डम्बरु बल्लभको ‘बिद्रोही आवाज’

११ बैशाख २०७८, शनिबार मा प्रकाशित

कृति समीक्षा

भुवन तामाङ

नेपाली काव्य भण्डारमा अर्को सुन्दर काव्य कृति थपिएको छ । त्यो कृति हो– ‘बिद्रोही आवाज कविता संग्रह’ । रुद्रनाथ उपाध्याय पौडेल, रुक्मादेवी घिमिरे पौडेलका सुपुत्र मेचीनगर–९ धुलाबारी, झापा निवासी ‘डम्बरु बल्लभ पौडेल’ले सिर्जना गरेका कविता संग्रह भर्खरै प्रकाशित भएको छ ।

पाठकवर्गले कतै भन्न चाहेका तर भन्न नसकेका मनभित्रको विद्रोह यसभित्र हुन सक्छन् । कवि पौडेलले साहित्य अर्थात् कविताको माध्यमबाट समाज र देशबारे थुप्रै कुरा अभिव्यक्त गर्ने जमर्को गरेका छन् । विशेषगरी शासकवर्गलाई बिद्रोही भावयुक्त काव्यका माध्यमबाट गहन सन्देश दिएका छन् ।

बिद्रोह, मेरो देश म जस्तै छ, अब त दुनियाँ जागे हुन्थ्यो, मेरी कविता, जीवन पूmल, आपैmंलाई शुभकामना, गर युद्ध अर्जुन झैं, छोरीलाई सम्झाउँदै आमा, मेरो नेता मेरो भगवान, उठाउनु छ, हावा, विदेशी छोराको पत्र, आवाज, मसानघाटबाट, श्रद्धाञ्जलि, जनताको सरकार, ढोंगी धर्म, पूmलको मृत्यु, होशपूर्वक बाँच, मेरो आँशु सुक्छ, मेरी माया, ईश्वरको खोजी, तिमी काव्य, म तिमीलाई के भनूँ ?, ढोँगी बाबाहरु त्यागौं, गौ दान्, दश प्रतिशत माया, संध्या, सृष्टि चक्र, मृत्युबोध, आसुरी प्रेम, जीवन यात्रा, मेरो राजनीति, आत्मिक प्रेम, सुन्दरी प्रति, काव्य सुन्दरी, नदी बन्दना, नयाँ नेपालको कथा, मैले नचिनेको मान्छे, के मृत्यु भएकै हो त ?, वृक्ष, म हिमाल चढ्दिन, बालापन (बाल कविता), मेरो देश (बाल कविता) । यसरी यस कृतिभित्र विभिन्न शीर्षकका चौंतीस कविताहरु समेटिएका छन् ।

कविता संग्रहको नाम नै बिद्रोही आवाज दिइएको छ । यी चौंतीस कविताहरु मध्ये कतिले चाहिँ बिद्रोही आवाज बुलन्द पारेका छन् त ? संग्रहको पहिलो कविताको अन्तिम अंश पढौं– ‘अब मेरो आन्दोलन कसो न जाग्ला, यतिले माने भने आन्दोलनको शक्ति जागे भने, जनता कराउँदै गर्छन् पिना सुक्दै गर्छ, म नेता देश बनाउने, आन्दोलन गर्न आँटेको छु, माला खादाहरु ठीक पार्दै गर्नु होला, म त गरेरै देखाउँछु, मेरो देश मै बनउँछु ।’ यस कवितामा बिद्रोही आवाज घन्किएको छ । दोस्रो कविताको पनि अन्तिम लाइनहरु पढौं, ‘नेता, राजाको ढाँट्ने काम हो ढाँट्ने गर्छ, हामी आशामा बाँचेका जनताले पत्याउनै पर्छ, मेरा पुर्खाले आर्जेको राज्ये, मेरो देश, म जस्तै छ, मलाई त यही देश मन पर्छ ।’

सातौं कविताका कुनै लाइनहरु यस्ता छन्– ‘उठ, जाग, हेर, पढ असुरका कथाहरु, कोही राम र कृष्ण आउँदैन अहिले, तिमी नै हौ राम तिमी नै हौ कृष्ण, उचाल गाण्डिव र सुदर्शन चक्र, बटुल साहस र सौर्य शरीरमा, गर युद्ध अर्जुन झैं आफ्ना बिर्सेर ।’ ‘मेरो नेता मेरो भगवान’ शीर्षकको कविताका शुरुका चार लाइन यसप्रकार छन्– ‘ए मेरो नेता ! ए मेरो भगवना ! तिम्रो आशमा बाँचेर, हामी मर्नुको मजै बेग्लै ।’

‘देशमा कंसहरु उदाएको बेला, गणराज्यका राजाहरु सल्बलाएको बेला, विदुर झैं म, तीर्थ गर्न गए नि हुन्थ्यो, मौन ब्रत बसी, अनुहार छोपी, सुते नि हुन्थ्यो, तर त्यस्तो गर्न सकिरहेको छैन, किनकि, उठाउनु छ, सुतेका जनहरु, निराशामा मरेका मनहरु ।’ यी लाइनहरु हुन् ‘उठाउनु छ’ कविताका । तेह्रौँ कविताका अन्तिम लाइनहरु, ‘नथुन मनका आवाज, बम भएर फुटन् सक्छ, नरोक मनका स्पन्दन्, देश नै टुट्न सक्छ ।’ कुनै कविताका केही लाइन पढौं, ‘आहा !

मेरो सरकार, आहा मेरो प्रभु, तपाईंको योजना र कार्यक्रमले मेरो जीवन धन्य भयो, तर मेरो बालबच्चा पो कसरी बाँच्लान्, उनीहरु मेरो सरकारको कुरा बुझ्दैनन्, सायद उनीहरु मुर्ख छन्, यसैले उनीहरु आज भोलि नै मर्न सक्छन्, तर म त बाँच्छु सरकार, आशामा बाँच्न बानी परेको छु ।’ ‘मेरो राजनीति’ कविताको यी चार लाइन नै पर्याप्त छ नेपालको राजनीति बुझ्न, ‘युद्ध र आन्दोलनबाट जन्मेर, सधैं सम्झौतामा रमाउने मेरो राजनीति, निर्लज्ज छ, बेइमान छ ।’ ‘नयाँ नेपालको कथा’ शीर्षकको अन्तिम दुई हरफ पढौं, ‘सायद नयाँ राजा फेरिएछन् होला, त्यसैले नयाँ नेपाल भएछ ।’

बाल कविता अर्थात् कृतिभित्रको अन्तिम कविता ‘मेरो देश’ । सरल भाषामा लेखिएको यो बाल कविता निकै मन छुने छ । बालबालिकामा यस कविताले निकै गहन सन्देश प्रवाह गर्दछ । कृतिभित्रका अरु कविताहरु विविध समसामयीक विषयमा केन्द्रित छन् । कतिपय कविताहरुले जीवनजगत, कतिपय कविताहरुले माया पिरतीका कुरा, कतिपय कविताहरुले देशका सम्पदा, प्रकृति त कतिपय कविताहरुले धर्म, संस्कृति र नेपालीपनका मर्म बोकेका छन् । छोटा–छोटा सरल भाषामा सिर्जना गरिएका कविताहरुले पाठकवर्गमा एक नवीन चेतना, जोश जाँगर भर्दछन् । साथसाथै देशका सञ्चालक हुँ भनेर दाबी ठोक्नेहरुलाई कवि पौडेलका कविताहरुले गतिलै गरी लबटा ठोकेका छन् । उनको यस कविता कृति अवश्य पढौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here