्दा जीवन कति कष्टकर थियो ? त्यस्तो विषम परिस्थितिमा उसको बाल्यकाल कसरी बित्यो र ऊ कति पीडित थियो ? बाल्यकालका प्रत्येक दिन प्रत्यक्षरुपमा हिटलर शासनको ज्यादति आफ्नै आँखा अगाडि हेरेर हुर्किएको ऊ १५ वर्षको उमेरमा स्वतन्त्र जीवनयापनको सुन्दर सपना कै खोजीको क्रममा आफ्नो परिवार, आफन्त, इष्टमित्र सबै छोडेर बाटोमा अनेकौं समस्याको सामना गर्दै एक्लै कसरी क्यानाडा आइपुग्यो ?

पढ्नुपर्ने समयमा पढाइमा भन्दा प्रकृतिमा बढी रुची भएकाले अपुरो पढाइका कारण क्यानाडा आइसकेपछि पनि कसरी संघर्ष गर्दै काठको काम गर्ने ठाउँमा सामान्य कामदारका रुपमा प्रवेश ग¥यो ?’ आफ्नो कामप्रतिको मोह, लगाव र निरन्तर मेहनतले कसरी चाँडै नै काममा निपुण बन्यो ? ४० वर्षको हुँदा जर्मनबाट नै आएकी उमेरले आफूभन्दा १५ वर्ष जेठी महिलासँग कसरी उसको भेट भयो अनि कसरी घर किनेर उनीहरुसँगै बस्न थाले ? बिस्तारै समयसँगै सबै कुरा राम्रो हुँदै गर्दा कसरी उसकी श्रीमती बिरामी परिन् ? कसरी उसले रोगी श्रीमतीको घरमा नै राखेर हेरचाह ग¥यो ? कस्तो अवस्थामा उनको मृत्यु भयो ? श्रीमतीको मृत्युपछि कसरी उसमा शारीरिक दुर्बलता देखा प¥यो ? कसरी बिस्तारै उसको खुट्टा सुनिँदै जान थाले अनि ऊ ह्वीलचेयरमा सीमित हुन पुग्यो ? अत्यन्त व्यस्त जीवन कसरी एउटा कोठामा मात्र सीमित हुन पुग्यो ? आदि–इत्यादि उसको जीवनसँग गाँसिएर रहेका सबै कथाहरु सबिस्तार सुनाइसकेको थियो ।

सिङ्गै घरमा एक्लो मान्छे व्हीलचेयरमा बसेर आवश्यक हुँदा ट्वाइलेट जाने, आउने, ह्वीलचेयरमा नै बसेर आफूलाई मन परेको खानेकुरा पकाउने अनि बाँकी भएको समय उसको ह्वीलचेयर छेउमा राखेर लिभिङ रुममा भएको सोफामा बसेर टिभी हेरिरहेको हुन्थ्यो । रातिको १२–१ बजेसम्म टिभी हेरेर बिताउँछु त्यसैले बिहान ढिलो उठ्छु भन्थ्यो । म दिउँसो १२ बजे जाँदा बिहानको कफी पिउँदै हुन्थ्यो । मैले मेरो काम सकेपछि ३ बजेतिर उसको दिउँसोको खाना खाने बेला हुन्थ्यो । ह्वीलचेयरमा नै बसेर खुब मेहनत गरेर मसलेदार मासु पकाउँथ्यो । उसले पकाएको मसलेदार मासु मलाई चाख्न दिन नपाएकोमा दुःखी हुन्थ्यो । किनकि म शाकाहारी भएको कुरा मैले उसलाई भनेकी थिएँ । कहिलेकाहीँ बाहिरबाट खानेकुरामा मगाउँथ्यो त्यसमा मैले खान मिल्ने कुरा पनि मगाएको हुन्थ्यो र आज हामी सँगै बसेर खाउँ भन्थ्यो यसरी कहिलेकाहीँ हामी सँगै बसेर कुरा गर्दै खाने गथ्र्यौं ।

दुई हप्तामा एकपटक तीन घण्टाको लागि म उसको घरमा जानुपर्ने भए पनि कहिल्यै नसकिने उसका कुरा सुनेर तीन घण्टाभन्दा बढी पनि बस्थेँ । तर, यसैबीचमा एकदिन मैले यो काम छोडेको र अर्को हप्तादेखि उसको घरमा नआउने जानकारी गराएँ । मेरो कुरा सुनेर दुःखी हुँदै उसले पक्कै पनि यो भन्दा गतिलो काम पाएर यो काम छोड्न लागेको होला । तिमीलाई राम्रो होस् शुभकामना छ । कहिलेकाहीँ समय मिलाएर, साथी सम्झेर मलाई भेट्न आउँदै गर्नु । मलाई तिमीसँग गफ गर्न मन पर्छ । म तिमीलाई याद गरिरहन्छु भन्दै सोही दिन उसले मलाई सानो उपहार पनि दियो । मैले मेरो कामभन्दा अगाडि–पछाडि उनीहरुलाई भेट्न जान नमिल्ने, आफूले पनि उनीहरूलाई केही दिन नमिल्ने साथै उनीहरुले दिएको पनि आफूले लिन नमिल्ने नियम थाह हुँदाहुँदै पनि उसले दिएको उपहार ग्रहण गरेँ ।

केही समयपछि फोन मार्फत उसको हालखबर बुझे र उसको आग्रहमा सपरिवार उसलाई भेट्न गएँ । उसले मेरो परिवार देखेर खुशी हुँदै भन्यो– ‘तिम्रो परिवारलाई भेटेर म आज अति नै खुशी भएको छु । तिम्रा यी साना छोराहरुलाई अरूको सेवा गर्नुपर्छ भनेर सिकाउनु, मेरा छोराछोरी छैनन् मेरा छोराछोरी भएका भए म उनीहरुलाई माइक जस्तै बन्नु भन्ने थिएँ ।’ त्यसपछि पनि समय–समयमा फोन गरेर हालखबर बुझ्ने अनि उनलाई भेट्न जाने गर्दै आएकी मलाई भने उसको शारीरिक अवस्था, अत्यन्त कष्टकर रुपमा बल्ल–बल्ल ह्वीलचेयरबाट सोफामा बस्दै गरेको देखेकी अनि आफन्तविहीन एक्लोपन सम्झेर र उसको विगतलाई सुनेर माया लागेर आउँछ ।

७२ वर्षको उमेरमा श्रीमती बितेपछि एक्लो भएको ऊ १० वर्षदेखि आफ्नो घरमा एक्लै ह्वीलचेयरमा सीमित भएर रहेको थियो । तर, अहिलेको उसको अवस्था त्यो भन्दा नाजुक छ । कामको सिलसिलामा जो उसको घरमा आइपुग्छ उनीहरुसँग मात्रै उसको प्रत्यक्ष कुराकानी हुन्छ । छोराछोरी आफन्त कोही छैनन्, तर यति हुँदाहुँदै पनि एक्लो मान्छे ओछ्यानमा लमतन्न परेर खुशीसँग बाँचेको छ । बिहान ७ बजे दिउँसो ३ बजे र राति ११ बजे गरेर दिनमा तीनपटक उसलाई सफा गरिदिन आउने मान्छेहरुसँग बोल्न पाउँदा पनि ऊ अति नै खुशी छ । आखिर जीवनमा आत्मसन्तुष्टिभन्दा बाहिर मानिसलाई के नै चाहिने रहेछ र खुशी भएर बाँच्न ? आफन्त, छोराछोरी, इष्टमित्र कसैसँग केही आशा नभएपछि एक्लै बाँच्न सजिलै हुने रहेछ । उसका पनि छोराछोरी, आफन्त भइदिएका भए पक्कै पनि केही गुनासाहरु रहन्थे होला ? तर, एक्लो बाँचेको मानिसलाई कसैसँग केही आशा नभएपछि निराश हुनुपर्ने कुनै कारण पनि नहुनाले होला सायद यस्तो अवस्थामा पनि ऊ खुसी भएर दीर्घायु बाँच्न सकेको भन्ने निचोडमा आज म पुगेकी छु ।

हाल : क्यालगेरी, क्यानाडा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here