व्यंग्यनारान पाँडे
आज निकै ओइलाएको जस्तो हावभावमा लोते–लोते भएर आएका थिए हरिराम । उनलाई केही वर्ष अघि उनका मूल गुरु गौंथलीको बाऊले मकहाँ लिएर आएदेखि मैले उनलाई चिनेको हूँ र त्यसयता उनलाई मैले कहिल्यै आज जस्तो लोते अवस्थामा देखेको थिइन । उनी आउँदा आउँदै उनको यस्तो अवस्था देखेर मैले मनमनै कल्पेको थिएँ— ‘यी सँधै आँगनको गेटबाटै हुकुमी विषय फर्माउने मान्छे, आज यिनलाई के परेछ— के भएछ त ?’
….उनी केही नबोली सरासर म बसिरहेको बरण्डामा आएका थिए र मेरै अघिल्तिरको कुर्सी केही पछाडि तानेर बसेका थिए । र, निकै मिनटपछि मात्र उनले घुटुक्क आवाज आउने गरी सुख्खा घाँटी बजाएर भनेका थिए— “यो पढ्के कोर्नाले त गर्नु गर्यो हओ पाँडेजी ! फेरि अैलेका मान्छेले कुरो बुजुन् त मर्रिजाउँ । निउँ मात्तै खोज्छन् तेस्सिमालानेहरू, निउँ मात्तै खोज्छन् !”
मैले निजाँगर स्वरले सोधें— “के भयो र ?”
उनले अलिक गलो खोल्दै भने— “देशाँ कत्रा–कत्रा काम भइराख्या छन्, उँधेरका घर–कराँसाका बाटा–सटुव बनेन भन्र हामेरलाई कम्ता गाली गर्छन् भन्छौ तपइँ ? आमइँइँइँ…..!”
मैले केही नबोली उनीतिर हेरें ।
उनी भन्दै गए— “हामेरको एमालेको सर्खारी पाटीका अदच्छे सम्मान्नीए पर्दानमन्त्री केप्पी ओली मउसुपबड ३ आज्जैको तिथि जुरा’र आजपछिको सात मैनामा मात्तै त्याडी हुने र रैती–दुन्याले टिकस काटेर पस्न एल्लाउ हुने काटमाडुँको धररा आज्जै उद्गाटन गरिबक्सिनु भयो । अरबउँ–खर्रबउँ रुप्पेको सो–उक्त धररा बनाउन ख्यालठट्टा हो त ? धररा बनाउन छोडेर, चाइनेकेरे मेलाम्ची खोलाको सङ्लो पानी काटमाडुँ मानगरमा बस्ने साउजी–बाऊजीका धारामा खललल आउने बनाउन छोडेर, पोख्रा–भरतपुर जइसा धनी–धनाड्डे बस्ने भामट इन्पोरट्यान ठाममा सबाभमन–सबागिर्रे बनाउन छोडेर, उइले जनजुद्धका बेला पर्चन्नहर्ले एक बसगाडीभरिका अओल–टोट्टल मान्छे एम्भुसमा थिलिपित्तिलि पारेर सोर्ग पठाको चितौनको माडीमा ठूलो मन्दिर बनाइदिन छोडेर, तेस मन्दिरमा रामलछुमन, सीता र हनुमानजीका मूर्ति–पर्तिमा राख्ने काम छोडेर काँ यो कोर्नाको मामारीका ट्याममा पुङ न पुछारका हबिदले जन्ताका लागि बाटा–सडक बनाइहिन्नु त ? बाऊ–बाजेका पालादेखुन् हिलाम्मे–धुलाम्मे बाटाँ भ्यागुता उफ्रे झ्याइँ खाल्डाखुल्डीमा फुत्त–फुत्त उफ्रिँदै हिन्ने समसकीर्तिक प्रम्प्रा मानिराख्ता के चइँ बिग्रिन्छ त ? तपइँ नै भन त ? हन लाखउँ–करोरउँका कार–गाडी किनेका हामेरका समाचसेवक गर्ने ठूलाठालाहर्लाई, दाम्मी–दाम्मी मट्टरसाइकिल नभई टट्टी–पेसाप गर्न जान गारो मान्ने हामेरका कम्रेटहर्लाई, मट्टरसाइकिल बिना इस्कुल–कलेच जाँदा आफ्नालाई लाच–शर्म भको मसुस गर्ने ठूलाठाला क्याँटवाला कम्रेटका मोडन छोर्छोरी र दादाभत्ता नामक रानीतिक ‘खल्ती–तिरो’ उठा’र फास फुट हुटेल दारु पाइने कान्छी रेसुरेनमा टिकट–ठिकठाक ठानस गर्दै मातेसि एउडा मट्टरसाइकिलमा चा–चारजाना चढेर घुइँक्याउने बाटो–सडक पो चिल्लो पीच्रोड चाइँछ त । पइदल हिन्ने खालीखुट्टे गरीप–गुर्बालाई के खान चाइयो राम्रो बाटो र सडक ? आफ्नु प्रम्प्रा र समसकिर्ती अन्सार हिन्न पो पर्छ त तुइँ–तुइँ कुर्कुच्चा फुटाउँदै । गरीप जातिको समसकिर्तिक प्रम्प्रा के खान बिर्सिनु परो कोनि । मत छअअअक्क पो पर्छु यार ।”
मैले भनें— “यस्ता कुरा बोल्दै हिंड्दा तपाईंका गाला र पिँडुला सुन्याइदेलान् नि बिरक्तिएका सर्बसाधारणले ।”
उनी एकछिन् अल्मलिए र भने— “यत्राको टिकटिक ?”
मैले सोधें— “के भन्या त्यो ? के भन्न खोज्या ?”
उनले फ्याट्टै भने— “साँच्चो भन्या नि । साँच्चो कुरो तीतो हुन्छ हए नान्यारु भन्थे मेरा बा–आमैले । तपइँलाई पनि तीतो लागो कि क्या हो ?….बजारमा सप्पै जिनिस मुगो भो भन्नेले नकिन्नु नि त । बेपारी–बिचउलिया, होल्सेल मालिक सप्पै हामेरका भोटर हुन्, तिन्लाई बिच्काउने कामै नट् नि हओ कामै नट्, तेस्सिमा साला ! तपइँ कम्रेट होइनउ र मेरो पर्वचन बुद्ने नन्सेन्स तपइँमा के होस् । आज्कल हामेरका पर्वचनबड कुरा बुद्न कन्चन नन्सेन्स चाइँछ क्या पाँडेजी, पिउर नन्सेन्स चाइँछ क्या ।”
म थाम्दाथाम्दै अलिकति हाँसे र भने— “तपाईंको पैतृक परम्परा र संस्कृति चाहिँ के हो नि हरिराम बाजे ? त्यो पनि तपाईंले भन्या झैं नन्सेन्स नै त होइन ?”
उनले फुरुक्क हुँदै भने— “मेरो पइत्रिक प्रम्प्र र समसकिर्ती भन्या त अचम्मको नन्सेन्स प्रम्प्र र समसकिर्ती हो । मेरो खान्दान नै तेस्तो पो हो त । कसैलाई ग्र–दशा बिग्रेर सारो–गारो–अप्ठारो परो भने म तेस्काँ बोलाइन्छु र मेरा मुखाड मन्त्र फुट्कारेसि भग्वान–भग्वान्नी त्याँ आउँछन् र तो सारो–गारो–अप्ठारोको म सोर ननिसकाइकन रुद्रराच्छेको मालामा उनिएका गुइँठा आँखा चिम्लेर अम्लाले गन्छु । तेसो गर्दा म ती मैले पुकारेका भग्वान–भग्वान्नीलाई देख्छु— तिन्ले मलाई लाल्सलाम भनेर अवादन गर्छन् । तेसो गर्दा कैले–काइँ कोरिआन किरिस्थानी माता हकजाहान मुन पनि गुट मर्निङ भन्दै आउँछिन् । म जातपातको भेदभाउ नराख्ने कमिनिस भकाले जस्का भग्वान–भग्वान्नी पनि उत्तिकै मान्छु । ती क्या त अैले हिन्दू धर्म चम्केर नेपालीदेखुन इन्ड्यानसम्मन्का घट–धटमा आइराख्या हुँदा हामेरका अदच्छे एवङ पर्दानमन्त्री केप्पी ओली मउसुप पनि आउँदो एलेसनको भोटमा जित्ने ट्याउटिस खेल्दै हिन्दू भग्वान–भग्वान्नीका भत्तितिर लागिबक्सिनु भा छैन त ? पश्पति मन्दिरमा कुइँटलभन्दा धेरै सुनका गर्गना चढाउनु अनि चितौनमा मन्दिर–कन्टक्सन गरेर रामलच्छुमन सीता हनुमानका मूर्ति, ब्रामन भोज–भतेर क्याति–क्याति !….ए हओ मेरो पैसा राख्ने बेग धारामा फ्यास्स राखिरथें, बिर्सेछु । हराउँछ होला । म गएँ हए । छोरी मनकुमारी पनि हिजोदेखुन् घर आकी छैन । तेस्को पोर्पेसिन नै तेस्तै छ । हत्तेरिका…..”
उनी फत्फताउँदै बाटो लागे । तर, उनी निकै पर पुगेपछि पो मेरा आन्द्रा बटारिने गरी हाँस उठ्यो र पेट मिचीमिची हाँसे म ।…..